काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सडक विलापको जगहँसाई नगर्न आग्रह गरेका छन् ।
बुधबार ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले भनेका छन् ‘काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं’ ।’
उनले रास्वपाका सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएर पक्राउ परेपछि रास्वपाले गरेको विरोधप्रति असहमति जनाएका छन् । उनले भनेका छन् ‘स्पष्ट हौं दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो ।’
महामन्त्री शर्माले आफ्नै दलका सांसद संलग्न भएर तयार पारेको प्रतिवेदनपछि रवि लामिछाने पक्राउ पर्दा राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान भएको टिप्पणी गरेका छन् । ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-प्रचलित कानुन बमोजिम कार्वाही गर्नु । तर प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?’ उनले भनेका छन् ।
उनले प्रदर्शनले न्यायालय प्रभावित गर्ने प्रयास गरेको भन्दै प्रश्न गरेका छन्, भ्रमको प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’
गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ ।