काठमाडौं । जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ ।
शुक्रबार (मंसिर ७ गते) ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको ठहर गर्दै महानगरले जरिवाना तिर्न एमालेलाई भनेको हो ।
नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००.०० (अक्षरेपी एक लाख) जरिवाना गरिएको’ जनाएका छन् ।
यसअघि महानगरले गत वर्ष चैतमा राप्रपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दा फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै क्षतिपूर्ति र मर्मत खर्चवापत् ५ हजार २ सय २२ रुपैयाँ तिराउने निर्णय गरेको थियो ।