काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको हो। दलकाे बैठक अघि जसपाका शीर्ष नेताहरूले छुट्टै छलफल गरेका थिए। शीर्ष नेताहरूको छलफल सकिएपछि संसदीय दलकाे सुरु भएको हो।
बैठकमा बिहीबार एमालेका अध्यक्ष ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन्। बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।
पछिल्लो रानजीतिक घटनाक्रमसँगै सत्ताको प्रमुख निर्णायक शक्ति बन्न सक्ने जसपामा पछिल्लो समय सत्तामा जाने या नजाने विषयमा बहस सुरु भएको छ।
जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले सत्ताको खेलमा लाग्न नहुने बताइरहँदा पार्टीको एक समूह भने सत्ता सहकार्यको छलफलमा व्यस्त छ। आजको बैठकमा सत्ता समीकरणबारे विशेष छलफल हुने जसपाका एक नेताले बताए।
गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी बनाइएको जसपामा हालसम्म संसदीय दलको नेता चयन भएको छैन।