काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए। ‘धेरैपटक अरुलाई समर्थन गरियो अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठेको छ’, बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले भने, ‘यस विषयमा एमाले, काँग्रेस र माओवादीसँग कुराकानी हुन्छ।’
बैठकमा संसदीय दलको विधान निर्माणका विषयमा छलफल भएको छ। संसदीय दलको नेता चयन गर्ने भनिएपनि विधान निर्माण भइनसकेकोले नेता चयन नभएको बताइएको छ। ‘विधान स्वीकृत भएपछि मात्रै दलको नेता चयन हुन्छ’ अध्यक्ष उपेन्द्र यादवले भने।
प्रतिगमनकारी, लोकतन्त्र र संघीयता विरोधी शक्तिसँग कुनै किसिमको सहयात्रा हुन नसक्ने भन्दै उनले ओली कदमविरुद्ध सडक संघर्षमा उत्रिएकाहरु एकैठाउँमा आउनसक्ने बताए।