April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

दिलमाया साँगीतिक साँझमा हङकङका सात विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने

1.6K

हङकङ । दिलमाया मेमोरियल फाउण्डेशनले हङकङको नेपाली समाजमा रहेर विभिन्न विधामा उल्लेखनीय कार्य गरिरहेका सात जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।

आगामी २० अप्रिलको साँझ जोर्डनको ब्लु ओसन हलमा हुने दिलमाया साँगीतिक साँझको पहिलो औपचारिक सत्रमा उक्त सम्मान कार्यक्रम राखिएको हो ।

विगत लामो समयदेखि विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्दैआएका तर समाजले पहिचान गर्न छुट्याएका युवा प्रतिभाहरुलाई ट्रफी, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिने योजना रहेको फाउण्डेशनले आफ्नो औपचारिक वेभसाइटमा जनाएको छ।

Advertisement

सम्मान गरिने व्यक्तिहरु बिभिन्न ६ वटा विधाहरुः साहित्य, समाजसेवा, सामाजिक अभियान, पत्रकारिता तथा सञ्चार, कला तथा संगीत र युवा उद्यमशिलता बाट छानिएका छन्। सम्मानित प्रतिभाहरुको नामावली भने सोही दिन सार्वजनिक गर्ने फाउन्डेसनले आफ्नो प्रेस विज्ञप्तीमा जनाएको छ।

नेपाली डायस्पोरामा रहेर आ–आफ्नो क्षेत्रमा प्रभावकारी कार्यहरु गर्दै समाजलाई उल्लेखनीय उदाहरण प्रस्तुत गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने भन्ने लामो समयदेखि रहिआएको आफ्नो योजनालाई फाउण्डेशनले यस पटक साकार पार्न गइरहेको बताइएको छ। त्यस्तै, यो प्रतिभा पहिचान सम्मानलाई फाउण्डेशनले हरेक बर्ष गर्ने योजनाबाट उक्त कार्यक्रम संस्थागत हुने पनि प्रेस विज्ञप्तीमा उल्लेख छ।

उक्त दिन तय गरिएको कार्यक्रमको दोस्रो सत्रमा नेपालदेखि आउने राष्ट्रिय कलाकारहरू बादल लिम्बू, सुनिता थेगिम र दीपा सुहाङले ब्लु ओसनहलमा आ–आफ्नो साँगीतिक प्रस्तुति दिनेछन्।

यसैबीच, दिलमाया फाउण्डेशनको अक्षयकोष स्थापनार्थ गरिने उक्त कार्यक्रममा हङकङका कला, कलाकार र समाजसेवाप्रेमी सबै जनहरुलाई उपस्थित भइदिन उक्त कार्यक्रमका संयोजक मौसम लिम्बू (फुलेन्देको बाउ) ले आफ्नो सञ्जालमार्फत निमन्त्रणा गरेका छन्।