काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् ।
यसअघि जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै रिक्त रहेको बारा २ बाट अध्यक्ष यादव चुनावी मैदानमा उत्रिएका हुन् ।
अध्यक्ष यादवले सोमबार दिउँसो १ बजे आउँदो उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
यादवको मनोनयनका लागि जसपाले पार्टी नेता कार्यकर्तासहित समर्थकहरुलाई बारामा गरेको थियो । सो क्रममा सयौं जसपा कार्यकर्ताहरुले नाराजुलुस गरेका थिए ।
अध्यक्ष यादवको मनोनयनसँगै उनको जित सुनिश्चित रहेको जसपा निकट नेताहरुले दावी गरेका छन् ।
बारा क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका यादवले गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि आफूलाई मत आउने विश्वस्त रहेको बताए । उनलाई संघीय सरकारमा रहेको सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एस, लोसपा र जनमोर्चाको समर्थन रहेको छ ।
लोसपाबाट उम्मेद्वारी दिने चर्चा रहे पनि सो पार्टीका नेता राजेन्द्र महतोले सत्ता गठबन्धनको निर्णय र आफ्नो पार्टीको निर्णय अनुसार जसपा अध्यक्ष यादवलाई समर्थन गरेको बताइसकेका छन् ।
यादवलाई संघीय संसद्मा राष्ट्रिय राजनीतिको आवश्यकताकै कारण बारा २ बाट निर्वाचित गराएर लैजाने सत्ता गठबन्धनको तयारीपछि संघीयता, गणतन्त्र र धर्म निपेक्षता विरोधीहरु तिल्मिलाएको आरोप जसपाको छ ।
यादवविरुद्ध अनर्गल प्रचार गर्ने सिके राउत र उनले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्तामा राजनीतिक संस्कारको कमी रहेको जसपाको निष्कर्ष रहेको छ ।