काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले आक्रोश पोखेको छ ।
दाहालकी स्वकिय सचिव गंगा दाहालले फेशबुकमार्फत प्रतिगमन पूरै परास्त नहुँदासम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिँदै लेखेकी छिन्ः
गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै बनेको हो । सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई–दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे । तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरु जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौ ।
त्यसैले अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरु सीट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाइ लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन् । तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो ।
केही असहमति हुन सक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने हामी सबैको चाहना हो । यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतंत्र , संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ ।
आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेसँग सिट बाँफफाटबारे बार्गेनिङ गरिरहेको जसपा आजको गठबन्धनको बैठकमा अनुपस्थित छ ।