काठमाडौं । प्रतिनिधिसभाले सभामुख र उपसभामुख निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी शुरु भएको छ । सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरुले तेस्रो राष्ट्रपति खोजी थालेका छन् ।
नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरूले अंकगणितको जोड घटाउसमेत सुरु गर्न थालिसकेका छन् ।सत्तारूढ दलमध्येको प्रमुख घटक नेकपा एमालेले पूर्वसहमतिनुसार राष्ट्रपति आफ्नै दलले पाउने अपेक्षा राख्दै आएको छ भने सत्ताबाहिर रहेको दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनजस्तै हिसाबकिताब ‘राष्ट्रपति निर्वाचन’मा नहुने अड्कल गर्दै आइरहेको छ ।
गत १० पुसमा प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत दिएकाले कांग्रेसले ‘राष्ट्रपतिमा आफ्नो दावी स्वभाविक रहेको’ बताउँदै आएको छ । एमालेले भने सरकार गठनअघि नै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति लिने सहमति भएको दावी गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने बताउँदै आएका छन् । एमालेले राष्ट्रपतिमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलमध्ये एक जनालाई अघि सार्ने रणनीति बनाएको बताइन्छ ।
उच्चस्रोतका अनुसार नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र जनार्दन शर्मासहितका केही नेता ‘कम्फर्टेबल’ राष्ट्रपति खोजीका लागि कांग्रेससँग संवादमा छन् । राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ ।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले ‘आफू राष्ट्रपति हुन खोजेको र त्यसका लागि लबिङ’ गरिरहेका छन् ।
कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् । यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘राष्ट्रपतिको उम्मेदवार पार्टी १४औं महाधिवेशनताका गरेको सहमतिअनुसार पौडेल नै बनाउने’ निश्चित छ ।
त्यस्तै, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता पनि राष्ट्रपतिमा चर्चा छन् । तर, यी चारै नेता राष्ट्रपति बन्ने सम्भावना न्यून छ ।