काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताए। आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउएका हुन्।
बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’
सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गरे।
यस्तै, प्रधानमन्त्री प्रचण्डले सबै कलाकार भाइबहिनीहरुलाई विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रबर्धनमा लाग्न म विशेष आग्रहसमेत गरे । विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गर्ने उल्लेख गर्दै आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशहरुको विश्वमा अलग्गै र उच्च अस्तित्व रहने उनले बताए ।