May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

काठमाडौं महानगरको १४औँ नगरसभामा नौ करोड बजेट संशोधन प्रस्ताव

850

काठमाडौं । काठमाडौं महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड बजेट संशोधन प्रस्ताव गरिएको छ । आइतबार मेयर बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा उक्त रकम बराबरको संशोधन प्रस्ताव उपप्रमुख सुनिता डङ्गोलले पेस गरेकी हुन् ।

कामपाकोे १३औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ । चालु आवमा कामपाको सञ्चित कोषमा आय तथा खर्चका लागि २४ अर्ब चार करोड ५४ लाख एक हजार विनियोजन गरिएको थियो ।

विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नु परेको उपप्रमुख डङ्गोलको भनाइ छ । यसमध्ये यही पुस २६ गतेसम्ममा चार अर्ब २७ करोड ४१ लाख ५० हजार खर्च भएको छ बताइएको छ ।

Advertisement

सभामा चालु आवमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख डङ्गोलले अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जसमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत र सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको बताइएको छ ।

यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.४७ प्रतिशत खर्च भएको उपप्रमुख ढंगोलले बताइन् । उनले भनिन्, “विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रियामा भएर लेखाङ्कन भई नसकेका कारण वित्तीय प्रगति कम देखिएको छ ।”

चालु आवमा वर्षमा राजश्व आम्दानीतर्फ १० अर्ब ८० करोड ७८ लाख २० हजार लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजश्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख छ । यसमध्ये पुस २६ गतेसम्ममा चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ सङ्कलन भएको छ ।

कामपा प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजश्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक पेस गरेका छन् । यी विधेयक र संशोधन बजेट तथा कार्यक्रमसम्बन्धी माघ ३ गते बस्ने अधिवेशनको दोस्रो बैठकमा छलफल हुनेछ ।