April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

‘जार’मा के–कति मिहिनेत गरेँ, त्यो ट्रेलरले बताउछः सौगात मल्ल

890

ललितपुर । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ललितपुरको पुल्चोकस्तिथ लबिम मलमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ । यस चलचित्रलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक गर्ने क्रममा निर्देशक लामाले इन्द्रबहादुर राईको कथालाई पर्दामा उतार्नु आफैमा चुनौती भएपनि अन्याय हुन नदिएको दाबी गरे ।

कम्पनी फेरी टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ मा भारतीय अभिनेत्री गीताञ्जली थापा, नेपालका अभिनेता सौगात मल्ल र अनुप बिक्रम शाहीको मुख्य भूमिका छ । ‘जार’का लागि धेरै नै मिहिनेत गरेको अभिनेताद्धयले बताए । ‘चार वर्षको मिहिनेत छ’,शाहीले भने, ‘फूर्वा सरले यसलाई किताबबाट फिल्ममा उतार्नुभएको छ । मेरो लागि यो एकदम ठूलो च्यालेञ्ज थियो, त्यसलाई सेटलअप गर्न सौगात मल्ल दाइले एकदमै हेल्प गर्नुभयो ।’ सौगात मल्लले थपे, ‘मैले के–कति मिहीनेत गरेँ, त्यो ट्रेलरले नै बताउँछ ।’

Advertisement

मल्लले गुरुकुलमा प्रवेश गरिसकेपछि जार कथा पढ्न पाएको र यसमा नाटक मात्रै भएपनि गर्छु भन्ने लागेको पनि सुनाए । उनले भने, ‘जार कथा पढेपछि म महिनौं सोच्न बाध्य भएको थिएँ कि यस्तो परिस्थिति मलाई परेको भए म के गर्थेँ होला भनेर । यो पात्रमा म नाटकै भएपनि गरुला भन्ने सोचाइ थियो तर यसरी फिल्म गर्न जु¥यो ।’

‘जार’मा रैथाने संगीतकर्मी झुमा लिम्बुको संगीत छ । उनले पनि यसमा धेरै नै मिहिनेत गरेको बताइन् । ‘बल्ल बल्ल फिल्म प्रोजेक्ट सकियो । यत्तिसाह्रो घोटिएको मैले कुनै फिल्ममा थिएन सायद’, झुमाले आफ्नो अनुभव सुनाइन् ।

यस चलचित्रका गीतकारहरू नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कवि हर्क साउद, स्वप्निल स्मृति रहेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गीताञ्जली थापा भने अनुपस्थित थिइन् । थापा भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री हुन् । ‘लायर्स डाइस’ बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्। नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’ मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।

फिल्म ‘जार’ को सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ। अधिकांश कलाकार र प्राविधिक टिम भारतबाटै छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडिओ र किवा प्रोडक्सनको सहकार्य रहेको फिल्मको कार्यकारी निर्मातामा ज्योति क्षेत्री, नीरज राई, नुर्साङ भुटिया र पेमा रिन्जिङ लेप्चा छन् ।

जार आगामी बैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।