कथाकार स्वप्निल निरवको कथा ‘प्रेमको रंग’को दोस्रो अंश…
मोबाइल निकालेर उनलाई फोन गरेँ । तर फोन उठाइनन् । झनै छट्पटी भयो । साँच्चै उनी आइनन् भने ? कहिल्यै नभेटेको, नदेखेको मान्छेलाई कसरी बिश्वास गरेँ मैले ?
दोहोर्याएर फोन गरेँ । यसपटक पनि उठेन । सवा सात पनि भइसकेछ । वरिपरीका केही टेवलमा जोडीहरु भरिभराउ छन् । बाँकी आधा भन्दा बढी टेवल भने खाली नै छन् । म भने एक्लै टेवलमा घरी टाउको झुकाएर, घरी निरास हुँदै उनी आउने बाटोतिर आँखा लगाउदै बसिरहेछु । जति समय घर्किदै जान्छ मुटुको धड्कन अरु तेज हुँदै जान्छ । उनी आइनन् भने म त साँच्चै रुन्छु होला । के उनीसँग मेरो पे्रम भएको हो ? होइन होइन म त रमालाई माया गर्छु । कहिल्यै देख्दै नदेखेको मान्छेसँग कसरी प्रेम हुन्छ ? पे्रम आवाजसँग हुने हो र ?
फेरि फोन गरेँ । यसपटक मोबाइल व्यस्त थियो । साह्रै नराम्रो लाग्यो । कसैलाई यस्तरी त नसताउनु नि ! पर्खाएर एक्लै तड्पाइराख्दा केटीहरुलाई किन खुशी लाग्छ । एक कल फोन गरेर कुनै बहाना पारेर भनिदिनु आउन सक्दिन सरी है भनेर ।
मेरा नजर अझैँ पनि उनी आउने बाटोतिरै सोझिएका छन् । मनले त भन्दैछ, उनी आउँदिनन् तर आँखा भने उनलाई एक झल्को देख्नका लागि लालायित छन् ।
भारी मन लिएर टेवलबाट उठेँ । होटलको बाहिर रङ्गिचङ्गी बेलुन, बत्ती बलिरहेछ । नजिकै स्विमिङ पुलको छेउमा फोटो खिचिरहेछन् एक जोडी । म भने गहु्रङ्गो मन लिएर पाइला चालिरहेछु । होटलको पार्किङ्गतिर मेरा आँखा अझैँ सोझिएका छन् । तिनी गाडी लिएर आएकी रैछिन् भने ? हुन त मसँग फोनमा जिस्कने मान्छे पनि त मजस्तै साधरण होला । बेस्सरी हुनेखाने भए मसँग किन जिस्किन्थिन् र ? आफ्नै मनलाई सम्झाएँ ।
गेटबाहिर जान्छन् आँखा । गाडीवाला नै नभएपनि ट्याक्सी चढेर आउने हैसियतको त पक्कै होला । नभन्दै गेटबाहिर एउटा ट्याक्सी आएर रोकिन्छ । म हुर्रिदै पुग्छु नजिकै । पहेंलो कुर्तासलवार लगाएकी यूवती ट्याक्सीबाट ओर्लिन्छिन् । मुटुको धड्कन बढ्न थाल्छ । छोडिएको कपाल, शरीरसँग टिमिक्क मिलेको लामो कुर्ता, हाते ब्याग अनि हातमा घडी । उनी पक्कै तिनै यूवती हुनुपर्छ । तर तिनको मुहार देखिएको छैन राम्रोसँग ।
तिनको नजिकै पुग्छु, चिने–चिने जस्तो तर परिचित पनि होइनन् तिनी । हेरिरहन्छु तिनी पनि मतिर हेर्दै अघि बढ्दैछिन् । तिनी मलाई हेरेर मुस्कुराएकी छैनन् । नजिकै पुगेर टक्क अडिन्छु तिनी पनि अडिन्छिन् । हेरिरहन्छु तिनलाई । उनले पनि हेरिरहिन् । उनको आँखामा हेरेरै थाहा पाउँछु तिनी मैले पर्खेको यूवती होइनन् । नरमाइलो लाग्यो । दुःखी हुँदै पाइला चालेँ ।
‘विवेक ।’
सधैँ फोनमा बोल्ने मधुर आवाज सुनेर खुशीले पछाडि फरक्क फर्किन्छु । तर त्यहाँ त्यही अघिकै यूवती उभिएकी छिन् । सायद भ्रम भएछ क्यारे । सरी भन्दै फेरि अघि बढ्छु ।
‘ऐइ मान्छे तिमीले मलाई चिनेनौ ?’
