October 25, 2025, Saturday
२०८२ कार्तिक ९
1:37:26 pm

विपिन जोशीलाई जीवित फर्काउन सरकार असफल हुनु अत्यन्त पीडादायकः प्रचण्ड

470

काठमाडौं । इजरायल र प्यालेस्टाइनको युद्ध क्रममा हमासद्धारा बन्धकमा परेका नेपाली विद्यार्थी युवा विपिन जोशीलाई जीवित फर्काउन सरकार असफल भएको नेकपा माओवादीका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

मंगलबार सामाजिक संजालमा दुःख व्यक्त गर्दै उनले लेखेका छन्, ‘हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उहाँकै भएको दुःखद् समाचारले म अत्यन्त मर्माहित भएको छु । विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो ।’

इजरायलमा आक्रमण गर्ने क्रममा हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको जोशीको शव फरेन्सिक परीक्षणबाट पुष्टि भएको बताइएको छ ।

Advertisement

हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो । इजराइली सेनाले फरेन्सिक परिक्षणबाट चारैजनाको शवको पहिचान भएको पुष्टि गरेको हो । यसबारे परिवारलाई जानकारी दिइएको छ । सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशीसहित हमासको त्यो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको थिएन ।

इजरायली सेनाले युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा विपिनको हत्या गरिएको दाबी गरेको छ । हमासले भने गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो ।