त्यो दिन,
युद्धमा हिँडिरहेका मेरा पाइलाहरू रोक्न
तिम्रो भयको अँध्यारो आकाश चिर्दै
आशाको उज्यालोमा उदाएको आस्थाको जून
चेतनाको अजम्बरी आँखामा साँचेर राख्नु ।
अचेल,
म अक्सर हेर्ने गर्छु
माथि शून्यमा चम्किरहेका ताराहरूलाई
अनि सोध्छु पनि
आशाको आकाशमा उदाउने जून खोई ?
मनले सुन्ने गरी मनमनै भन्छन्
हजुरको सङ्कटमा अवस्य आउने छिन् ।
अचेल,
मेरो कुनै एकान्त वा एक्लोपन हुँदैन
हरदम मसँग मूर्त अमूर्त तिमी हुन्छौ
अनुभूति भरि तिम्रा प्रेमिल स्पर्श छन्
आँखामा पानी, जवानी र कहानी छन्
तिमीसँगै धड्किने यो ढुकढुकी छ
तिम्रो माया, शुभेच्छा र प्रार्थना छन् ।
अचेल,
तिम्रा सफलताका हिमचुलीहरू
अनुहारमा आरेखित खुसीका आभाहरू
ओठमा झुल्किने मुस्कानका लालिमाहरू
आँखाका आली भत्काउने मायाका प्रतीकहरू
तिम्रा आलिङ्गन यादका हलकाराहरू
मैले बाँचिरहेका जीवनबोध लाग्दछन् ।
अचेल,
हाम्रो दैनिकीजस्तै भएको छ
स्क्रीनको भित्ताहरूमा हेराहेर गर्दै
आँसुको रूमालमा मायाको विनिमय गर्नु
अनि बाध्यताले सम्झौता गरेर बाँच्ने
अतृप्त जीवनको परिभाषा खोज्नु ।
अचेल,
कतै मौन कतै प्रेमिल यात्राहरूमा
अविरल बग्ने खदम खोलाको बगरै–बगर
तिमीसँग काटेका बाटाहरू पछ्याउँदै
मनमा हिँडिरहेका छन् केही हुल यादहरू ।
हो साँच्चै अचेल,
कहिले जूनको शीतलताले पोल्छ
कहिले घामको किरण नै मधुरो लाग्छ
सङ्गीतको राग–अनुरागमा तिमी आउँछौ
हिमालको प्रतिबिम्ब छाँयामा तिमी हुन्छौ
बादलका आकृतिहरू पनि तिमीजस्तै छन्
यो फूल, पुतली, बन र चराहरू
त्यो आकाश, घाम, जून र ताराहरू
मलाई अनायास प्रिय लागिरहेका छन्
सायद, अचेल म तिम्रो प्रेममा छु ।