त्यही परिचित आवाज । फेरि पछाडि फर्किन्छु । त्यही यूवती जबरजस्ती मुस्कुराउने कोशिस गर्दै मलाई हेर्दै थिइन् ।
‘ऐइ, म सनम ।’
खुशी हुँदै उनको नजिक पुग्छु । अनि मुस्कुराउदै लामो सास फेर्छु । उनको दुबै हात समाएर बोल्छु –तिमी नआएको भए आज म साँच्चै रुने थिएँ ।
उनी हाँसिन् । मलाई भने कस्तो लाज लाग्यो ।बत्तीको रङ्गिन उज्यालोमा उनको अनुहार अभैm चम्किलो देखिन्छ । म लठ्ठ पर्छु । उनी सल समाएर हाँस्दै अघि बढ्छिन् । म उनलाई पछ्याउन थाल्छु ।
टेवलमा कुहिनो टेकाइ च्यापुमा हात अड्याएर उनलाई हेरिरहन्छु । उनी पनि त्यसरी नै मलाई हेर्दै बोल्छिन् –त कस्तो लाग्दैछ ?
मैले मनमनमा भनेँ –सनम प्लिज एकछिन चुप बस न । तिमीलाई हेरिरहन देऊ ।
‘ऐइ, डिनरका लागि आएको कि मलाई घुरिरहन ?’
लजाउदै टेवलबाट टाउको उठाएर उनलाई हेरेँ । साँच्चै उनी किन परिचित जस्तो लाग्छ ?
डिनर सेट आइपुग्छ टेवलमा । म उनलाई हेरिरहन्छु उनी पनि केही भन्न खोजे झैँ मलाई हेर्छिन् । तर सक्दिनन् । भोक छ पेटमा तर खानै मन लाग्दैन । मनमा कस्तो कस्तो हुन्छ । यो कस्तो कस्तो के होला ? के म उनलाई साँच्चै प्रेम गर्न थालेको छु ?
दुबैले राम्रोसँग खान सकेनौं । उनी मुख पुछ्दै टेवलबाट उठिन् । मलाई भने उठ्न मन लागिरहेको थिएन । मैले सोंचेको थिए, फोनमा जस्तै उनी खुलेर बोल्नेछिन् । खित्तित्त हाँस्नेछिन् म थपथाप गर्नेछु, रमाइलो हुनेछ । तर त्यस्तो केही पनि भएन ।
‘सनम ।’
स्वर कपाउँदै पहिलो पटक उनको नाम पुकारेँ मैले । टेवलबाट उठ्नै लागेकी उनी मतिर थोरै झुकिन् । उनको कपाल मेरो अनुहारमा छोइयो । साथै हरक्क उनले लगाएको परफ्युम र यूवती गन्ध मिसिएर आयो । म हुरुक्कै भएँ । के भनुँ नभनुँ भयो ।
‘भन न ।’
उनको भन न शब्द मिठो लाग्यो ।
‘यति छिट्टै जान लागेकी ?’
‘अँ हेर न धेरै अबेर भइसक्यो ।’
मन नलागी–नलागी उठेँ । उनी ट्याक्सी चढेर बाइ भन्दै आँखाबाट ओझेल भइहालिन् । कति निष्ठुरी । फोनमा त्यति धेरै कुरा गर्ने मान्छेले भेटमा भने खास कुरा गरिन् । निरास मन लिएर ट्याक्सी चढेर कोठामा फर्किएँ । ओछ्यानमा पल्टिन लागेको थिएँ फोन आयो उनै सनमको ।
‘ऐइ मान्छे, के सोंच्दैै हुनुहुन्छ ?’
पहिलो भेटको पहिलो कुराकानीमै तिमी सम्बोधन गर्ने सनमको हजूर सम्बोधन सुनेर अमिलो भएँ । यद्यपि हाँस्दै भनेँ –तिम्रै बारेमा सोंच्दैछु ।
यसो भनिरहँदा मेरो मुटुको धड्कन तेज भयो । उनले होला भन्दै फोन राखिन् ।
सनमसँग कुराकानी बाक्लो हुन थाल्यो । तर पहिले जस्तो उनी फोनमा अनावश्यक जिस्कदैनथिइन्। स्पर्मका कुरा त झनै गर्दिनथिइन्। म उनलाई जान्न चाहन्थेँ । उनलाई फेसबुक, इन्स्टा अनि ट्विटरतिर पनि खोजी गरेँ तर भेटिन । हरेक रात निदाउनुअघि, बिहान ब्युँझिइसकेपछि म उनलाई सामाजिक सञ्जालतिर खोज्थेँ ।
एकरात उनलाई इन्स्टामा भेटेँ । ‘सनम दि भ्वाइस’ नामबाट । नामले भए चिन्दिनथेँ । हो कि जस्तो लागेर भित्र पुरै तस्बिर चहारेपछि मात्रै कन्फर्म भयो तिनी नै हुन् भनेर । उनलाई फलो गर्ने दुइजना म्युच्युल साथी थिए रञ्जन र सलिल । उनलाई फलो गरेँ तर थुप्रै हप्ता बित्दा पनि फलो ब्याक गरिनन् । फोन त उनलाई मुड चलेको बेला मात्रै गर्थिन् । मैले गर्दा जहिल्यै अफ हुन्थ्यो ।
फुर्सद पाउने बित्तिकै उनको इन्स्टाका कुनाकाप्चा चहार्थेँ । जम्मा तेइस ओटा फोटो राखिएको इन्स्टाका कमेन्ट लाइक गर्ने मान्छेका नाम समेत याद हुन थालिसकेको थियो तर उनको फलोब्याक र फोन पाउन भने सकिरहेको थिइन् ।
झण्डै चार हप्तापछि इन्स्टामा एउटा म्यासेज पठाएँ मिस यु लेखेर । तर त्यो म्यासेज पनि तीन दिनसम्म सिन भएन । चौथो दिनको दिन सिन भएछ तर प्रतिक्रिया आएन । त्यो म्यासेज सिन भएको दिन राती अबेरसम्म उनकै बारेमा सोंचिरहेँ । राती दुईबजेतिर मात्र सुतेको थिएँ, बिहान सात नबज्दै सलिलले ढोका हान्न आइन् । आँखा मिच्दै ढोका खोलेँ । उनले सामानको लिस्ट दिंदै भनिन् –यो ठेगानामा सामान पुर्याएर
आइहाल !
मन नलागी–नलागी सामान लिएर सलिलले दिएको ठेगानामा पुगेँ । झण्डै डेढ महिना अघि सामान पुर्याउन गएको त्यही ठाउँ । जहाँ भेटिइन् सनम । अहो ! कहाँकहाँ चिने जस्तो लागको भनेको त उनलाई त्यहाँ देखेको रहेछु । मलाई देखेर अचम्म परिनन् । म भने अचम्मित र खुशी एकैचोटि भएको थिएँ । उनलाई अंगालो हालेर आत्मियता साट्न मन लागिरहेको थियो । उनले मलाई हेर्दै गेटबाट भित्र आउने इशारा गरिन् ।
मलाई सोफामा बसाएर उनी भान्छामा छिरिन् अनि केही बेरमै कडा कफी लिएर आइन् ।
‘तिमीले मेरो इन्स्टा म्यासेजको किन रिप्लाइ नगरेकी ?’
कफी पिउदै भनेँ ।
‘दुई मिनेटको दूरीमा बसेर तिमीलाई के को इन्स्टामा म्यासेज लेखिरहन पर्यो
नि !’
मनमनमा भनेँ –तिमीलाई पो हामी दुई मिनेटको फरकमा बस्छौं भन्ने थाहा थियो र मलाई के थाहा त ?
म चुप लागेको देखेर उनले भनिन् –सरी विवेक । तिमीलाई मैले ब्यर्थै दुःख दिएँ । तिम्री पे्रेमिकाले यस्तो कुरा थाहा पाइन् भने नराम्रो होला ।
‘तिमी विवाहित हौ ?’
एक्कासी प्रश्न गरेँ । उनले नाक खुम्च्याउदै भनिन् –पागल, तिमीले किन यस्तो सोंचेको ?
‘स्पर्मको कुरा गरेकी थियौ नि त । मलाई लागेको थियो तिमी मसँग सम्पर्क गरेर गर्भवती हुन चाहन्छौ ।’
अब उनी हिच्किचाइन् । अनुहार बिगारेर रातो हुँदै भनिन् –जस्ट…..नोथिङ । डन्ट बि सिरियस ।
यसो भन्दै गर्दा लाजले रातो भएको अनुहार हेरेर मलाई साह्रै सन्तुष्टि मिल्यो । उनको कोठामा म बसुन्जेल उनी हड्बडाइ रहिन् । मानौं, कसैले हामी दुईलाई साथ देखेमा नराम्रो हुनेछ । यस्तो लाग्थ्यो, उनी मलाई कोठाबाट भगाउन चाहन्छिन् तर भन्न सकिरहेकी छैनन् ।
मन नलागी–नलागी जान्छु भनेर निस्किएँ । उनीसँग छुट्न मन थिएन । तर उनलाई अब नियमित भेट्न पाउने कुराले निकै खुशी पनि थिएँ ।
म उनलाई फोन गरिरहन्थेँ । मोबाइल अफ भएको बेला हुर्रिदै उनको कोठामा पुग्थेँ । उनलाई म कोठामा पुगेको मन पर्दैनथ्यो । तर उनी नआऊ भनेर जबरजस्ती गर्न सक्दैनथिइन्् । उनको पढाइ या जागिर केही पनि थिएन । उनी जतिबेला पनि कोठामा भेटिन्थिन् । बिहे भएको छैन भन्थिन् तर उनको खर्च कसरी चल्थ्यो कुन्नि ? आमाबासँग खर्च माग्ने उमेरकी त थिइन् । फेरि कुन चाहिँ आमाबाले बिना जागिर या पढाइ त्यसै काठमाडौं बस्न दिनुहुन्छ ? काठमाडौंमा काम नै नगरी कसरी पालिन्छौ भनेर सोध्न मन नलागेको होइन तर सोधेको मन नपर्ने होला उनलाई ।
खाँदासुत्दा जतिबेला पनि उनलाई सम्झिइरहन्थेँ । हो उनलाई अलि बढी नै याद गर्न थालेको थिएँ ।
एक साँझ उनलाई मेरो कोठामा आउन भनेँ । उनले आउँदिन भनेर फोन काटिन् । तर फेरि फोन गरेर भनिन् –ठीक छ आउँछु नि त ।
खुशीले बुरुक्क उफ्रिएँ म । छ बजेतिर उनलाई लिन चोकसम्म गएँ । म निकै उत्साहित थिएँ र नर्भस पनि । उनलाई लिएर फर्किइरहँदा सोचें –उनलाई मेरो कोठा मन नपर्ने होला । उनको कोठा सजिसजाऊ कति सफा राख्छिन् । मेरो कोठा देखेर नाक खुम्च्याइन् भनेँ ? हे, केको चिन्ता ? कति अव्यवस्थित तिम्रो कोठा भनिन् भने अब तिमी आउनु मेरो जिन्दगीमा । अव्यविस्थित म र मेरो कोठा तिमी आफै सम्हाल्नु भनिदिउँला ।
ढोकाबाट पसेपछि उनले यताउता हेर्दै प्लाष्टिकको कुर्सीमा बसिन् । अर्काे कुर्सी तानेर उनको छेउमा बस्दै भनेँ –चिया कफी के पिउछौ ?
‘नोथिङ’ भनेर उनी कोठाको चारैतिर हेर्न थालिन् ।
त्यतिनै बेला सलिलको फोन आयो ।
‘कहाँ छौ तिमी ?’
‘भर्खर घर आइपुगेँ ।’
‘तल कोठामा छिटो आइहाल त ।’
फोन राखिसकेपछि सनमको नजिक सरेँ । उनी कस्तो नर्भस जस्तो देखिन्थिन् । उनको हात समाएँ । मन नपरे झै तान्दै भनिन् –तिमी कहिले बिहे गर्छौ ?
‘तिमी जहिले राजी हुन्छौ ।’
उनले बनावटी मुस्कान छोडिन् । उनको दाहिने हात बिस्तारै समाएर टाउको उनीतिर झुकाएर भनेँ –क्यान आइ किस यु ?
उनले मलाई तर्से जस्तो हेरिन् । हामी एक अर्काको सास महशुस गर्न सक्ने जति निकट थियौं । मेरो सास बढ्दै थियो । त्यति नै बेला ढोका बज्यो । सायद सलिल हुनुपर्छ । ढोका खोलेँ साँच्चिकै सलिल रहेछिन् । सनमलाई देखेर उनी अचम्म पर्दै पालैपालो सनम अनि मलाई हेर्न थालिन् । मैले केही भन्नुअघि सनमले कुर्सीबाट उठेर हात बढाउदै भनिन् –हाइ आइएम सनम ।
‘हेइ, सलिल ।’
हात मिलाउदै सलिलले भनिन् ।
म कफीका लागि ग्याँसमा पानी तताउन लागेँ । ती दुईएकअर्कासँग कुरा गर्न लागे ।
कफी लिंदै गर्दा सनमले भनिन् –बिहे गर विवेक ।
मैले आँखा झिम्काउदै भनेँ –तिमी भनिहेरन भर्खरै राजी छु ।
सनमले सायद असहज महशुस गरिन् क्यारे । सलिललाई हेरिन् । सलिलले मलाई मन नपरेको आँखाले हेर्दै अलि चर्काे आवाजमा भनिन् –रमालाई फोन गरेर बोलाइदिउँ ?
बीचमा रमा आएको मलाई मन परेन । साँच्चै रमा बाहेक किन कोही यूवती मलाई मन पर्न थाहेको हँ ? कसरी रमालाई छल्न सकिरहेछु ? हैन हैन मैले रमालाई छलिरहेको छैन । प्रेममा छल या ढाँट हुँदैन । म सनमलाई प्रेम गर्छु । सायद अब रमालाई गर्दिन । त्यसो भए के अब रमा विस्थापित भएर सनम सधैँका लागि मेरो मनमा स्थापित भएकी हो त ? पक्कै यस्तै हुनुपर्छ ।
मैले आफैसँग भनेँ ।
सलिल सनम दुबैको कफी सेलायो । बाहिर अँध्यारो हुन लागिसकेछ । सनम उठेर भनिन् –म जान्छु है ।
‘आज राती यहीँ बस न !’
सलिल अनि मैले एकैचोटि भनेछौं । सनमले पालैपालो हामी दुईलाई हेरिन् । सलिलले कुर्सीबाट उठेर भनिन् –खाना बनाऊ तिम्रो पाहुनाको लागि अनि मेरो लागि पनि । त्यतिन्जेल म नुहाएर आउँछु ।
खुशी हुँदै मासु पसेलेकोमा गएर आधा किलो चिकन लिएर आएँ । त्यसैलाई गे्रभी बनाएँ । बिहान किनेर ल्याएको एक मुठी साग भुटेँ अनि टिमुर राखेर टमाटरको अचार बनाएँ । काँक्रा र गाजरको सलाद पनि बनाएँ । त्यतिन्जेल सलिल जुरेली जस्तै भएर आइसकेकी थिइन् ।
आठ बजेतिर सँगै खान बस्यौं । सलिल र सनम पहिलो भेटमै निकै नजिकिइसकेका थिए । सनमले खाँदै गर्दा सलिलको थालमा जुठो मासु हालिदिइन् । मैले पनि उनको बटुकोबाट एक टुक्रा मासु निकालेर क्वाप्प मुखमा हालेँ । सनमले ‘के हो’ भन्ने इशारामा मुन्टो हल्लाइन् । ‘जुठो खायो भने माया बढ्छ रे तिम्रो मेरो माया झनै बढ्ने भयो’ भनेर मुस्कुराएँ । सनम हाँसिन् । सलिल भने मुखमा भात लिएर मलाई टोकुँला जस्तै हेर्न थालिन् । सनमले सलिलतिर हेरेर मलाई हेरिन् । अनि खानाको थाल सारेर हात चुठिन् ।
सनमले छोडेको खाना सलिलले खाइन् । मलाई उनीसँग डाह लाग्यो । सलिलले उठाउनु अघि त्यो खाना मैले किन खाइन ? जुठो खायो भने एकअर्कामा माया बढ्छ रे नि त । मलाई पनि उनीसँग कहिल्यै नछुट्ने माया बढाउनु थियो ।
हात चुठ्ने बित्तिकै उनी जान तयार भइन् । सलिल र मैले खाएर सकेकै थिएनौं । खाँदाखाँदैको थाल पन्छाएर म जुरुक्क उठेँ । सनमले मलाई बसाउदै भनिन् –तिमीहरु खाइराख न म जान्छु । धेरै अबेर भयो भने घरबेटी आमाले फेरि गेट खोल्दिनुहुन्न ।
‘खुरुक्क आज यहीँ बस ।’
सलिलले गास हाल्दै भनिन् । मेरो मनको कुरा बोलिदिएकोमा मैले सलिललाई मनमनै धन्यवाद भनेँ । तर सनम अलि हिच्किचाउदै बोलिन् –सलिल म जान्छु यार ।
‘तिमी बस्छु भनेकी हैन ?’
सायद उनलाई अप्ठ्यारो लाग्यो एउटै कोठामा पुरुष साथीसँग बस्न । या सलिलको अप्ठ्यारो मानिन् । उनी कोठामा बसेकी भए रातभरि ननिदाएर एकअर्काका कुरा सुन्नु हुन्थ्यो । मनका कुनाकानी टक्टक्याएर देखाउनु हुन्थ्यो ।
‘बस न प्लिज !’ –फेरि अर्काे पटक अनुरोध गरेँ ।
सनम सलिलतिर हेर्दै बोलिन् –प्लिज बुझ न ।
‘तिमीलाई विवेकको कोठामा बस्नु कसले भनेको छ र ? तिमी मेरो कोठामा हिँड ।’
सलिल बीचमा प्याच्च बोलिन् । जो मलाई मन परेन । सनम उस्तै अप्ठ्यारो मान्दै बोलिन् –म जान्छु । पछि भेट्छु नि !
