काठमाडौं । थापाथली क्षेत्रका सुकुम्बासीहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् । उनीहरु महानगरले डोजर लगाउने आशंकासहित बिहानैदेखि टायर जम्मा गर्दै कालो ब्यानर प्रदर्शन गरी मेयर बालेन्द्रविरुद्ध चर्को नारा लगाउदै बिरोधमा उत्रिएका हुन् ।
सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुत्ला जलाएका छन् भने शव राख्ने बाकसमाथि बालेनको फोटो राखेर जलाएका छन् । बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् ।
बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासीहरुले थापाथली क्षेत्रमा कब्जा गरेको जग्गा मंसिर ४ भित्र खाली गराउन सूचना जारी गरेलगत्तै भूमिहीनहरु आन्दोलित भएका थिए । आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । त्यहाँबाट पुनः आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शन जारी राखे ।
बिना सूचना मंसिर १२ गते महानगरले उक्त सुकुम्बासी बस्तिमा डोजर लिएर गएपछि भूमिहीन र महानगर प्रहरीबिच झडप भएको थियो । झडपमा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३० जना घाइते भएका थिए ।