‘हङकङको जोर्डन मिनी नेपाल हो ।’, यो भनाइ हङकङमा रहेका साहित्यकार दाजु गुरुङको हो । ४२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हङकङमा झण्डै ३० हजार नेपाली नागरिक छन् । सबैभन्दा धेरै नेपालीहरू जोर्डनमा बस्छन् । यहाँका सबै चिनियाँ व्यापारीहरू नेपाली भाषा बोल्छन् । त्यसैले जोर्डनलाई ‘मिनी नेपाल’ भन्ने गरिन्छ । नेपालीहरुको हरेक कार्यक्रम जोर्डनमा हुने गर्छ । प्रायः साहित्यकार, पत्रकार, लेखक, राजनीतिज्ञहरुको बसाई पनि यही ठाउँमा हुन्छ । जसमध्येकी एक हुन्, साहित्यकार बालिका बान्तावा ।
लेख्नलाई त बालिकाले किशोरावस्थादेखि नै कविता लेख्न सुरु गरेकी हुन् । नेपालस्थित झापा जिल्लाको भद्रपुरमा टुसाएको साहित्य हङकङ पुगेपछि मात्रै फक्रिएको हो । फुलेको हो । ‘म एकैपटक धेरै कुरालाई अगाडि लैजानै सक्तिनँ, चाहे प्रेम होस् या काम । विवाह गरेपछि साहित्य छुट्यो, विवाह टुट्यो साहित्य फक्रियो,’ बान्तावा सुनाउँछिन् । जब उनले कामको सिलसिलामा हङकङ टेकिन्, काम गर्न सुरु गरिन् । कामसँगै कलम पनि सक्रिय बन्न थाल्यो । सिर्जनाहरू पत्रपत्रिकामा छापिन थाले । सुरुमा फुटकर कविता, कथा, संस्मरण, लेखहरू छपाउँदै आएकी बालिकाले पहिलो पुस्तकको रूपमा ‘प्याउली’ उपन्यास प्रकाशनमा ल्याएकी छन् । जसको शनिबार (फागुन २४ गते) विमोचन हुँदैछ । ‘प्याउली’ भारत, यूकेलगायतका पाठकहरुमा पुगिसकेको छ । पाठक प्रतिक्रिया आउन थालेका छन् । सकरात्मक पाठक प्रतिक्रियाले उनी दंग छिन् ।
त्यसो त ‘मिनी नेपाल’मै पुस्तक विमोचन गरिएको भए पनि फरक पर्दैन थियो । तर उपन्यासको शीर्षक जस्तै सबैको प्रिय लेखकलाई नेपालका प्रियजनहरू छुटाउन मन लागेन । ‘हङकङमै विमोचन गरेको भए हुने हो, धेरै आफन्त र साथीभाइ नेपालमै भएको हुँदा मन मानेन ।’ आफ्नो छोरीको हातबाट विमोचन गर्ने उनको तयारी थियो । विमोचनका लागि अमेरिकामा अध्ययनरत छोरी नेपाल आउनुपर्ने थियो । दुर्भाग्य उनी आउन नपाउने भइन् । अर्को दुर्भाग्य, छोरीको हातबाट पुस्तक विमोचन गर्दै छोरीलाई सम्बोधन गरेर तयार पारिएको गीत पनि सार्वजनिक गर्नु थियो । बालिकाले छोरीलाई उपहारस्वरूप कोरेको शब्दलाई स्वः विक्रम राईले संगीत भरेका छन् । सुनिता थेगिमले गाएकी छन् । ‘कस्तो दुःखद्, म नेपाल आउनेबेलासम्म विक्रम हामीमाझ रहेनन् । यो घटनाले मलाई अत्तिनै डिस्टर्ब गराएको छ’, उनी दुःख व्यक्त गर्छिन् ।
यद्यपि ‘प्याउली’ पाठकमाझ पु¥याइरहँदा बालिका उत्साहित छिन् । उनी भन्छिन्, ‘पहिलो सन्तान छोरीलाई जन्म दिँदा जति खुशी थिएँ, त्यति नै, अझ फरक सन्दर्भमा बेसी नै पो उत्साहित छु कि जस्तो लाग्दैछ प्याउली जन्मिदै गर्दा ।’
पाँच दाजुभाइको एकमात्र चेली बालिका विवाहअघि सधैं ‘बालिका’ थिइन् । विवाह पछि भने जीवनमा धेरै उतारचढाव आए । भुवा झैं कोमल बालिका जीवनका ती भोगाइहरू, दुःख, धोकाहरू सम्झिएर कहिलेकाहीँ नजिकका साथीभाइसँग अश्रुनदी बगाउँछिन् । ‘मैले चाहेको जिन्दगी यस्तो थिएन । कुनै ठूलो सपना पनि थिएन । आलिशान महल, हिरामोति, सुनचाँदी, सुखशैल केहीको लोभ थिएन । मेरो भागमा प्रेमपूर्ण सुखी परिवार होस् भन्ने लाग्थ्यो । म पूर्ण रूपमा पारिवारिक जीवन बिताउन चाहन्थेँ । विवाहका केही वर्ष त यस्तै जिन्दगी बाँच्यौँ । जब छोरी जन्मिइन्, एकैरात नछुट्टिएका हामी श्रीमानश्रीमती अलग भयौँ । घर बचाउँन म हङकङ आएँ । तर शरीर टाढा भएपछि माया पनि टाढिने रहेछ । दुईवर्ष जति त सम्बन्ध सुमधुर नै थियो । त्यसपछि भने श्रीमानको जीवनमा दोस्रो मान्छे आयो । हामी सधैँलाई छुट्टियौं । सानो छोरी छोडेर हङकङ आएकी थिएँ । छोरीको सुन्दर भविष्यको सपना देख्ने मेरा लागि, छोरीको त्यो बालसुख र माया छुट्यो । त्यसपछि त म १३ वर्ष नेपाल गइनँ । १३ वर्षमा के–के भोगेँ ? त्यो कसैलाई सुनाइनँ, कति आँशु बगाएँ ! सबैलाई देखाइनँ’, उनी उपन्यासभित्रको आफूलाई स्मरण गर्छिन् ।
१३ वर्षपछि दोस्रो विवाह गर्ने निर्णयमा पुगेपछि भने बालिका नेपाल आइन् । विवाह गरिन् । त्यो खुशी पनि पानीको फोका झैं छिनमै टुट्यो । त्यसपछि भने उनी आफ्ना कथा बाहिर ल्याउने निर्णयमा पुगिन् । आफ्नो कथा अरुले पनि पढुन् भन्ने हुटहुटीले जन्मायो ‘प्याउली’ । आफ्नै कथालाई आख्यानको माध्यमबाट भन्ने कोसिस गरेको लेखकको दाबी छ । यस उपन्यासका झण्डै ८० प्रतिशत लेखकको आफ्नै कथा हो । ‘तर उपन्यासमा मैले आफ्नो कथा मात्रै भनेको छैन, मैले बाँचेको समाज पनि छ । समाजका घटित कथा र पात्रहरू पनि छन् । पहाड भोजपुरदेखि मधेस झापा, काठमाडौं र हङकङका प्रसङ्गहरू छन्’, उनले नेपाल मामिलासँग भनिन् ।
कृतिको रूपमा ‘प्याउली’ बालिकाको पहिलो प्रकाशित कृति हो । यसमा बालिका स्वयंलाई पढ्न पाइने प्रसङ्ग माथि उल्लेख भइसकेको छ । बालिकासँग जोडिएर आउने पात्रहरू पनि भेटिने छन् । ‘प्याउली लेखिसकेपछि मभित्रको उकुसमुकुस, पीडा र ऐठनहरू कम भएको थियो । मैले आफुलाई लेखिसकेपछि एकप्रकारको मुक्तीको महसुस गरेकी थिएँ । मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा यही नै हो’, आफू पोखिएपछि राहत महसुस गर्छिन् उनी ।
नेपाली पाठकमाझ उपन्यास पुग्दै गर्दा पुस्तकबाट कुनै ठूलो अपेक्षा नरहेको उनको भनाइ छ । पाठकको हात परिसकेपछिको प्रतिक्रियाबारे भने उनी उत्सुक छिन् । ‘केही कौतुहलता, केही डर र केही उत्सुकता छ’, उनी भन्छिन् ।