स्वप्निल निरवको कथा ‘प्रेमको रङग’ को अन्तिम भाग
…दिमाग रन्थनियो । यो कसरी सम्भव हुन्छ ?
तिनले भन्दै गइन् –मेरो कहिल्यै केटासाथी बनेनन् । तेह्रचौध वर्षदेखि नै म केटासाथीको नजिक हुने धेरै कोशिस गरेँ । सँगै पढेका साथीहरुले केटाको कुरा गर्दा खुब डाह लाग्थ्यो । वास्तवमा तेह्रचौधको उमेरदेखि नै म ब्वायफ्रेण्ड बनाउन चाहन्थेँ । मौका मिल्ने बित्तिक्कै केटाहरुको नजिक जान्थेँ । केही महशुस हुँदैनथ्यो । तर बेस्टफ्रेण्डको नजिक जाँदा भनेँ शरीरमा कस्तो–कस्तो हुन्थ्यो । धड्कन पनि बढे जस्तो हुन्थ्यो । केटीहरुसँग अंगालो हालेर हिँड्दा काउकुती लाग्थ्यो । उनका संवेदनशील अंगहरुमा छोउँ–छोउँ लाग्थ्यो ।
सत्र वर्षमा म घर छोडेर काठमाडौं आएँ । त्यो उमेरमा पनि मेरो कुनै ब्वायफ्रेण्ड थिएन । तिमीलाई थाहा छ ? उमेर पुगेकी केटीको ब्वायफ्रेण्ड नहुनु कति पीडादायी कुरा हो ? रातभरि निदाउन सक्दिनथेँ । केही पनि रमाइलो लाग्दैनथ्यो किनकी मेरो ब्वायफ्रेण्ड थिएन ।
सनमको कुरा सुनेर म हाँसेँ । उनले हातमा प्याट्ट पिटेर भनिन् –आइ एम सिरियस । म पनि प्रेम गर्न चाहन्थेँ कसैलाई । गहिरो प्रेममा परेर सँगै आलिंगनमा रात गुजार्न चाहन्थेँ । बच्चा जन्माउन चाहन्थेँ अनि पुरै जिन्दगी पे्रेमले बाँच्न चाहन्थेँ ।
काठमाडौं आएको नौ महिनापछि सलिलसँग एउटा क्याफेमा भेट भयो । तिनी त्यतिबेला भर्खर इन्डियाबाट फर्केकी थिइन् । हामी पहिलो भेटमै साथी भयौं । फेसबुक इन्स्टामा कुराकानी हुँदै गयो । भेटघाट दोहोरिदै गयो । एकअर्काको घरमा आउजाउ चल्दै गयो । मैले स्कुलको बेस्ट फ्रेण्डसँग जस्तो फिल गर्थेँ त्यस्तै फिल उनीसँग गर्न थालेँ ।
सनमलाई बीचमा रोकेर भनेँ –यसको अर्थ मेरो कोठामा भएको भेट तिमी दुर्ईको पहिलो भेट थिएन ?
उनले भनिन् –अँ, म उनलाई पहिलेदेखि नै चिन्थेँ ।
दुर्ई महिनाको घर बसाइपछि तिनी फेरि इण्डिया फर्किइन् । उनको फुर्सद हुने बित्तिक्कै हामी भिडियो च्याट सुरु गरिहाल्थ्यौं । हुँदै नभाको ब्वायफ्रेण्डको नाम लिएर एकअर्कालाई जिस्काउथ्यौं । वास्तवमा सलिलले ब्वायफ्रेण्डको नाम लिएर जिस्काउँदा आनन्द लाग्थ्यो । भावी प्रेमीलाई लिएर मनमा अनेक कल्पना आउँथ्यो ।
एकरात सलिलले अचम्मको भिडियो क्लिप पठाइन् । लगभग बीसबाइस सेकेण्डको थियो होला । त्यो हेरेपछि शरीर झिनिन्न भयो । सलिललाई केही भन्न पनि सकिनँँ । मन त लागेको थियो, के पठाएको भनेर झपारुँ । तर झपार्न त परै जाओस् के पठाएको यो भनेर सोध्न पनि सकिनँँ । हेरेर एक्लै रातोपिरो भएँ । सलिललाई इन्स्टामा ब्लक हानिदिएँ । फेसबुकमा पनि ब्लक गरिदिएँ । तर ब्लक समस्याको समाधान थिएन । सलिललाई सम्झिरहन्थेँ । दुईहप्तापछि अनब्लक गरेर म्यासेजमा लेखेँ –हाय ।
उनले प्रत्युत्तर पठाइनन् । नरमाइलो लाग्यो । झण्डै हप्तादिनपछि उनले ‘मिस यु’ भनेर म्यासेज गरिन् । मिस त म पनि गरिरहेथेँ उनलाई तर मिस यु टु लेखेर पठाउन सकिनँ । मिस नगरिरहन पनि सकिनँ । उनलाई मिस गर्छु तर मिस यु लेखेर पठाउन सक्दिन । यो भन्दा मुस्किल के हुनसक्छ ? उनलाई ब्लक गर्नुभन्दा अगाडिसम्म हामी एकअर्कालाई डियर, प्रिय, मिस यु, लव यु, डार्लिङ जस्ता शब्दहरु सजिलै प्रयोग गथ्र्याैं तर जब मैले उनले पठाको भिडियो क्लिप हेरेपछि ब्लक गरेँ त्यसदिनदेखि म्यासेज लेख्दा र भिडियो च्याट गर्दा निकै सतर्क रहन थालेँ ।
वास्तवमा म उनलाई माया गर्न थालेकी थिएँ । सायद प्रेमीलाई जत्ति नै । सोंचेँ, मैले कल्पना गरेको पे्रमी सलिल हुन सक्छिन् ? उनले पठाएको भिडियो क्लिपमा भएका एकजोडी यूवतीले जस्तै के एकअर्कालाई किस गर्न सक्छौं ? सोंचिसकेपछि मुन्टो झट्कारेँ मैले । मष्तिस्कमा किन अनेक कुरा आउँदैछ ? आफ्नै टाउकोमा हिर्काएँ ।
भिडियो कल हुँदा सलिल हाइ डियर भनेर हात हल्लाउँथिन् । म लाजले भुतुक्क हुन्थेँ । अनि भिडियो अफ गरेर उनीसँग कुरा गर्थेँ । उनले भिडियो अन गर्ने भए मात्र कुरा गर्ने भनेर भन्थिन् । म अटेर गरेर सुनिबस्थेँ । तिनले रिसाएर सम्पर्क टुटाउँथिन् । म उनलाई फकाउन फेरि भिडियो कल गर्थेँ । यसरी फुर्सद हुने बित्तिकै एकअर्कासँग रिसाउने फकाउने क्रम थुप्रै महिना चलिरह्यो ।
झण्डै चौध महिनापछि सलिल चेन्नाइबाट नेपाल आइन् । आउने बित्तिकै उनले सोधिन् –डु यु फिल मि ?
जवाफमा लामो स्वास फेरेँ मैले । झण्डै एकघण्टाको भेटमा छ सात पटक त्यही शब्द दोहोर्याइन् –डु यु फिल मि ?
जवाफ नदिइकन उनीसँग बिदा भएँ । कोठामा नपुग्दै तिनको फोन आयो । मैले भनिदिएँ –घरबाट दाइ र बाले अब बिहे गर्नुपर्छ भनेर दबाब दिइरहनुभएको छ । अब त मेरो बिहे गर्ने बेला भयो नि है ?
तिनले जवाफमा भनिन् –तिमीले अघि मैले गरेको प्रश्नको जवाफ दिएनौ ।
मैले फोन काटेँ । साँझ तिनी बस्नेगरी मेरोमा आइन् । सलिललाई ओछ्यानमा सुताएर भुँइमा ओछ्यान लगाएँ । तर उनी पलङबाट ओर्लेर तल आइन् । लामो स्वास तानेर अलि पर हटेँ । तिनी अझ नजिक सरेर भनिन् –म नजिक हुँदा तिमी कस्तो महसुस गर्छाै ?
‘पर जाऊ न यार । तिमी नजिक आएपछि सास फेर्न पनि सक्दिन म ।’
उनी मुस्कुराउँदै झनै नजिक आइन् । स्वास झनै बढ्यो । उनले थाहा नपाओस् भनेर अर्काेतिर फर्किएर बिस्तारै सास फालेँ । उनले पछाडिबाट गर्लम्म अंगालो होलेर सुस्तरी भनिन् –आइ नो यु फिल मि ।
घुटुक्क थुक निलेर फेरि लामो सास फेरेँ मैले । तिनले गालामा किस गरिन् । सास झनै बढ्यो । पछाडिबाट मेरो घाँटीमा बेरिएका उनका हात छुटाएर सिरानीमा मुन्टो लुकाएर पल्टिएँ पलङमा । सलिलले भनिन् –तिमी मलाई किन इग्नोर गर्छाै ? म तिमीलाई माया गर्छु ।
बिस्तारै सिरानीबाट टाउको उठाएँ । तिनी मेरो छेउमा उभिएकी थिइन् । उठेर तिनको छातीमा टाँसिएँ म । सलिलले मेरो टाउको बिस्तारै उठाएर निधार, गाला घाँटी हुँदै ओंठमा सुस्तरी चुम्बन गरिन् । हुन त उनको चुम्बन फिल्ममा देखाइने सिन जस्तो एकदमै उत्तेजित पाराको थिएन । तर मलाई राम्रो लाग्यो ओंठसँग ओंठको कोमल छुवाइ । आँखा चिम्लेर सुस्तरी उनको आलिंगनमा बाँधिएँ म । उनले कानमा फुस्फुसाउँदै भनिन् –वेलकम टु द गे वल्र्ड सनम ।
उनले के भनेकी हुन् त्यो त बुझिनँ । तर सलिलले देखाएको प्रेम, तिनीसँग बिताएको त्यो रात मलाई मनपर्यो ।
महिना दिनको काठमाडौं बसाइमा सलिल निकै खुशी थिइन् । तर म खुशी, अचम्मित अनि अन्योलमा रात गुजार्थेँ । खुशी यसकारण कि, मलाई सलिलको साथ राम्रो लागेको थियो । अचम्म र अन्योल चाहिँ यसकारण कि, किन म आफू जस्तैसँग नजिकिदैछु ? वास्तवमा म पुरुषलाई प्रेम गर्न चाहन्थेँ ।
उनी आफ्नो पढाइका लागि फेरि चेन्नाइ गइन् । एकरात मैले भिडियो च्याटमा उनीसँग सम्बन्ध राख्न नचाहेको कुरा बताएँ । तिनी रिसाइन् । मैले केटीकेटीबीच सम्बन्ध हुनु राम्रो होइन भनेँ । तर तिनले त मलाई युट्युव, अंग्रेजी, हिन्दीका अनलाइन पत्रिकाका लिङ्कहरु पठाइदिइन् । खोलेर पढेँ । अचम्म, यस्तो पनि हुन्छ ? त्यसबारे कहिल्यै सुनेकी या पढेकी पनि थिइनँ । यस्तो कसरी हुनसक्छ ?
गुगलमा ‘अबाउट गे’ लेखेर सर्च गरेँ । सर्च लिस्टमा केटाकेटा, केटीकेटीबीचका चुम्बन गरेका, आलिंगनमा बाँधिएका थुप्रै तस्विरसँगै गे के हो ? भन्ने बारेमा जानकारीमूलक सामाग्री थिए । तर ती सामाग्री मलाई जानकारीमूलक भन्दा पनि भ्रम जस्तो लाग्यो । छ्या ! यस्तो कसरी हुनसक्छ ? मैले जस्तै भुल सबैले कसरी गर्न सक्छन् ? मलाई युट्युब, अनलाईन पेपर अनि गुगलमा भेटिएका सबैकुरा पत्याउन मन लागेन ।
मलाई सलिलले भनेका कुरा पनि पत्याउन मन लागेन । सृष्टिले नारी र पुरुष बनाएको छ । अतः नारीको पुरुषसँग अनि पुरुषको नारीसँग सम्बन्ध स्थापित हुन्छ । प्रेम हुन्छ अनि सन्तानोत्पादन हुन्छ । मेरो बुझाइ र सोंचाइ एकदमै सोझो थियो । तर सलिलले बुझाएका गे, लेस्वियन, बायोसेक्सुअल, होमोसेक्सुअल केही पनि बुझ्दिनथेँ ।
एकदिन सलिलले रिसाएर भनिन् –तिमी बुझ्दिनौ कि बुझ्न चाहदैनौं ?
मैले भनेँ –बुझ्न पनि चाहन्नँ, बुझ्दा पनि बुझ्दिनँ ।
म सलिलसँग सम्बन्ध राख्न चाहन्नथेँ । तर उनीसँग छुट्ने कुराले पनि साह्रै नरमाइलो लाग्थ्यो । तीन वर्षपछि सलिल नेपाल फकिइन् । उनको आमाबाले उनलाई उतै सेटल गराउन चाहनुहुन्थ्यो । तर उनी फर्किइन् । त्यतिबेला म काम गर्न थालिसकेकी थिएँ । अफिसमा सँगै काम गर्ने विनय मलाई मन पराउँथ्यो । मलाई पनि ऊ राम्रो लाग्थ्यो । मैले भावी पे्रमीमा खोजेको स्वभाव र गुण ऊसँग थियो । उसँग म डेटमा पनि गएँ । रातीराती उसको बाइकमा बसेर काठमाडौं पनि घुमेँ । तर उसका लागि कुनै फिलिङ्स जागेन मनमा । म विनयको नजिक भएको कुरा थाहा पाएर सलिलले जागिर छोड्न दबाव दिन थालिन् । हाम्रो झगडा पर्न थाल्यो । अन्ततः रीस र आवेगमा मैले जागिर छोडेर उनले खोजिदिएको कोठामा आएर बसेकी छु । तर मलाई यसरी बस्न मन परेकै छैन । उनले दिएको खर्चमा खुशी भएको बाहना गर्न म सक्दिनँ ।
तिमीलाई थाहा छ विवेक ? तिमीसँग भेटिएको पहिलोदिन, तिमी र म डिनरका लागि भेटिएका थियौं नि! त्यो दिन मैले सलिललाई पनि बोलाएको थिएँ । तिमीलाई त्यहाँ देखेर उनी भागिन् । त्यो दिन फोनमा हाम्रो खुब झगडा भयो । तिमीलाई भेट्नुअघि ट्याक्सीमा आउँदै गर्दा धेरैबेर झगडा भइरह्यो । वास्तवमा सलिल पनि ठूलो कुरा गर्न मात्र जानेकी छिन् । तिनी तिम्रो अघि हामी दुईको सम्बन्ध नखुलोस् भनेर तिमीलाई देखेपछि भागेकी हुन् ।
भनिसकेर बाँकी रहेको बियर तिनले स्वाट्टै पारिन् । उनका आँखा पनि रसिला देखिएका थिए । आँसु र मातले हुनुपर्छ सायद । मातिएको म पनि थिएँ अलिअलि बियरले सबैभन्दा धेरै उनको यथार्थले । कसरी पत्याउनु मैले माया गरेको मान्छे गे हुन् भनेर ।
हाम्रो कुराकानीको बीचमा सलिलले थुप्रैपटक फोन गरिसकेकी थिइन् । तर सनमले उठाएकी थिइनन् । फोन नउठेपछि म्यासेज पनि लेखेकी थिइन् ।
सनमले फोन अनि म्यासेजको कुनै रेस्पोन्स नगरेपछि सलिलले अन्तमा मलाई फोन गरिन् । उठाएँ । उनले अलि चर्काे आवाजमा भनिन् –सनम तिमीसँग हो ?
हो भनेँ मैले । उनले कहाँ हो भनिन् । मैले जेडिभिएस रेष्ट्रो एण्ड क्याफेमा छौं भनिदिएँ । झण्डै बीस मिनेटपछि सलिल आइन् । हामी दुबै मातिइसकेका थियौं । सनम त झन् धानिन नसक्ने स्थितिमा थिइन् । हामी दुबैले उनलाई ट्याक्सीमा राख्यौं । ट्याक्सीमा बस्दा सलिलले सनमको टाउको आफ्नो काँधमा अड्याएर कम्मरमा चरप्प समाएकी थिइन् । ती दुबै केही बोलिरहेका थिएनन् । सनम घरिघरी वाकवाक गर्थिन् । सलिल पोलिथिन उनको मुखनेर लगेर थाप्थिन् ।
सनमलाई कोठामा पुर्याउनु, वमिट हुनु एकैचोटी भयो । सनमलाई लुगा फेरिदिएर उनलाई ओछ्यानमा लडाएपछि उनले ढोकानेरको फोहर सफा गरिन् ।
म सनमको छेउमा बसेको थिएँ । उनी निदाएकी थिइन् । सलिल बाथरुम छिरिन् । झण्डै पन्ध्र मिनेटपछि बाथरुमबाट चिसै कपाल र जिउ लिएर आइन् र भनिन् –तिमीलाई कसले भन्यो उनलाई यस्तरी पिलाउन ?
‘उनी सोह्र वर्षकी किशोरी होइन । तेइस वर्षकी यूवती हुन् ।’
केही नबोली सलिल सनमको खुट्टानेर बसिन् । म जुरुक्क उठेँ कोठामा जानका लागि । तर फेरि बसेँ । म चाहन्थेँ सनमको कोठामा रुकुँ । आँखा खोल्दा सनमको अगाडि हुन पाउँ ।
सलिलले सनमको अनुहारभरि छरिएका लथालिङ्ग कपाल समेटेर सुस्तरी भनिन् –बुझ न यार । तिमी किन बुझ्दिनौ ?
उनको गालामा चुम्बन गरेर मतिर हेरेर भनिन् –तिमी आफ्नो कोठामा गइहाल ।
मन नलागीनलागी सनम र सलिलतिर हेर्दै उठेर ढोकामा पुगेँ । तर मलाई सनमलाई सलिलसँग छोडेर जान मन लागेकै थिएन । ढोकानेर उभिएर ती दुईलाई हेरिरहेँ । सनम त निदाइरहेकी छिन् नशाको तालमा, सलिल उनको छेउमा बसेर उनका आँखामा हेरिरहेकी छिन् । यदि सनम सलिलसँग नभएर मसँग हुन्थिन् भने नशाको तालमा हुने थिइन । सनम ब्युँझै हुने थिइन् अनि सलिलको ठाउँमा उनको आँखासँग आँखा जुधाएर म बस्ने थिएँ ।
सनमको यथार्थ जानिसकेपछि उनीबाट टाढिने कोशिस गरेँ तर सकिनँ । आखिर माया त माया हो उनी आम यूवती भन्दा फरक छ भनेर जान्ने बित्तिकै कसरी माया मार्न सक्थेँ ? हामी पहिलेभन्दा बढी खुलेर कुरा गथ्र्याैं । सनमको एउटै गुनासो रहन्थ्यो, सलिलले आफूसँग रहन दबाव दिन्छिन् । मलाई अचम्म लाग्थ्यो, सनम बच्ची या किशोरी त होइन सलिलले रोक्दैमा रोकिने । किन उनी पोको पन्तुरो बोकेर नचाहेको सम्बन्ध तोडेर स्वतन्त्र बाँच्दिनन् ? सलिलले पनि किन उनलाई रोक्छिन् । उनलाई पुरुषसँग सम्बन्ध अघि बढाउनुछ, पुरुषसँग संगत गर्नुछ भने किन रोक्न चाहन्छिन् ?
सनम र म रातभरि पनि म्यासेन्जरमा कुरा गथ्र्याैं । साँझ एकछिन भएपनि भेटिन्थ्यौं । हरेक कुराकानीको अन्त्यमा उनले दोहोर्याउने एउटै वाक्य थियो –म लोग्नेमान्छेसँग बिहे गरेर सामान्य जीवन जिउन चाहन्छु ।
उनीहरु प्रायः झगडा गरिरहन्थे । सनमलाई घरबाट बिहेका लागि दबाब आइरहन्थे । कोही केटा साथी छ भने बिहे गर पनि भन्नुहुन्थ्यो रे घरकाले ।
सनमले फेरि काम गर्न सुरु गरिन् । यसपालि सलिलले रोकिन । सनम पुनः कोठाबाट निस्केर काम गर्न पाएकोमा निकै खुशी थिइन् । उनको केटाहरुसँगको सम्पर्क पनि बढ्दै थियो । सलिलसँग नभएको मौका पारेर उनी म बाहेक पनि अन्य केटाहरुसँग फोनमा जिस्कने काम गर्थिन् । म जिस्काउँथेँ –तिमीलाई पुरुष नै चाहिएको हो भने म छँदैछु नि अरुसँग किन नजिकिन्छौं ? उनले ‘तिमी त सलिलको साथी भएर हो कि किन हो फिल नै आउँदैन’ भनेर हाँस्थिन् ।
सलिलले बिस्तारै सनमको वास्ता गर्न पनि छोडिदिइन् । तर उनलाई खास फरक परेन । उनले त्यो कोठा छोडेर अर्काे कोठामा सरिन् । फेसबुकमा सलिललाई अनफ्रेण्ड गरिदिइन् अनि इन्स्टाग्राममा पनि अनफलो गरिदिइन् ।
यतिमै सनमको समस्याको समाधान भयो भएन त्यो त उनै जानुन् । तर सलिल साँच्चै टुटेकी थिइन् । उनी खुरुखुरु हस्पिटल जान्थिन् अनि घर आएर कोठामा थुनिएर बस्थिन् । कहिलेकाहीँ गल्लीमा भेट हुँदा पनि बोल्दिनथिइन् ।
सनम र मेरो मित्रता पहिले भन्दा प्रगाढ हुँदै थियो ।
तीन महिनापछि एकदिन सलिलले भनिन् –तिम्रो साथीको खबर कस्तो छ ?
‘उनी तिम्रो साथी हैन र ?’ –प्रतिप्रश्न गरेँ ।
उनी केही बोल्न खोज्दै थिइन् । तर आँखाबाट आँसु खस्लाखस्ला जस्तै टिलपिल देखियो । अर्काेपट्टि फर्केर लुगाले आँसु पुछेर भनिन् –मित्रता या पे्रम एकतर्फी हुनै सक्दैन ।
यति भनिसक्दा नसक्दै उनका आँखामा फेरि टिलपिल आँसु देखिए । आँसु नपुछिकन फेरि भनिन् –उनलाई कत्रो रहर छ बिहेको । खोजिदेऊ न त एउटा असल पुरुष ।
सलिलको कुरा सनमलाई लगेर सुनाएँ । तिनी हाँसिनन् । न त दुःखी नै भइन् । मधुरो स्वरमा भनिन् –म तिमीसँग नजिक हुन चाहन्छु ।
म खुशी भएर उनलाई अंगालो हालेँ । मित्रताको झण्डै सोह्र महिनाको अवधिमा पहिलोपटक अंगालेको थिएँ । तर उनले उत्तिखेरै मलाई धकेलिदिइन् ।
अँध्यारोमा, उज्यालोमा, एकान्त भिड जहाँ भेटिए पनि सनमको व्यवहार एकदम सामान्य हुन्थ्यो । एकअर्कासँग पनि छोइन्थ्यौं । हात पनि समाउँथ्यौं । यसो अंगालो पनि हाल्थ्यौं तर उनको धड्कन बढ्दैनथ्यो । अनुहारको भावमा पनि कुनै परिवर्तन हुँदैनथ्यो । तर यस्तो किन हुँदैन ? म सोंचमग्न हुन्थेँ । प्राकृतिक रुपमै विपरित लिङ्गी एकअर्काप्रति आकर्षित हुन्छन् । तर उनी किन हुँदिनन् ? ठीक छ पे्रम नै त भएन रे तर क्षणिककै लागि भएपनि आकर्षण त हुन्छ नि !
एक साँझ हामी हावा खान निस्केका थियौं । सडकमा भेटिइन् सलिल । सलिलले ‘हेइ’ भन्दै दुबैसँग हात मिलाइन् अनि भनिन् –कता हिँडेको ?
‘यसै निस्केको, हावा खान ।’ –मैले भनेँ ।
‘म पनि जान्छु’ भनेर उनी पछि लागिन् ।
बालाजुबाट पैदल हिँडेर स्वयम्भु पुग्यौं । स्वयम्भुको सिंडि चढिरहँदा ती दुई एकअर्कासँग छोइयुँ जस्तै हिँडिरहेका थिए, बोलिरहेका थिएनन् । तर लाग्थ्यो, आँखाआँखा बोलिरहेका थिए ।
झण्डै एक घण्टाको बसाइमा ती दुई एकअर्कासँग एकदमै नजिकिइ सकेका थिए । कहिल्यै नछोडुँ जसरी एकअर्काको औंलासँग औंला जेलेर तलतिर हेरिरहेका थिए । ती दुईका खुट्टा पनि एकअर्कासँग जेलिएका थिए । अहो ! जलनले मेरो स्वासै रोकिएला जस्तो भयो ।
छुट्ने बेला सलिलले भनिन् –बाइ, लव यु ।
सनमलाई हेरेँ । उनी सलिलतिर हेरेर भावुक बनिन् ।
राती इन्स्टामा सनमले फोटो राखिन् सलिलको । क्याप्सनमा लेखेकी थिइन् –मिसिङ यु माइ फ्रेण्ड ।
कमेण्टमा सलिलले लेखिन् –मिसिङ यु टु माइ लव ।
जवाफमा सनमले लेखिन् –लव यु ।
मलाई नराम्रो लाग्यो । भर्खर गएर सनमको ओंठमा चुमुँ, उनलाई महसुस गराउँ कि, सलिलको भन्दा सय गुणा शक्तिशाली छ मेरो चुम्बन । सलिलको आलिंगन भन्दा मेरो आलिंगन भरपर्दाे र आरामदायी छ । प्रिय सनम, प्राकृतिक बाँच ।
जुरुक्क उठेँ ओछ्यानबाट । अनि सडकमा निस्किएर हानिएँ सनमको कोठातिर । हो आज देखाउनु थियो पे्रम सनमलाई, बताउनु थियो महिला अनि पुरुष हुनुमा कति आनन्द छ । सृष्टिकै सबैभन्दा सुन्दर भनेकै महिला र पुरुष हुन् ।
गेटमा पुगेँ । गेटको बाहिर थिइन् सलिल । सनमले गेट खोलिन् । अनि सलिलको हात समाएर अघि बढिन् । सुस्तरी पछ्याए ती दुईलाई । ती दुबै कोठामा छिरे । ढोका खुल्लै थियो । ती दुईले मलाई यादै गरेनन् । ढोकाबाट प्रवेश गर्ने बित्तिकै सनम सलिलको छातीमा लपक्कै टाँस्सिएर बोलिन् –सरी माइ स्विटहार्ट ।
‘इट्स ओके’ भन्दै सलिलले उनको ओंठमा बिस्तारै चुमिन् । सनमका आँखा मादक देखिए । जवाफमा उस्तै कोमल चुम्बन गर्दै भनिन् –म तिमीसँग पुरै जीवन जिउन चाहन्छु ।
‘जहिल्यै तिमीलाई सम्झाइरहन्छु, तिमी जस्तो हौ त्यस्तै बाँच । तिमी आफूलाई स्विकार्नै मान्दैनौ किन ?’
‘सरी मैले तिमीलाई सताएँ ।’
‘इट्स ओके’ भनेर सलिलले जुरुक्कै उचालेर उनलाई पलङमा पल्टाइन् । सनमले उनलाई पनि पलङमा तानेर तिनको गाला, घाँटी, ओंठमा चुम्बन गरिन् । अहो ! मेरा आँखा तिरमिराए । टाउको तातियो । मुठी कसियो र तत्कालै भित्तामा मुठी बजारियो ढ्याम्म ।
सनम र सलिमले एकैसाथ ढोकातिर हेरे । ढोकामा मलाई देखेर हड्बडाउदै उठे । म के गरुँ नगरँ भएर उभिइरहेँ । सलिल ढोकानेर आएर मेरो हात समाइन् र भनिन् –हेर कस्तरी रगत बगेको । के गरेको तिम्ले ?
जोडले हात झट्कारेँ मैले । सलिलले रीसैले मेरो हात समाएर भनिन् –के नाटक देखाइराछौ ?
अघि ढोकामा हानेर रगत लागेको हात मुठी पारेर फेरि ढोकामा हानेँ । यसपटक सनमले मेरो हात समाएर मलाई हेरिन् । सुन्दर आँखा, उस्तै सुन्दर उनको स्पर्श । मन-मनमा भनेँ –सनम तिमी किन मलाई महशुस गर्न सक्दैनौ ? एकपटक त कुनै पुरुष जातिलाई महशुस गरेर हेर । कति सुन्दर हुन्छ नारी अनि पुरुषको दुनियाँ । यी दुई भए सुन्दर सृष्टि हुन्छ ।
बिस्तारै घाउ लागेको हातमा फु फु गर्न थालिन् । टाउको उनको गाला नजिक लगेर बिस्तारै चुमेँ । उनले हात फ्यात्त फालेर सलिलको हात समाउन पुगिन् । त्यति नै बेला मैले गालामा जोडको थप्पड महशुस गरेँ । जवाफमा त्यो भन्दा दोब्बर जोडको थप्पड लगाइदिएँ सलिलको गालामा र निस्किएँ सनमको कोठाबाट ।
त्यो रातदेखि सलिल र मेरो मित्रता सधैँका लागि अन्त्य भयो । तर सनमसँगको मित्रता भने टुटेन । हामी दुईजना यौन र प्रेमका बारेमा मात्रै कुरा गथ्र्याैं । रातमा भिडियो च्याटमा पनि त्यै विषयमा कुरा हुन्थ्यो ।
एकरात भिडियो च्याटमा सनमले भनिन् –विवेक रमासँग सहवास गर्दा कस्तो गथ्र्याै महसुस हुन्थ्यो ?
‘तिमी महसुस गर्न चाहन्छौ ?’
‘उम ।’
‘त्यसो हो भने माथिको लुगा निकाल पहिले ।’
उनी मुस्कुराइन् । अनि लजाउदै लुगा निकालिन् । टाइट स्पोर्ट ब्राले छोपिएको उनको स्तन, सेतो शरीर, घाँटी, नशालु ओठ अनि लाज र चाहनाले भरिएका उनका आँखा ।
मनमनमा लाग्यो, म यो के गर्दैछु ? उनको विवशताको फाइदा किन लुट्न खोज्दैछु । तत्काल मैले आँखा बन्द गरेँ अनि फेरि खोलेँ ।
‘कस्तो फिल भइरहेछ सनम ?’
लाजले उनका आँखा झुके । टाउको झुकाएरै सानो आवाजमा भनिन् –सलिलले थाहा पाइन् भने के गर्ने ?
हत्तेरिका ! बीचमा कहाँबाट फेरि सलिल आई ? मलाई रीस उठ्यो तर भनेँ –सलिलसँग सहवास गर्दा कस्तो फिल भयो ?
‘राम्रो लाग्यो तर आफू जस्तैसँग गर्नु र छोरामान्छेसँग गर्नुमा फरक हुन्छ होला नि !’
यसो भनेर उनले दुईहातले छाती छोप्ने कोशिस गरिन् । अर्धनग्न उनको शरीर धेरैबेरसम्म हेरिरहेँ । मनमा लाग्यो उनलाई ब्रा पनि फुकाल्न भनुँ र मनभरि हेरुँ नग्न उनको रुप ।
‘यतिबेला कस्तो महसुस भइरहेछ भन त ?’
‘लाज, वायिहात, अनि इरिटेटिङ ।’
उनी झर्किइन् र भिडियो अफ गरिन् । म फेरि हिस्स भएँ ।
सनम र सलिलको सम्बन्ध लुकिछिपी चलेकै थियो । तर सनम जहिल्यै बैचैन देखिन्थिन् । उनी अझैँ पनि आफूलाई सलिलको पे्रमिकाको रुपमा स्विकार्न मानिरहेकी थिइनन् । म उनलाई समलिङ्गी सम्बन्ध त्यागेर विपरित लिङ्गी सम्बन्धलाई जोड दिन आग्रह गरिरहन्थेँ । उनी कोशिस पनि गर्थिन् मसँग नजिकिने तर खै ले केले रोक्थ्यो कुन्नि उनलाई ?
एकरात उनले मलाई आफ्नो कोठामा बोलाइन् । सँगै बसेर पियौं, कुरा गर्यौं । रात गहिरिदै गयो, मात चढ्दै गयो । रक्सी र उनको निकटताको मात । उनी भने मातेकी थिइन । सायद रमरम मात्रै भएको थियो होला । एक्कासी उनी मेरो एकदमै नजिकै आइन् । दुबै गालामा बिस्तारै छोएर ओंठमा चुम्बन गरिन् । हाय ! उनको ओंठको स्पर्शले झनै मात्तिएँ म । उनको कम्मरमा चरप्प समाएर उनलाई पनि साथ दिन थालेँ मैले । झण्डै एक मिनेटको चुम्बनपछि उनको लुगा फुकालेँ । उनी हिच्किकिचाइन् तर केही बोलिनन् । त्यसैलाई मैले स्वीकृति सम्झेर उनको सर्ट खोलेँ । स्पोर्ट ब्राले छेक्न नसकेको उनको जवानी हेरेर मोहित भएँ म । थुप्रैबेर हेरिरहेँ । शरीर झनै रोमाञ्चित भयो । आफूलाई थामिनसक्नु भएर आयो । उनको ब्रा पनि निकालिदिएँ । अब उनको नाङ्गो रुप मेरो अघि थियो । अंगालोमा बाँधेँ उनलाई ।
बिस्तारै उनको हात, पाखुरा, घाँटी हुँदै जब उनको वक्षमा चुम्न लागेँ उनी रुन पो लागिन् । अहो ! चिसो भयो मन । उनीलाई आपूmबाट अलग्याएर हेरिरहेँ । उनलाई हेरिरहेँ । किन रोइन ? जबरजस्ती त गरेको छैन । थुप्रैबेरपछि उनले लुगा लगाइन् अनि फोन कानमा लगाएर भनिन् –सलिल आइ लव यु ।
त्यसपछि सलिलले के के भनिन् थाहा भएन । फोन राखेर छेउमा बसिन् । भन्नुपर्ने, सोध्नुपर्ने थुप्रै कुराहरु थिए । तर चुपचाप बसिरहेँ । झण्डै पाँच मिनेटपछि ढोका बज्यो । यो सलिलबाहेक अरु को हुनसक्छ ? ढोकामा साँच्चै सलिल थिइन् । सनम हुर्रिदै गएर उनको अंगालोमा बाँधिइन् । सलिल मतिर ठूलाठूला आँखाले हेर्दै उनलाई सुम्सुम्याइन् ।
उनको रुवाइ कम भएपछि सलिलले भनिन् –तिमीहरु यहाँ के गर्दै थियौ ?
सनमले एकएक घटना बेलिबिस्तार लगाउदै गइन् । सनमको कुरा सुन्दै जाँदा सलिलको अनुहारको भाव बिग्रदै गयो । सनम र मलाई पालैपालो हेर्दै दाह्रा किट्न थालिन् । सनम डराएर कुरा बिचैमा रोकिन् ।
सलिलले ठूलो स्वरमा भनिन् –तिमीले स्वीकार्न नसकेको मलाई कि आफूलाई ? ठीक छ सनम, तिमीले मलाई स्वीकार्न नसकेकी हौ भने तिम्रो मेरो सम्बन्ध सधैँका लागि सकियो । तिमी को हौ के हौ भन्ने तिम्रो खोज हो भने खोजिराख । तर यसरी तिमीले आफूले आफूलाई कहिल्यै भेटाउने छैनौ । उल्टै कुनैदिन कहिल्यै निस्कन नसक्ने गरी दलदलमा फस्नेछौ । सनम तिमीले आफूले आफूलाई स्विकार्दैनौ भने तिमीलाई कसैले पनि स्विकार्ने छैन ।
यति भनेर सलिल कोठाबाट बाहिरिइन् । सनम रुन थालिन् । उनको काँधमा बिस्तारै छोएर भनेँ –सनम नरोऊ न । जिन्दगीमा प्रेम, यौन र प्यास भन्ने कुरा दिगो हुँदैन । नपत्याए हेर न केही अघिसम्म हामी दुई उत्तेजनाको चरम बिन्दुमा थियौं तर अहिले केही पनि छैन ।
सनम झनै भक्कानिएर रुन लागिन् । गह्रुगो भयो मन । नरोउँ भन्दाभन्दै म पनि उनीसँगै रुन थालेँ । तर म किन रोएँ ? उनको रुवाइले पगालेर या धेरै नजिक आएर उनलाई पाउन नसकेर ? या उनी कहिल्यै अरु यूवती जस्तो कुनै पुरुषलाई पे्रम गर्दिनन् भन्ने जानेर ? के मैले उनलाई पे्रम गरेर गलत गरेँ ? अँह, प्रेम कसरी गलत हुनसक्छ ? उनले गर्दिनन् तर म त गर्छु नि ।
आँसु पुछेर मैले भनेँ –सनम नरोऊ न यार । आँसु झार्नु मात्र समस्याको समाधान होइन ।
रुँदै उनले भनिन् –बिवेक म किन यस्तो छु ? किन म खुशी हुन सकेको छैन ? सलिललाई छोड्न पनि सक्दिन उनीसँगै रहन पनि सक्दिन । उनलाई धोका दिन्न भनेर प्रण गर्छु तर फेरि आमाबा, यो समाज र आफ्नो बारेमा सोंचेपछि म पुरुषसँग सम्बन्ध कायम गर्न लालायित हुन्छु । म मात्रै किन यस्तो छु ? म प्रेम गर्न चाहन्छु पुरुषलाई, बिहे गर्न चाहन्छु । आमा बन्न चाहन्छु ।
के भन्ने मैले ? चुपचाप सुनिरहेँ उनलाई । उनी बोल्दै गइन् –सेक्सुवालिटीको तिखो प्रश्नले मलाई घोचिरहन्छ । म कसरी बुझाउँ आमाबालाई कि म एउटी यूवतीलाई पे्रम गर्छु । म न आफ्नो पहिचान लुकाउन सक्छु न सबैलाई देखाउन सक्छु । म आपूmलाई त बुझाउन सक्दिन म को हुँ भनेर आमाबा र यो सिङ्गो समाजलाई कसरी बुझाउन सक्छु यार ?
‘तिमीले किन प्रष्ट्याइरहनु पर्यो तिमी को हौ भनेर ? किन बुझाइरहनु पर्यो सबैलाई ? तिम्रो सेक्सुवालिटीको बारेमा दुनियाँलाई किन बताइरहनुपर्यो।’
‘कस्तो कुरा गरेको विवेक तिमीले ? मेरो सेक्सुवालिटी मेरो पहिचान हो । पहिचान लुकाएर म कसरी बाँच्नु ? प्रेम र सम्बन्ध सधैँ लुकाएर लुक्दैन बुझ्यौ ?’ –बोल्दाबोल्दै आवाज अलि मधुरो गरेर फेरि भनिन् –‘मलाई सलिलको पे्रमिकाको रुपमा कसले स्वीकार्छ ? हुन त सलिल त अब मलाई फर्केर किन हेर्छिन् र ? उनलाई मेरो पहिचानसँग के सरोकार ? उनलाई त म चाहिएको छ केबल यौनसाथीको रुपमा ।’
उनको अन्तिम वाक्यले चसक्क बिझायो । के सनमले मेरो बारेमा पनि यस्तै सोंच्छिन् ? अहो ! उनले मेरो बारेमा यस्तो सोंचेकी रैछ भने ?
उनी बोलिरहिन् –घर जान सक्दिनँ । आमाबा र दाइले बिहे गर् कि गर् भनेर बसिखप्न दिनुहुन्न । दाइ त झन् दिनहुँ फोनमा झगडा गरिरहन्छ बैंस र उमेर त्यसै खेर फालिस् भनेर । उहाँलाई म काठमाडौं बसेको मन परेको छैन । अभिभावक र आफ्नो नजिकका मान्छेलाई इन्कार गरेर बाँच्न जस्तो मुस्किल के छ भन त ? दुनियाँसँग त बहस या झगडा गरेर सकिन्छ तर आफ्नासँग कसरी बहस गरेर सक्ने ?
‘झगडा किन गर्नुपर्यो त ? सानै भएपनि काम गर आनन्दले बाँच ।’
‘अँ, तिमीले भने जस्तै सजिलो छ नि । बैंसका रातहरु एक्लै काट्न सकिन्न । लुकाएर पनि कतिञ्जेल लुक्छ र सम्बन्ध ? आमाबा टाढा भएपनि भाडामा बस्ने दिदीभाउजू या दाइभाइहरुको आँखाबाट कसरी लुक्छ ? काठमाडौं भनेको मात्रै हो यहाँ त झन् मेरो गाउँमा भन्दा पुरानो सोंचको मान्छे बस्छन् । के गर्छन् कसो गर्छन् भनेर चियो गरिबस्छन् ।’
केही भन्नै आएन मलाई । उनी उठेर दुईवटा गिलास निकालेर बियर खन्याइन् । र फेरि पिउन थालिन् । म नपिइकन उनलाई हेरिरहेँ । कति मादक उनका आँखा, चुमिरहुँ जस्ता रसिला ओंठ । सनमसँगको आकर्षण किन घट्दैन मेरो ? थुप्रै केटीहरुले आकर्षित गरे मलाई । तर रमा र सनम बाहेक कसैप्रति पनि यति लामो आकर्षण कायम रहेन ।
उनले पिउदै भनिन् –समलिङ्गीहरु पनि प्रेम या बिहे गर्छन् भन्ने कुरा नै मेरा लागि एकदमै नयाँ हो । सलिलसँग भेट हुनु अघिका केटीसाथी क्षणिक आकर्षण थिए । सुरुदेखि अहिलेसम्म आकर्षण कायम रहेको भनेको सलिलसँग मात्र हो । तर उनी पनि मलाई छोडेर गइन् यार । उनी बिना म कसरी बाँच्ने ?
बोल्दाबोल्दै रुन लागिन् । रोओस् रातभरि, रुँदारुँदै थाकोस् र निदाओस् मेरै काँधमा । कमसेकम ब्युँझेपछि मन त हलुका हुन्छ ।