November 3, 2024, Sunday
२०८१ कार्तिक १९
1:37:26 pm

मलाई हजुरको विर्य दिनुहुन्छ ?

11.7K

कानै खाने गरी फोन बजिरह्यो । फोन काटे अनि फेरि निंद लम्ब्याउने कोशिस गरेँ । तर फेरि फोनको घण्टी बज्यो । झर्किदै फोन उठाएँ ।
‘यति बिहानै को बोल्नुभयो ?’
‘बिहानै ? नौ बजिसक्यो महोदय ।’
‘को बोल्नुभाको हो ? म त हजूरलाई चिन्दिन ।’
‘म त हजूरलाई चिन्छु । हजूरको घर स्याङ्गजा, बिगत दश वर्षदेखि काठमाडौमा हुनुहुन्छ । हजूरकी प्रेमिका पनि छिन् ।’
यसो भनेर खिर्र हाँसिन् । अनि फोन राखिन् ।

अपरिचत यूवतीको खिरिलो आवाजले निद्रा यसै हरायो । मन नलागी नलागी उठेर ग्याँसमा चिया बसालेँ । चिया उम्लिन थाल्यो । झन्झन् गाढा हुँदै गएको चिया हेर्दै अपरिचित आवाज चिन्ने कोशिस गरेँ । परिचित मध्येकै कोही हुनुपर्छ । नत्र उनलाई मेरो प्रेमिका पनि छे भन्ने कुरा कसरी थाहा हुन्थ्यो । प्रेमिका छे भन्ने कुरा दुइचारलाई बाहेक आमाबालाई पनि थाहा छैन ।

उनलाई फोन गरेर को हो भनेर सोधुँ ? या उनको फोन आउने क्षणको प्रतिक्षा गरुँ ? हो यसै गर्नुपर्ला । उनले पक्कै फेरि फोन गर्नेछिन् । त्यसबेला उनको बारेमा सबै सोध्नेछु ।

Advertisement

तर थुप्रै दिनसम्म उनले फोन गरिनन् । कोही कसैले किन साधारण मान्छेलाई अनावश्यक सताउछ ? कि रमाको कोही साथीले अनावश्यक जिस्काउन फोन गरेका थिए । कसैले मलाई चिनोस् म नचिनु, यस्तो त हुन सक्दैन । हुन त म मान्छेको दिमागमा बसिरहने खालको मान्छे होइन । मान्छे मलाई आज चिन्दछन् अर्काे भेटमा बिर्सन्छन् । म पनि कत्ति न मान्छे सम्झिइरहने खालको हुँ र ?

तीन दिनपछि उही नम्बरबाट फोन आयो । एकछिनका लागि त नउठाउँ जस्तै लाग्यो । मनले भन्यो –फोन उठाउदैमा तेरो के जान्छ र ? कसैलाई जिस्कन जिस्काउन मन लागेको होला । तँ पनि जिस्किदे ।

‘म सुन्दैछु, के सेवा गरम हजूरलाई ?’
उता खिर्र हाँसेको आवाज आयो ।
‘अहो ! सेवा ? अरुको सेवा गरेको प्रेमिकालाई मन पर्दैन होला ।’
‘उनको अगाडि हजूुरको सेवा कहाँ गर्छु त ।’
उनी हाँसिन् । र भनिन् –सेवा गर्न तयार हुनुहुन्छ होइन त ?
‘भनेर हेर्नु न । सेवामा जहिल्यै हाजिर छु ।’

उनले फोन राखिन् । उनको बारेमा सोधुँला भनेको थिएँ भुसुक्कै बिर्सेछु ।

फुर्सदमा यसो जिस्कनु दिनचर्या बनिसकेको थियो । उनको नाम ठेगाना केही थाहा थिएन । फेसबुकतिर पनि जोडिएका थिएनौ । उनको हाँसो, बोली मनपर्न थालेको थियो । उनी फोन गर्थिन् तर बोल्दाबोल्दै कुरा अपुरो छोडेर फोन राख्थिन् ।

चकमन्न रात, गाउँ आएको थिएँ । आमाबा सुतिसक्नुभएको थियो । त्यही अपरिचित नम्बरबाट फोन आयो ।
‘खोइ, मलाई बाहिरको जून देखाउनु त ।’
‘शहरतिर के जून उदाउनु नि । उता गाउँतिर भए देखाउथेँ ।’
‘त्यै शहरको भए पनि देखाउनु न त । शहरतिर जून नउदाउने हुँदैन होला केरे ।’
‘जून उदाउन त उदाउँछ नि । तर गाउँलेलाई पो जूनको महत्व हुन्छ । भित्र कोठामा बसेर के को जून देखाउनु नि ।’
‘झ्यालबाट भएपनि शहरको जून हेरिहालुम न ।’
उनले जिद्धी गर्न थालिन् ।
‘आउनु न त सँगै बसेर जून हेरम्ला ।’ –मैले भनेँ ।
‘कत्ति न’ भनेर उनी हाँसिन् । अनि भनिन् –कहिले फर्कनुहुन्छ काठमाडौं ?

हँ, यिनलाई म गाउँ आएको कुरा पनि थाहा छ । अब भने यिनी अपरिचित हुन् भन्ने कुरामा बिश्वास लाग्न छोड्यो ।
‘हजूरले बोलाइहेर्नु न भर्खरै उडेर आइहाल्छु ।’
जवाफमा हाँस्दै बाइ भनिन् ।
ओछ्यानमा पल्टिएर चिनजानका यूवतीहरुको आवाज सम्झिने कोशिस गरेँ । रमाका साथीहरुको आवाज पनि सम्झिने कोशिस गरेँ । तर उनको आवाज चिनजानका कोही यूवतीको जस्तो लाग्दैलागेन ।
दुइ महिनासम्म यही क्रम चल्यो । पछि मैले उनको फोन उठाउनै छोडिदिएँ । पाँच दिनसम्म लगातार फोन बजिरह्यो । छैंठौ दिनबाट बज्न छोड्यो ।

सातौं दिनको दिन अपरिचित नम्बरबाट फोन आयो । उठाइन । पक्कै उनकै हुनुपर्छ । तर फोन लगातार बजिरह्यो । उनको फोन नभएर अरु कसैको जरुरी कल होला भन्ने ठानेर उठाएँ । साँच्चै जरुरी नै रहेछ । ट्याक्सी लिएर अस्पताल पुगेँ ।
‘खै कसलाई चाहियो मेरो सहयोग ?’
सलिल हाँसिन् । सलिल अर्थात सलिल शर्मा । उनी मेरो घरबेटीकी छोरी हुन् । मेरो जिन्दगीको अघोषित सल्लाहाकार, नर्स अनि साथी पनि हुन् । उनले कुर्सीमा बसिरहेकी यूवतीतिर औंल्याउदै भनिन् –उहाँलाई तिम्रो सहयोग चाहियो रे ।
मैले त्यो यूवतीतिर ध्यानै नदिइ सलिललाई भनेँ –तिमीले किन नयाँ नम्बरबाट फोन गरेकी ?
‘यो पुरानै नम्बर हो । म दुइ ओटा नम्बर चलाउछु ।’
ए भन्दै त्यो यूवतीतिर फर्किए म । तिनी बिरामी जस्तो त लाग्दैन । स्वस्थ छिन् । तर तिनको अनुहार उदास देखिन्छ । सायद कोही आफन्तका लागि होला ।
सलिलले भनिन् –उनको लोग्ने मोटरसाइकल दुर्घटनामा परेका छन् । रगत चाहियो तिम्रो ।

चौथो पटक, हो चौथो पटक मैले रक्तदान गरेँ । मलाई जोखिम मनपर्छ । जस्तोः बञ्जी हान्नु, काठमाडौंको ब्यस्त सडकमा साइकल कुँदाउनु, र शरिर सुक्ने गरी रगत रित्याउनु । तर यो रित्तिदैन ।
पढाइ त्यागेको पाँच वर्ष भयो । घरबाट खर्च आउन छोडेको पनि पाँचै वर्ष भयो ।ं जागिर छैन । तर खर्च कसरी चल्छ भनेर सोध्छन् साथीहरु । खर्च गर्न पो गाह्रो छ । खर्च चलाउन के को गाह्रो ? त्यो त महेशसँग मागेर चल्छ, घरबेटी आमासँग पैंचो मागेर पनि चलाउछु, रमासँग मागेर पनि चल्छ । कहिले काँही भोकै बसेर पनि चल्छ । जिन्दगीमा चल्नु महत्वपूर्ण हो ।

रातको नौ बजे, उही नम्बरबाट फोन आयो । कसै कसैसँग कस्तो नजानिदोँ लगाव हुन्छ । जसको फोन नउठाएर सताइरहेछु यता म पनि त तड्पिइरहेछु । कसैसँग दुइचार मिनेट बोल्दैमा किन मन हलुङ्गो हुन्छ ? देखभेट भएको छैन तैपनि बोल्न नपाउँदा किन अतालिन्छ मन ? फेरि किन फोन उठाउन मन लाग्दैन ? के ले रोकेको छ उनको फोन उठाउन ? रमाले ? रमालाई त उनको मेरो कुरा हुन्छ भन्ने पनि थाहा छैन । कुनै यूवतीसँग फोनमा बोल्दा रमासँग डराउनुपर्छ ? फोनमा बोल्नु, यसो जिस्कनु के अपराध हो ? होइन भने उनको फोन उठाउन किन हिच्किचाइहरेछु ? उनको फोनको प्रतिक्षा गरिरहँदा किन लाग्छ, फोन नआइदिए हुन्थ्यो । रमासँग भएको बेला झन् कहिल्यै नआएहुन्थ्यो ।

दोस्रो पटक फोनको घण्टी बज्यो । उठाइन, तेस्रो पटक बज्यो उठाइन । चौथो, पाँचौं, छैठौं सातौं…पटक मात्र होइन पटक पटक बजिरह्यो । उठाइन ।
भोलि बिहानै फेरि फोनको घण्टी बज्यो । अनि बजिरह्यो । दुइ खुट्टा बीचमा सिरानी च्यापेर निंद लम्ब्याउने कोशिस गरिरहेँ । फोन बज्न छोडेपछि फेरि ढोका बज्यो । पक्कै सलिल हुनुपर्छ । बिहान बिहानै धेरै नसुत भन्दै आउँछिन् । उठेर ढोका खोलेँ । साँच्चै सलिल रैछिन् ।
‘बाको फोन किन नउठाको तिमीले ? पसलमा जाऊ रे ।’
यति भनेर उनी गइन् ।
फोन गरेर सताउने त्यै यूवती होला भनेको त घरबेटी बाको फोन पो रैछ । हिस्स पर्दै मन नलागी–नलागी उठेर पसलमा गएँ । सलिलको बाको पसल, जहाँबाट सामानहरु घरघरमा डेलिभर गर्ने काम गर्थेँ । घरघरमा सामान पु¥याइदिएको सट्टामा छुट्टै पैसा पाउँथेँ । सलिलको बाको पसल कुर्नु, घरघरमा सामान पु¥याउनु मेरो काम हो । तर जागिर होइन ।
सलिलको बाले रुखो आवाजमा भने –तँलाई चौध घण्टा सुतेर पुग्दैन केटा ? फोन किन नउठाको ?

चुपचाप साइकलमा ग्याँस राखेर बुढाले दिएको ठेगानामा पु¥याएँ । भर्खर भाडामा बस्न आएकी रहेछिन् एउटी यूवती । दालचामल, नुनतेल लगाएतका सामानहरु पालैपालो साइकलमा ओसारिदिएँ । एउटा मान्छेका लागि पनि कति धेरै सामानको जोहो गर्नुपर्छ । उसो त मैले पो उनलाई एक्लै देखेँ । पक्कै उनको लोग्ने पनि साथमा होलान् ।

त्यही साँझ पुनः फोन आयो । उठाएँ । उनले भनिन् –रिसाउनु भयो नि ।
‘यति राम्रो मान्छेसँग पनि रिसाउँछु होला त ?’
सुनेर उनी हाँसिन् । अनि लगत्तै फोन काटिन् । ल है राखेँ पनि नभनिकन किन राखिन् होला ? उनले त यसरी फोन राख्छिन् । तर मलाई मनपर्दैन । कारणरहित फोन गर्नु र फेरि उत्तिखेर राख्नुको कारण के हो ? रमाइलोका लागि कसैलाई सताउनु राम्रो हो ?

मैले उनको नम्बर डायल गरेँ । स्विच अफ पो भन्छ । भर्खर पाँच मिनेट अघि कुरा भएको थियो उनीसँग ।
भोलिपल्ट पनि नम्बर डायल गरेँ । अफ थियो । राती पुनः फोन आयो । हतार हतार सोधिहालेँ –हजुर बिना काम किन फोन गर्नुहुन्छ ?
अलि रुखो भएछ क्यारे सोधाइ । उनी बोलिनन् । त्यही कुरा पुनः अलि नरम भएर सोधेँ । बल्ल उनले भनिन् –माफ गर्नुहोला । हजुरलाई रीस उठाएँ मैले । मलार्ई हजुरको एउटा सहयोग चाहिएको छ ।
‘यत्रो महिनादेखि एउटा सहयोगका लागि फोन गर्नुभाको हजुरले ? यो कुरा त पहिल्यै पनि भन्न सक्नुहुन्थ्यो ।’
उनले सुस्तरी भनिन् –हजुरको स्पर्म दिनुहुन्छ नि ?

