November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

“पेरेङ्गे चेप र नागबेली सपना” पढेपछि …

योङ्हाङ् प्रदिप लिम्बु
२०८२ कार्तिक १

1.8K

“पेरेङ्गे चेप र नागबेली सपना” कवि सन्जित फलानाको कृति हो । जसमा ४१ वटा कविता रहेका छन् । एकछिन् आफैसँग, म भित्र ननिभ्ने दियो छ प्रेमको, सडकबहादुर र खमारीको रुख गरी ४ वटा खण्डमा कविताहरूलाई राखिएको छ । मौलिक र स्थानीय बिम्बहरूको प्रयोग, आफ्नै प्रकारको लेखनशैली, उनको कवितामा पाइन्छ । सङ्ग्रह दोहो¥याएर पढिसकेपछि केही लेखौँ लाग्यो । सङ्ग्रह पढ्दै गर्दा र पढिसकेपछि जे अनुभूत भयो त्यही इमान्दार साथ एउटा पाठकीय दृष्टिकोणबाट लेख्न मन भयो र “पेरेङ्गे चेप र नागबेली सपना” सँग अक्षरहरू मार्फत मेरो यात्रा सुरु भयो ।

कवि सन्जित फलानाको बाल्यकालको समय ईलाम जिल्लाको माङ्सेबुङ भन्ने ठाउँमा बित्यो । त्यतिबेलै बाट म उनलाई थोरबहुत चिन्दछु । उनी त्यतिबेला फलाना भै सकेका थिएनन् । माङ्सेबुङ् धार्मीक र अध्यात्मिक रुपमा महत्वपूर्ण ठाउँ हो । भौतिक पूर्वधारको दृष्टिकोणले अझै पनि सबै सुबिधा पुगि नसकेको अवस्था छ । झन् कवि जी बालक छँदा त बाटोको दुःख उस्तै थियो, बिजुली थिएन, अरु अरु भौतिक सुविधा त परको कुरा आधारभूत सुविधाको पनि अभाव उस्तै हुन्थ्यो । त्यतिबेला साँझको समय माङ्सेबुङ्बाट तलतल दक्षिण तिर हेर्दा रतुवाखोला नागबेली चालमा सुसाइरहेको हुन्थ्यो र दमक झलमल्ल उजेलिरहेको हुन्थ्यो । एउटा आकाश उधोँ छ, ताराहरू उधोँ तलतिर पो लागिरहेका छन् जसरी हामी केटाकेटी त्यसैत्यसै रमाउँथ्यौँ । सायद थाहा नपाई सपनाको एउटा जुनकीरी त्यतैबाट आयो होला कवि जीको आँखासम्म । उतिबेला हिँड्दै दमक झर्नु प¥यो भने माङ्सेबुङ्को पुच्छार नेरको मझुवाको बाटो चुरे पहाडका फेद हुँदै झर्ने गरिन्थ्यो । खासमा त्यो मान्छेले भन्दा पनि त्यही मझुवा खोलाले बनाएको बाटो हो । त्यो चेपको बाटो त्यति धेरै त होइन करिब पन्ध्र/बिस मिनेट मझुवा दोभान ननिस्किएसम्म हिँड्नुपर्छ । सपना देख्दैदेख्दै पहाडको चेपैचेप रतुवाको नागबेली चालसँगै…कविजी पनि पक्कै हिँडे होलान् । यही स्मृतीलेनै यो सङ्ग्रहको नाम “पेरेङ्गे चेप र नागबेली सपना” रहन गयो होला कि ?
यो सङ्ग्रहको नाम किन र कसरी रहन गयो? त्यस बारे कविको आफ्नै सोचाइ र विचार पक्कै छ । तर कवि सँगको चिनजानले मेरो सोचाइमा सङ्ग्रहको नाम यसरी रहन गयो होला भन्ने लाग्यो ।

एकछिन् आफैसँगः
यस खण्डमा दसवटा कविता रहेका छन् । यस खण्डका अधिकांश कवितामा कविले आफैलाई हेर्दा जे देखे त्यही कुरा आएको छ । अर्थात सेल्फ पोट्रेट कविताहरू छन् । कवि फकिरिजमलाई धेरथोर रुपमा मान्दछन् । फकिरिजममा संसारिक मायामोहको ठाउँ हुँदैन् । फकिरिजममा विश्वास गर्नेहरूको आफ्नै धुन हुन्छ । कुनै पीर र चिन्ता नभए जस्तो । कवितामा त्यही बिन्दासपन आएको छ । त्यही फकिरपन आएको छ ।

Advertisement

बिना कारण

बिना कारण हिँडुँ र नपुगूँ कहीँ पनि
बिना कारण हराऊँ र नभेटिऊँ कहीँ पनि

चाहँदिनँ म सपना सजाऊँ
र आफैलाई तयार गरुँ
चहादिनँ म योजना बनाऊँ
र त्यसलाई पुरा गरुँ

जिन्दगी
नबाँचेको भन्दा अकारण नै बाँचू ।

कहिलेकाहीँ यात्रामा कुनै फकिर जसरी निस्किरहन्छन्, कवि । तर फकिर नै भएर हिँड्न त कहाँ सजिलो छ र? संवेदनाका बतासहरू बाट भागि हिँड्न त्यति सजिलो कहाँ छ र? यही कुरा “रुख” कविताको पहिलो स्टान्जाले भन्दछ ।

एउटा पागलप्रेमी
छाडी गएकी प्रयसीलाई पर्खँदापर्खँदा
चौतारीमा
एकदिन अचानक रुख भयो ।
(रुख,पृष्ठ ६)

“रुख” कविता मलाई सुन्दर लागेको कविता हो । यो कविताको पहिलो स्टान्जा नै आफैमा पूर्ण कविता हो भन्ने लाग्यो । कविता पढ्दै जाँदा एउटा सुन्दर चित्र आँखामा खेल्छ र कविले आफैलाई कवितामा लेखेका हुन भन्ने अनुभूत हुन्छ ।

बिहानीको उदास शीत जस्तो
कहाँनेर खस्यो मेरो हृदयको डोब ?

यो पङ्क्ति “यात्रामा” कविताको पाँचौ स्टान्जा हो । कविता पढ्दै जाँदा यसमा प्रयोग भएको “डोब” शब्द उपयुक्त भएन की भन्ने लाग्यो । अर्थात भाव सन्तुलन भएन की भन्ने लाग्यो ।

यस खण्डमा भएका भट्टी, जाँड पर्व, बटुवा शीर्षकका कविताहरू कम्जोर लाग्यो । भाव सामान्य लाग्यो । शील्प उति खास अनुभूत भएन । यी कविताहरू सङ्ग्रहमा नभएपनि केही फरक पर्दैन थियो भन्ने लाग्यो ।

म भित्र ननिभ्ने दियो छ प्रेमको दियोः
यस खण्डमा पाँचवटा प्रेमिल कविताहरू रहेका छन् । एउटा प्रेमिकाले आफ्नो प्रेमीलाई सम्झिँदै बढो जतन र प्रेमले बुनेको मफलर जति सुन्दर कोमल र न्यानो अनुभूत गराउने हुन्छ ठिक त्यस्तै सुन्दर, कोमल र न्यानो अनुभूत गराउने खाल्का छन्, यस खण्डका पाँचवटै कविताहरू ।

“फुङ्सेन मेलामा छुटेको सोल्टिनी” र “गुराँस र उत्तिसको प्रेमकथा” कविताहरूले नोस्टाल्जिक बनाउँछन् । कविता पढिरहँदा सुन्दर दृश्य मस्तिष्कमा चित्रित भैरहन्छ । आफू त्यो समयमा नबाँचे पनि त्यो समय अनुभूत हुन्छ । यी दुई कवितामा मौलिकपन पाइन्छ । मौलिकपनले नै यी कवितालाई सुन्दर बनाएको छ ।

ए भूतपूर्व प्रेमिका !
मभित्र छ ननिभ्ने दियो प्रेमको ।

यो पङ्क्ति “म भित्र ननिभ्ने दियो छ प्रेमको दियो” कविताको अन्तिम स्टान्जाबाट लिएको हो । यहाँ आफ्नो छुटेको प्रमिकालाई “ए भूतपूर्व प्रेमिका !” भनेर गरिएको सम्बोधन मलाई असहज महशुस भयो । सुरुबाट कविता जुन शिल्पको लयमा बहेको छ, त्यो शिल्प बहाव यहाँ भङ्ग भयो कि? भन्ने लाग्यो ।

प्रतीक्षाको पलेँटी मारेर
अभिसप्त हुँदा तिम्रो दर्शनार्थ
थाहा छैन कति गरेछु
प्रेमको तपस्या ।

“तपस्या” शीर्षको कविताको यो अन्तिम हरफ सुन्दर लाग्यो ।

सडकबहादुरः
यस खण्डमा बाह्रवटा कविता रहेका छन् । कविताहरू सत्ताको दमन विरुद्धको विद्रोही चेतबाट लेखिएका छन् । भुईँ मान्छेहरू, जो आफ्नै धुनमा बाँचिरहेका हुन्छन् । उनीहरूको बाँच्ने आफ्नै लय हुन्छ । यसरी आफ्नै शैलीमा बाँचिरहेका भुईँ मान्छेहरूलाई यो सत्ताले घरि ऐनको सिर्कनाले बिनाकरण हिर्काइ रहन्छ । घरि राष्ट्रवादको बम्फक उझ्याउँछ । सत्ताको यो चरित्रविरुद्ध कवितामा खरो गरि कवि उत्रिएका छन् । सत्ताले निर्माण गरिदिएको छ, राष्ट्रवादको मानक । त्यही राष्ट्रवादको मानकले निर्माण गरिदिएको अर्को मनोविज्ञान छ, जसले एउटै छाला, एउटै जिब्रो बाहेक अरुलाई नागरिक सम्झिँदैन । हामी धेरै कविहरू त्यही मनोविज्ञानले साशित छौँ र कवितामा एउटै छाला र जिब्रोको भजन कथुर छौँ । यस कुरामा कवि फलाना सचेत देखिन्छन् । देश माथि लेखिएको कवितामा भजन आएको छैन् । देशको दुःखद तर सत्य चित्रण आएको छ ।

देश देशजस्तो नभएको त्यसबखत
कस्तो देखिँदो हो सरकारलाई ?
देशको मानचित्रमा
सायद तस्करभन्दा बढ्ता देखिँदैन उसलाई ।
(देशको नक्सामा सरकारको मानचित्र)

देशभित्रै देश खोज्दै
जलाइन्छ राष्ट्रिय झण्डा
तब उसकै ठेलागाडामा आगो लगाइन्छ
सबैभन्दा बढी सन्देह
सबैभन्दा बढी निगरानी
उसैमाथि हुन्छ ।

शायद अब
हिसाबकिताब गरिकन सरकारसँग
ऊ आफ्नै देहात फर्कन्छ ।
(ठेलावाल र देश)

सरकारले वेवास्ता गरेको मधेसको र मधेसीको दुःख कवितामा गज्जबले आएको छ ।

सहर झिलिझिलि मात्रै छैन । सहरको अर्कोपाटो छ । जुन घाम डुबेपछि सुरु हुन्छ । निदाउन लाग्दा सुरु हुन्छ । चुरोट सल्किएपछि सुरु हुन्छ । सडक चकमन्न भएपछि सुरु हुन्छ । कोठामा बत्ती निभेपछि सुरु हुन्छ ।
सिग्रेटको धुँवमा रङमगिँदै
उठ्दैछु म क्याफेको एक कुनाबाट
भर्खर सुसाइड नोट लेखेर
कोही आत्महत्या गर्न खोज्दैछ सहरबाट

अब मैले
सवैप्रथम उसलाई बचाउनु छ ।
(पिडामण्डु)

सहरको अर्को पाटो पनि छ फ्रस्टेड र डिप्रेस्ड…। “पिडामण्डु” कवितामा सुन्दर गरि यो कुरा आएको छ ।

कुनैबेला विचार र दर्शन एउटै बोकेर सँगै क्रान्तिमा हिनेका सहयोद्धा साथीहरू, विचार र दर्शनलाई बागमतीमै बगाइ राखेर सिंहदरबार छिरेका छन् । विचार र दर्शन मिल्काउन नसक्ने योद्धाहरू अझैपनि सडकमै छन् । कुनै बेला कुनै बेलाकै सहयोद्धासँग आमनेसामने हुने अवस्था पनि आउन सक्छ । यो भावमा लेखिएको “फिब्वः ख्यःमा” कविता साँँच्चै पावरफूल छ ।

मित्र,
चुप बस्नुभो भने त ठिक छ
नत्र सकार सोच्न थाल्नुभयो भने
जुनसुकै बेला
हाम्रो भेट ठिक यहिँनेर हुन सक्छ ।
“फिब्वः ख्यःमा”

यसखण्डका सपना, भ्यू टावर जस्ता अधिकांश कविता शक्तिशाली छन् । “उचाई”, “प्रेमः एक पासो” कविता चाहीँ कमजोर लाग्यो । “प्रेमः एक पासो” शीर्षकनै समस्या लाग्यो ।

खमारीको रुखः
यस खण्डमा जम्मा चौधवटा कविता रहेका छन् । कविताहरूमा लिम्बुवानको अम्लारी सुगन्ध आएको छ । च्याब्रुङ्को हुङ्कार आएको छ । पाःलाम र ख्यालीको कम्पन आएको छ । थेबा र सुथेबा, युमा र सुयुमाको सग्लो अनुहार आएको छ ।

इतिहास कहन्छ, अरुणपूर्वको नौ जिल्ला कुनैबेला लिम्बुवान भूमि थियो । वि.सं.१८३१ मा नुनपानी सन्धी हुनुअघि सत्रौँ चोटिसम्म तत्कालिन गोर्खा फौजले हार बेहोरेको थियो । छलपूर्वक काङ्सोरेको हत्या गरिएको थियो । त्यही बेलादेखि विद्रोही चेतनाको बतास लिम्बुवानमा अझ बढी चल्न थालेको हो । यसरी विशिष्ट इतिहास बोकेको लिम्बुवानको कथा र व्यथा कवितामा आएको छ ।

खमारीको रुख विशेष कारणले लिम्बुहरूको लागि खास छ । च्याब्रुङ् बनाउनका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यस खण्डको “खमारीको रुख” कविता आफैमा सुन्दर र अर्थपूर्ण छ ।

लिम्बुवानमा माओवादी विद्रोह सुरु हुन अघिसम्म फौदारी प्रवृत्ति थियो । चित्त बुझेन कि पाखुरा सुर्किने यो फौदारी प्रवृत्तिलेनै लिम्बुवानमा केही हदसम्म विद्रोही झिल्को चेतना बचाई राखेको थियो । खोज्दै, सोद्धै जाँदा थाहा हुन्छ सट्टा भर्नाको विरुद्धमा पनि फौदारी गरिएको थियो ।

उतिबेला फौदारी गर्न तम्सिनेहरू कति फौदारी सोमिप्मेको नाउँमा, कति बहादुर हुने चक्करमा पनि गरे होलान् । अहम्को पहाड पनि उभियो होला । कति साथीहरू रिसाए होलान् । यसो हातका खतहरू हेर्दा कहिलेकाहीँ आत्मग्लानी पनि हुन्छ होला । यही प्रसङ्गमा लेखिएको “फौदारे ठूले” कविता बढो कलात्मक छ ।

ए फौदारे ठूले !
चिउँडामा हात राखेर बार्दलीबाट
तल…. तमोरखोला हेर्दै कति टोलाइरहन्छौ
अब तमोरको पानीजस्तै
बगिगएको तिम्रो जिन्दगी पनि फर्किने छैन ।
(फौदारे ठूले, पृष्ठ ८१)

मलाई लाग्छ, कविताले पाठकलाई आफूसँगै यात्रा गराउन सक्नु पर्छ । पहाडको सिरानमा पुगेर परपर देखिने आनन्दको दृश्यहरू र यात्रा भरी अनुभूत हुने रोमाञ्चकता, आनन्द जतिकै महशुस गराउने हुनुपर्छ । त्यस्ता कविता मलाई सुन्दर लाग्छ । यस खण्डका अधिकांश कविता त्यस्तै छन् ।

अग्लिएर जङ्गली लहरासँग
हुर्किएर तरुलको झ्याङ्सँग
उमेर घरि घर त घरि वनतिर अल्झिरहन्छ ।

यो कवितांश “सपना थुनिएको गाउँबाट” भन्ने कविताको हो । यो कविताको भाव औधी सुन्दर छ । शील्प उतिकै सुन्दर छ । मेरो दृष्टिकोणमा यो कविताको शीर्षक कविताको भाव अनुसार अलि सान्दर्भिक भएन की ? वा भनौँ कलात्मक कविताको कलाविहीन शीर्षक भन्न पनि सकिएला ।

प्रदेशको नामकरणको सवालमा पूर्वको चौध जिल्लामा खुब किचलो भयो । निक्कै समय आन्दोलन भयो । “नामनै त होनी, नामले भात खान दिने होइन । जे राखे पनि हुन्छ ।” भन्ने प्रकारका बक्वास तर्कपनि जिम्मेवार पदका व्यक्तिहरू बाटै आएको थियो । यही प्रसङ्गमा लेखिएको हुनुपर्छ “नाम” शीर्षकको कविता ।

नाम फेरि भाष्य बन्छ
जस्तो कि विकास समृद्धि
र भत्काउँछ मिथक
नामले पनि सभ्यता मार्छ
नामले पनि इतिहास बदल्छ ।
(नाम,पृष्ठ ९५)

आमा माथी लेखिएको “बुलाकीको मुचुल्का” कविता साह्रै भव्य लाग्यो । यो कविता निक्कैपटक, सायद पाँचपटक भन्दा बढी पढेँ । जतिपटक पढेँ, उति पटकनै भावुक भएँ । थुप्रै चोटी आमाको गहना साहुकोमा जाकटी बसेको र यताउता जाँदा गहना बेगर हिँड्न परेको दुःखद सम्झना र अनुभुतिहरू म सँग पनि छन् । अझ बुलाकी त सँधैभरी लगाइरहने गहना हो । त्यो गहनानै धितो राख्नु पर्ने र उकास्न नसकिने अवस्था पनि जिन्दगीमा आउँछ । ओहो ! यो जिन्दगी पनि …………..

तङ्नाममा पाःलाम नाच्दा
कति छामिन् बुच्चो नाक
र सम्झिइन छोइ नसक्नु सुनको भाउ ।
(बुलाकीको मुचुल्का, पृष्ठ १००)

यस खण्डका “आम्बोः बाय नोस्टाल्जिया”, “आदिवासी डाँडा”, “ढाक्रेबर” जस्ता कविताहरू पनि उतिकै सशक्त र कलात्मक छ । यी कविताहरू मलाई मन परेका कविताहरू हुन् ।

फलानाको कविता लेखन शैली आफ्नै किसिमको छ । रैथाने स्वाद कवितामा मज्जाले पाइन्छ । कल्पनाका चरामा कम उडेका छन् । आफूले स्पर्श गरेको माटोको सुगन्ध छ । आफू बाँचिरहेको समाज, समुदाय, बाटो र गल्लिहरूमा छरपस्ट मुद्धाहरूमा कविता लेखेका छन् । यो सुन्दर कुरा हो । यति हुँदाहुँदै पनि जाँड पर्व, बटुवा, समय–चक्रः एक कोरोना कविता, सडकका कुरा जस्ता कविताहरूमा कविले कम काम गरेको अनुभूत भयो ।

अन्त्यमा,


उनिउँ पातले आँखा छेक्दा
जता हेरे नि हजुर देख्दा

सिमल हाँगा पो खसिगयो
कसरी माया पो बसिगयो

यो ख्यालीका हरफहरू जस्तै सुन्दर र यसले बोक्ने लय जस्तै अर्थपूर्ण कविता सङ्ग्रहको लागि कविलाई हार्दिक बधाई छ । हामीसँग आ–आफ्नै दृष्टिकोण छ । यसैले हाम्रो सत्यहरू पनि फरक होलान् । हाम्रो असत्यहरू फरक होलान् । धन्यवाद ।