March 14, 2025, Friday
२०८१ चैत्र १
12:32:23 am

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन उच्चस्तरीय भेटवार्तामा व्यस्त

1.7K

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले काठमाडौंमा उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरे ।

द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिँदै नेपाल भ्रमणमा बिहीबार आएका जनरल फ्लिनले शुक्रबार बेलुकी शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा अमेरिकी दूतावासका उपप्रमुख मनुकल पी मिकलर पनि सहभागी थिए ।

उनले नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणको पूर्वतयारीका लागि आएको जानकारी गराएको बताइएको छ । जनरल फ्लिनले नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य रहेको उल्लेख गर्दै यसलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Advertisement

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले नेपाल शान्तिको पक्षमा रहेको तथा शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको अवगत गराउँदै नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा काम गरिरहेको बताएकी थिइन् ।

राष्ट्रपति भण्डारीसँग भेट गर्नुअघि जनरल फ्लिन बालुवाटारमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल र अमेरिकाका सेनाबीचको सहकार्यका बारेमा कुरा भएको थियो । स्रोतका अनुसार राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको निरन्तर योगदानको जनरल फ्लिनले प्रशंसा पनि गरेका थिए ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि जनरल फ्लिन सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए । उनको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारथ दिएको थियो । नेपाली सेनाको अपरेसनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको सेनाले जनाएको छ । त्यसपछि प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

जनरल फ्लिनको हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी हुने, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी आइतबारस्वदेश फिर्ता हुने योजना रहेको छ ।