April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

जनसम्पर्क समिति यूकेको निर्वाचन तालिका सार्वजनिक; महेश दाहाल सभापतिमा उठ्ने

4.6K

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को पाँचौं अधिवेशन नजिकिंदै जाँदा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बेलायतस्थिति नेपाली कांग्रेसका एक पुराना नेता डा. सम्पूर्णानन्द ढुंगाना प्रमुख संयोजक रहेको एनपीसीसी यूकेको निर्वाचन समितिले गत नोभेम्बर २३ का दिन निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।

“निर्वाचन कार्यतालिकासंगै हामीले उम्मेदवारी फारमका बिद्युतीय पानाहरु पनि एनपीसीसी यूकेसंग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न सञ्जालहरु मार्फत आजबाट बितरण सुरु गरेका छौं र यसैलाई उम्मेदवारीको आब्हानको रुपमा बुझ्न हामीले सम्भावित सबै उम्मेदवारहरुलाई अनुरोध गरेका छौं”, निर्वाचन समितिका सदस्य सचिव खुशी लिम्बुले सञ्चार माध्यमलाई बताए ।

निर्वाचन सम्बन्धी प्रकाशित सूचना अनुसार एनपीसीसी यूकेको आगामी कार्यसमिति वर्तमानको जस्तो जम्बो नभएर केही सानो हुने भएको छ । जस अनुसार सभापति पदमा १, बरिष्ठ उपसभापतिमा १, उपसभापतिमा ४, महामन्त्री २, सहमहामन्त्री (खुला र आरक्षण सहित) ७ र १२ जना कार्यकारी सदस्यहरु गरी जम्मा २५ जनाको कार्यसमिति बन्ने भएको छ ।

Advertisement

निर्वाचन पश्चात सभापतिले एक उपसभापति, एक महामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता मनोनित गर्ने कुरा एनपीसीसी यूकेका बिधान समितिका संयोजक शिवजी श्रेष्ठले बताए ।

एनपीसीसी यूकेको यस पटक निर्वाचनका लागि सभापति पदका लागि उम्मेदवारी शुल्क ७५०, बरिष्ठ उपसभापतिका लागि ६०० र उपसभापति र महामन्त्री पदका लागि ५०० पाउण्ड स्टर्लिङ तोकिएको छ । त्यस्तै, सहमहामन्त्री र कार्यकारी सदस्यका लागि क्रमशः ३०० र १०० पाउण्ड स्टलिङ तोकिएको छ ।

निर्वाचन आगामी शनिबार नोभेम्बर २७ तारिख लण्डनको ह्यारोस्थित गोल्डेनसिप रेस्टुँरामा हुँदैछ ।

नेपालमा आफ्नो मूल पार्टी नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशन पटक पटक स्थगित गरिरहन पर्दा जनसम्पर्क समिति बेलायतको पनि अधिवेशन मिति सार्न परेको थियो ।

महेश दाहाल सभापतिमा उठ्ने

यसैबीच नेपाली जनसम्पर्क समिति यूकेका उपसभापति महेश कुमार दाहालले पनि आगामी निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन् । समितिको स्थापना कालदेखि नै बिधान निर्माणदेखि बिभिन्न जिम्मेवारी सम्हाल्दै आएका दाहाल बेलायतका समकालीन कांग्रसी नेताहरुमा सबैभन्दा बरिस्ठ मानिन्छन् । लण्डन निवासी, पेशाले कानून व्यवसायी महेश दाहाल नेपालमा २०४६ सालको जनआन्दोलनबाट कांग्रेसको राजनीतिमा होमिएका हुन् ।

“स्थापना कालदेखि आजसम्म आइपुग्दा मैले पटक पटक विधान समितिमा बसेर काम गरेको छु, निकै पटक चुनाव गराएको छु, हालैमा आएर कार्यवाहक सभापतिको जिम्मेवारी पनि अर्थपूर्ण रुपमा वहन गरेको छु, म सभापति पदमा मेरो दावेदारी प्राकृतिक हो”, २०४६ सालको क्रान्तिमा जेल परेका तत्कालीन नेबि संघका नेता महेश कुमार दाहालले नेपाल मामिलालाई बताए ।