काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिइ तटस्थ बस्ने तयारीमा लागेका छन्।
जसपामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई पक्ष प्रभावशाली हुँदै गएपछि महन्थ-राजेन्द्र पक्ष यस्तो तयारीमा लागेको हो।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपनि महन्थ–राजेन्द्र पक्षको पहलले मात्रै उनको सरकार नजोगिने भएपछि यो पक्ष तटस्थ रहने रणनीतिमा जुटेको हो।
‘महन्थ, राजेन्द्रजीहरूले ओलीलाई विश्वासको मत दिन निकै प्रयास गर्नुभयो तर, उहाँहरूको पक्षमा सांसद संख्या १३ बाट १४ पुग्न सकेन। जसपाका जति जना सांसदले समर्थन गर्छन् त्यति नै संख्यामा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले फ्लोर क्रस वा राजीनामा दिने धम्की दिनुभयो’, जसपा नेता नवराज सुवेदीले भने, ‘जसपाबाट मात्रै ओली सरकार नजोगिने भएपछि उहाँहरू तटस्थ बस्ने तयारी गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएका छौं।’
सुवेदी जसपामा बाबुराम-उपेन्द्र पक्षका नेता हुन्। ओली सरकारको पक्षमा महन्थ-राजेन्द्र पक्ष भए पनि उनीहरूको पहलले मात्रै सरकार नजोगिने भएपछि तटस्थ बस्ने रणनीति अख्तियार गर्न थालेका हुन्। यद्यपि जसपाले आधिकारिक रूपमा कुनै निर्णय गरिसकेको छैन।