April 26, 2025, Saturday
२०८२ बैशाख १३
4:33:55 am

तुम्बापो समाजद्धारा चलचित्र ‘अञ्जिला’ टोलीलाई सम्मान

1.1K

काठमाडौं । तुम्बापो समाज सेवा संघ उपत्यका शाखाले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान, गोलकीपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निमार्ण टिमलाई सम्मान गरेको छ । समाजले शुक्रबार ललितपुरस्थित लाबिम मलको क्युएफएक्स हलमा पुगेर सम्मान गरेको हो ।

फुटबलर तुम्बापो आफैले अभिनय गरेको ‘अञ्जिला’ पाँचौं हप्तामा सफलतापूर्वक प्रदर्शन भइरहेको छ । यस अवसरमा तुम्बापो समाजले सम्मान ब्यानरसहित निर्देशक मिलन चाम्स्, निर्माता प्रेमकुमार श्रेष्ठ, वितरक करण श्रेष्ठ, गायक विकास तुम्बापो, पत्रकार प्रदीप कार्कीलगायतलाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिवसमेत रहेकी निरन्ती तुम्बापाद्धारा खादा र सिलाम साक्मा लगाएर सम्मान गरिएको थियो । यस्तै, कवि मुक्तान थेबा, सीता तुम्खेवा र गायक राम लिम्बुलाई पनि सम्मान गरिएको थियो ।

अञ्जिलालाई राष्ट्रिय खेलमैदानमा आउन सधैं हौसला प्रदान गर्ने ‘हिरो’ चलचित्रका निर्माता प्रमकुमार श्रेष्ठ हुन् । जसलाई अञ्जिला ‘गडफादर’ सम्बोधन गर्छिन् । तुम्बापोको संघर्षलाई पर्दामा उतार्ने निर्णय गरेको श्रेष्ठलाई यस चलचित्रले यति धेरै दर्शकको माया पाउने विश्वास थिएन । ‘अञ्जिलाको संघर्षलाई दर्शकसम्म पु¥याउने चाहना थियो । सोचेको भन्दा राम्रो भइरहेको छ’, श्रेष्ठले भने, उनको संघर्ष राम्रो थियो, त्यहीअनुसार चलचित्र निमार्ण गरिएको हो । यसलाई दर्शकले मनपराइदिनुभयो ।’

Advertisement

श्रेष्ठका अनुसार हाल, कोरिया, अमेरिका, यूके, जापान, क्यानडा, पोर्चुगललगायत १७ देशमा चलचित्र प्रदर्शन भइरहेको छ ।

अञ्जिलाको घर निर्माण सहयोगार्थ यस चलचित्र निर्माण गरिएको निमार्ण पक्षको दाबी छ । ‘अञ्जिलाको घर निर्माण गर्ने उदेश्यले फिल्म निर्माण गरेका हौं । हामी उदेश्यनजिक पुगेका छौं’, निर्माता श्रेष्ठले बताए ।

गत नोभेम्बरमा पहिलोपटक हङकङमा प्रिमियर शो गरिएको थियो । प्रिमियरका लागि हङकङ पुगेका निर्देशक मिलन चाम्सले चलचित्र तुम्बापोको घर निर्माण सहयोगार्थ भएको जानकारी दिएका थिए । सोही दिनबाट हङकङमा चलचित्र निर्माता तथा व्यवसायी रबिनकुमार नाल्बोको संयोजकत्वमा आर्थिक सहयोग संकलन गर्न सुरु गरिएको थियो । जसमा हालसम्म करिब ३४ लाख संकलन भइसकेको संयोजकले जानकारी दिए ।

हङकङमा पुनः प्रदर्शन हुन लागेको संयोजक नाल्बोले जानकारी दिए । ‘मे २५ मा यामाताई कम्युनिटी हलमा चलचित्र प्रदर्शन हुनेछ’, उनले भने, ‘यसपटक पनि राम्रो आर्थिक संकलन हुन सक्ने अनुमान छ ।’

नाल्बोका अनुसार पाथीभरा ग्रुप युनलङ र अञ्जिला घर निर्माण परिवार हङकङको संयुक्त आयोजनामा प्रदर्शन गर्न लागिएको हो ।