हँ ? स्पर्म ?
दिमाग घ्याच्च भयो । मानौं, ढुङ्गामा बजारियो टाउको । टाउको घुमाए जस्तो, दुखे जस्तो कस्तो कस्तो भयो । टाउको समाएर बिस्तारै आँखा चिम्लिएँ ।
उनले फेरि भनिन् –दिनुहुन्छ हुन्न कन्फर्म गर्न भोलि कल गर्छु ।
फोन हातमा लिएर बसिरहेँ । एकछिनसम्म यूवतीको भनाइको आशय बुझ्ने कोशिस गरिरहेँ । तर कसै गरी बुझ्न सकिन । उनले भनेको विर्य अर्थात सन्तान उत्पादनको लागि शुक्रकिट चाहिएको छ । तर अपरिचित यूवतीले मबाट शुक्रकिट किन चाहन्छ ? अर्थात उनी मसँग केही रङ्गिन रात बिताउन चाहन्छिन् ?
दिमागको घण्टी बज्यो । हो उनी यस्तै चाहन्छिन् ।
भोलिको प्रतिक्षा गरिन । उत्तिखेरै फोन लगाएर भनेँ –हजूर मबाट विर्य नै चाहनुहुन्छ होइन त ? दिइहाल्छु नि । हजूर कहिले चाहनुहुन्छ ?
‘यसको चार्ज पनि त लाग्छ होला नि ?’
‘म त हरपल चार्ज नै रहन्छु । भनिहेर्नु मात्रै ।’
उनी खित्तित हाँसिन् । र भनिन् –होइन होइन मलाई हजुरको स्पर्म चाहिएको छैन । म त्यसै जिस्किएको मात्रै ।
यसो भनेर फोन राखिन्् । म फेरि अर्काे पटक हिस्स परेँ ।

