काठमाडौं – दसैं र तिहारको अवसरमा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ । विदेशमा रहेका नेपाली परिवारहरूको कथा प्रस्तुत गर्ने चाडबाडमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा व्यक्त गरेकी छिन् । बाबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको रमाइलो सम्झिँदै दुखी भएको कथालाई प्रस्तुत गरिएको छ ।
यस गीतमा अमेरिका निवासी गायक विजय शङ्करको स्वर, शब्द र संगीत रहेको छ । उनलाई स्वरमा साथ उनकी छोरी प्रिस्किला शङ्करले दिएकी छिन् । दीपकराज विश्वकर्माले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् । साथै, उनको निर्देशनमा बनेको यस भिडियोमा स्वयम् दीपकराज विश्वकर्मा, अजिता विश्वकर्मा, आज्ञा बस्नेत र आदिम विश्वकर्माले अभिनय गरेका छन् । सुबिन गोदारले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।
भिडियो हेर्दा लाग्छ, यो गीत धेरै नेपालीको मन छुनेछ । छोरीले घरमा चाडपर्वको तयारी गर्दै बाबालाई सम्झेकी छिन् भने बाबाले विदेशमा एक्लोपन महसुस गर्दै परिवारसँग रमाउन नपाएको पीडा व्यक्त गरेका छन् । भिडियोको निर्देशन र पात्रहरूको अभिनयले वास्तविक जीवनको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
यो केवल गीत मात्र होइन, विदेशिएका बाबाआमा, छोराछोरी र सम्पूर्ण नेपाली परिवारहरूको साझा कथा हो । दसैं–तिहारको रमाइलोबीच सम्पूर्ण परिवार एकसाथ नहुने भावनालाई यस गीतले मार्मिक ढंगले उजागर गरेको छ। गीतको म्युजिक भिडियो “विजय शङ्कर अफिसिएल” युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।