लन्डन । नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनवीच भेटवार्ता भएको छ ।अमेरिकाको औपचारिक भ्रमणमा रहेका साउद र नाथनवीच मङ्गलबार भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा उनीहरु बीचमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पारेका थिए । उनले निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए ।
निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखेको जनाइएको छ ।
अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ ।