विराटनगर । उदयपुरमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ । उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको हो ।
बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप चालक त्रियुगा नगरपालिका ९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त जिप गाईघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ।