काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गरेकै कारण एमालेमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको बताए । अध्यक्ष ओलीले भने,‘एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन्छ, किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु सत्ता कब्जा गर्न सफल छन् अहिलेपनि ।’
उनले एमाले सबै हिसाबले सक्षम हुँदाहुँदै पनि हार्नुका पछाडि जनताको चेतनास्तरसँग जोडिएको बताए । उनले भने,‘ जो देश बनाउँछ, त्यस्तै पार्टी चुनावमा हार्छ भने जनताको चेतनाको स्तर कहाँ छ भन्ने थाहा पाउनुपर्यो ? एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार गर्न खोजिन्छ, किनभने रूपान्तरणविरोधी शक्तिहरू, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल छन् अहिलेपनि, जनता अल्मल्याउन चटके कुरा गर्न र जनतलाई भ्रममा पार्न सफल छन् अहिले पनि, सचेत हुन नदिन जनताको चेतनालाई रोक्न सफल छन् अहिलेपनि ।’