रातभरि निंद परेन । बिहानपख भुसुक्क निदाएछु । सलिलले लगातार ढोका हानेपछि ब्युँझिएँ । उनले फेरि सामानको लिस्ट दिंदै भनिन् –हिजो तिमीले सामान लगेको ठाउँमा सामान पु¥याइदिनु ।
सामान पु¥याएर फर्किने बेलामा यूवती मलाई हेरेर मुस्कुराइन् । म मुस्कुराउँदै पसल फर्किएँ अनि सामान पु¥याउनु पर्ने चार पाँच ठाउँमा सामान पु¥याएपछि साइकल लिएर निस्किएँ ।
आज मलाई कोठामा नफर्किएर पुरै दिन साइकलमै कुँदिरहन मन लागिरहेथ्यो । मनमस्तिष्कमा विर्य दिनुहुन्छ भनेर प्रश्न गर्ने यूवतीको बारेमा पनि सोंचिरहेथेँ । कहीं रमाका साथीहरुले अनावश्यक सताउन फोन गरेका त होइनन् ? कहीं रमाले नै कोही साथीसँग मिलेर परिक्षा त लिइरहेकी छैन ? अहो! यस्तो रहेछ भने त म बर्वाद हुन्छु ।
सडक छेउमा साइकल अड्याएर रमालाई फोन लगाएँ । पहिलो रिङमै फोन उठिहाल्यो ।
‘म तिम्रो रुममा आउँछु है ।’
‘अहिले ? म त साथीकोमा छु अहिले ।’
यति भनेर फोन काटिदिइ । कस्ती केटी रैछे ? प्रेमीसँग कुरा गर्दा पनि तीन सेकेण्डमा फोन काट्छे । यस्तो दयामाया नभएकी पे्रमिका त मेरै मात्र होला । महेशकी प्रेमिका आधारातसम्म पनि फोनमा कुरा गर्छिन् रे । भेट्दा पनि मेरो कालु भन्दै कति लाडप्यार गर्छिन् । मेरी प्रेमिका भने दिनमा एकपटक फोन हुँदा पनि दुइतीन सेकेण्डमा फोन काटिदिन्छे । यस्ती प्रेमिका हुनुभन्दा त त्यै फोनमा बोल्ने यूवतीसँग जिस्कदै जीवन गुर्जानु रमाइलो हुन्थ्यो होला बरु ।
कोठामा फर्किने बित्तिकै त्यै अपरिचित यूवतीको फोन आयो । हतार हतार आत्तिदै सोधेँ –हजूर कति वर्षको हुनुभयो ?
‘हजूरले त बिहे गर्ने मन बनाउनुभयो कि के हो मसँग ?’
यसो भनेर खितित्त हाँसिन् ।
‘यसरी फोनमा मात्रै बोलेर बिहे त कसरी होला र ? बरु यसो फेसबुक ट्विटर या इन्स्टाग्रामतिर जोडिन पाए हुन्थ्यो ।’
‘है यस्तो रहर नगर्नु है । प्रेम्रिकाले मार्छिन् फेरि ।’
‘प्रेमिकालाई फकाइहाल्छु नि ।’
‘भैगो भैगो अर्काको प्रेमी खोस्नु छैन मलाई’ भनेर फेरि हाँसिन् अनि फोन राखिन् ।
उनीसँग अभैm जिस्कने रहर पुगेकै थिएन । साँच्चै किन कोही अपरिचितसँग जिस्कनु परेको मलाई फेरि । काम नपाएर रातबिरात फोन गर्ने तर परिचय नखुलाउने अनि बेतुकका अधुरा कुरा गरेर फोन राख्ने मान्छेसँग किन जिस्कनुपर्छ मलाई ? म फोनमा अपरिचित यूवतीसँग यस्तो कुरा गर्छु भनेर रमाले थाहा पाइ भने के होला ?
धेरै हप्ता फोनमा यसरी नै बिते । घरिघरी ‘स्पर्म त दिनुहुन्छ नि’ भनेर मलाई जिस्काउँथी । म ‘दिन्छु’ भनेर उनलाई भरोसा दिलाए भैंm गर्थेँ । तर अन्त्यमा फेरि हाँसेर पर्दैन पर्दैन त्यसै भनेको भनेर हाँस्थिन् । उनको त्यो कुरा सुनेपछि म उनको लागि मन बहलाउने साधन मात्र रहेछु भन्ने कुरामा झनै बिस्वश्त हुन्थेँ ।
ठीक छ त, उनको लागि म मन बहलाउने माध्यम हुँ भने उनी पनि मेरा लागि त्यो भन्दा बढी त हुँदै होइन । मैले उनलाई जबरजस्ती गर्न लागेको छैन ।
कहिलेकाहीँ म यसै यौनका विषयमा कुरा गर्थेँ । तिनी त्यसमा लजाइलजाइ दुइचार कुरा थप्थिन् । साँच्चै यत्रो वर्ष गर्लपे्रmण्ड रहेकी रमाले कहिल्यै यौनका बारेमा खुलेर कुरा गरेकी छैन । जब म कुरा त्यतातिर मोड्छु रमा रातो अनुहार बनाउँछे । म रमाको लजालु अनुहार हेरेर झनै मात्तिन्छु । लाग्छ, मान्छे मताउनका लागि अश्लिलताको जरुरत पर्दैन । आफ्ना कुराले लजाएर रातो भैदिए पुग्दोरहेछ । शर्माएर अलिकति आँखा झुकाए पुग्दो रहेछ ।
रमा मेरी गर्लफ्रेण्ड थिइ । अतः उनको लजाउने बानी, केही नबोली आँखाले गरेका इशाराले त स्वाभाविक नै मताउथ्यो मलाई । तर अपरिचित यूवतीले बारम्बार दोहो¥याउने विर्य शब्दले मलाई किन मताउथ्यो बुझ्न सक्दिनथेँ । रमा बाहेक दायाँबायाँ कसरी सोंच्न सक्छु म ?

एकरात उनले कतै डिनरका लागि भेटौं न भनिन् । म उनको कुरामा सहमत भएँ ।
उनीसँग डिनरका लागि जाने कुराले म निकै उत्साहित थिएँ । राती अबेर सलिल ड्युटीबाट फर्किदा उनको पर्खाइमा थिएँ । उनी आउने बित्तिकै भनेँ –भोलि तिम्रो अफ छ नि ?
उनी थकित देखिन्थिन् । मन नपरे जस्तो मलाई हेरेर भनिन् –गेटमा तिमी यही सोध्नका लागि मलाई पर्खेको ?
‘भोलि डिनरडेटका लागि जाँदैछु ।’
मन नलागी नलागी हाँसिन् । अनि भनिन् –रमासँग डिनरडेटका लागि जाँदैछौ । मलाई सुनाइराख्न जरुरी छैन ।
उनी माथिल्लो तल्लामा गइन् । उनको घरको छिंडिमा भाडा गरी बस्नेहरु उहिल्यै निदाइसके । म पनि बिछ्यौनामा गएर पल्टिएँ तर निंद आएन । मनमा अनेक सोंच आइरह्यो । उनलाई भेट्नु अघि यस्तो हाल छ भेटिसकेपछि के होला ? उनलाई देखेपछि त त्यसै फ्रिज हुन्छुु होला । उनी फोनमा त यति मिठो बोल्छिन् । अझ मान्छे देख्दा झन् कस्ती होलिन् । पहिलो भेटमै उनलाई म मन परिन भने ? हे म पनि के सोंच्दैछु ? उनलाई म मन नपरेर के भो त ? उनीसँग जुनी काट्नलाई सम्बन्ध जोड्या हैन मैले । एकदुइ भेट भन्दा बढी सम्बन्ध कहाँ लम्बिएला र ? लम्बिएछ नै भनेपनि बिहे गर्नलाई सम्बन्ध जोड्या हैन ।

भोलिपल्ट डिनरका लागि निस्कनु अघि ऐनामा थुप्रैबेर उभिइरहेँ । अनि दराजबाट लुगा निकालेर कुन लगाउने भनेर सोंचिरहेँ । रमाले कतै निस्कनु अघि त्यसरी नै ऐना र दराजअगाडि उभिएर थुप्रै समय खेर फाल्थी । त्यतिबेला मलाई खुब दिक्क लाग्थ्यो । यो आइमाइका जातले पनि निस्कनु अघि मेकअप र डे«सअपमा किन यति समय लगाउछन् भनेर रीस उठ्थ्यो । तर आज आपूm के लगाउने भनेर दोधारमा परिरहेथेँ ।
छ बजे नै डिनरका लागि तोकेको स्थानमा पुगेँ । अचम्म म पुग्दा सलिल टेवलमा भेटिइन् । त्यो टेवल त मैले हामी दुइका लागि अनलाइन मार्फत बुक गरेको थिएँ । सलिलले मलाई देखेकै थिइनन् । मलाई उनको अगाडि देखिन मन लागेन । यदि उनले म कसैसँग डिनरका लागि आएको छु भनेर थाहा पाइन् भने रमालाई सुनाउनेछिन् । रमाले अरु केटीसँग मेरो सम्बन्ध रहेको थाहा पाइ भने के होला ?
हे, जेसुकै होस् । एक साँझ अरु युूवतीसँग डिनरका लागि जाँदैमा रमा रिसाउँछे भने रिसाइरहोस् । जे होला भन्ने ठानेर म उनको अगाडि उभिएँ । अचम्म परेर ‘हेइ हिरो बनेर यहाँ कसरी तिमी’ भनेर सलिल मुस्कुराइन् ? म ‘अनि तिमी चाहिँ हिरोइन बनेर यहाँ किन’ भनेर हाँसेँ ।
‘तिमी यहाँ भुल्छौ होला हैन ? म गएँ ल ।’
सलिल हतार हतार होटलबाट बाहिरिइन् । बेसै लाग्यो ।

टेवलमा एक्लै छट्पटाइरहेँ । पर्खिनु जस्तो गाह्रो केही नहुँदो रहेछ । म छेउछाउका मान्छेहरुलाई हेर्थेँ । प्रायः जोडीमा देखिन्छन् । उनीहरु पिइरहेका छन्, एकअर्कालाई मायालु आँखाले हेर्दै मुस्कुराइरहेछन् । त्यो देखेर मलाई कस्तो कस्तो भयो । जसलाई केही बेरमा पहिलो पटक भेट्न जाँदैछु उनलाई सम्झेर मन निकै चञ्चल भयो । तर झण्डै सात बज्न लाग्दा पनि उनी आइनन् । यदि उनी आइनन् भने ?…बाँकी अर्को शनिवार

कथाः प्रेमको रङ (पहिलो भाग)
कथाकार: स्वप्निल नीरव