March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

एमाले सुदुरपश्चिममा सहमतिका आधारमा नेतृत्व चयनको लागि छलफल हुँदै

1.2K

धनगढी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास थालेका छन् ।

ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् । धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।

पार्टी अध्यक्ष ओलीले काठमाडौं फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षी र नेताहरुलाई राखेर सहमति गरेर अघि बढ्न निर्देशन दिएका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।

Advertisement

अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले आकांक्षा राखेका छन् । तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।

बन्द सत्र आज बिहान ८ बजेदेखि सुरु गर्ने तय गरिएको थियो । तर, नेताहरू सहमतिको प्रयासमा लागेपछि सुरु हुने अनिश्चित भएको छ ।