तर सलिलले सनमको हात च्याप्प समाएर भनिन् –त्यसो भए म तिम्रोमा जान्छु ।
सनमले अप्ठ्यारो मानेजस्तो मतिर हेरिन् । तर सलिल खाना त्यसै छोडेर जुठै हात आफ्नो कोठातिर गइसकेकी थिइन् । अनि तत्कालै मोबाइल लिएर आइन् । नरमाइलो लाग्यो । जुठो हात लिएर सनमलाई हेरिरहेँ । जाँदै गर्दा सनमले नजिक आएर सुस्तरी भनिन् –धन्यवाद डिनरका लागि ।
सलिल र सनम गइसकेपछि असरल्ल छोडिएका जुठो भाँडा उठाएर बाटामा राखेँ अनि पल्टिएँ ओछ्यानमा । पल्टिएर सनमको बारेमा सोंचिरहेँ । भेट हुनु अघिकी सनम र भेटपछिकी सनममा कति अन्तर छ । जब औपचारिक रुपमा भेट भएकै थिएन तिनी कति खुलेर हाँसो ठट्टा गर्थिन् । मुखमा आएका कुरा नहिच्किचाइ भन्थिन् । तर भेटपछि तिनी किन खुल्न सकिनन् ?
समय बित्दै गयो । रमाबाट पुरै ध्यान हटाएर सनमतिर मोडिएँ । हामी हरेक साँझ भेटिन्थ्यौं । चियाकफी सँगै पिउँथ्यौं । तर भेटिएको केही मिनेटमै छुट्न उनलाई हतार भइहाल्थ्यो । सलिल पनि सँगै भएको दिन भने उनी अलि धेरै बेर मसँग बिताउथिन् । उनीसँग छुट्ने बित्तिकै उनलाई मिस गर्न थालिहाल्थेँ । उत्तिखेर फोन गरिहाल्थेँ । उनी उठाएर ‘पागल’ भनेर हाँस्दै फोन राख्थिन् । हो, म साँच्चै पागल हुने स्थितिमा थिएँ । यो कुरा सनमले पनि सायद महशुस गरेकी थिइन् ।
सोंचेँ, प्रेम प्रस्ताव राख्छु । तर कसरी ? फोनमा जिस्कनु जस्तो प्रस्ताव राख्न सजिलो नहुँदो रहेछ । उनको अघि पर्नासाथ मेरो मुटु हल्लिन्थ्यो । डरले हो कि लाजले म त्यसै हल्लन्थेँ ।
एक साँझ उनीतिर नहेरेरै भनिदिएँ –आइ लव यु ।
भनिसकेपछि लाजले टाउको र आँखा झुकाएर एक्लै मुस्कुराएँ ।
‘आइ नो ।’
उनीतिर फर्किएँ । उनी भावुक देखिन्थिन् । हातमा समाएर सुस्तरी भनिन् –तर म गर्दिनँ। म मान्छे नै होइन ।
उनको भनाइको अर्थ नबुझेर जति रन्थनिएको थिएँ त्यति नै रन्थनिएको थिएँ उनले माया गर्दिनन् भन्ने जानेर । म धुरुक्क रोएँ । मनले मात्र रोइन साँच्चीकै रोएँ । सनमले बिस्तारै मेरा औंला खेलाइन् । झनै भक्कानिएँ । उनी जुरुक्क उठेर मलाई त्यसै छोडेर गइन् ।
त्यसदिनदेखि सनमले फोन उठाउन छोडिन् । उनको कोठामा जाँदा पनि म आएको थाहा पाएपछि ढोका नै खोल्दिन थिइन् । एकदिन दिक्क भएर इन्स्टामा म्यासेज लेखेँ,
प्रिय सनम, थाहा छैन तिमी किन यस्तो गर्दैछौ ? माया गर्दैनौ तिमी मलाई थाहा छ तर साथी बनिरहन तिमीलाई के चीजले रोक्छ ? तिम्रो मेरो भेट हुनुअघि फोनमा तिमीले कस्ता कस्ता कुरा गर्थ्यौं याद गर त । तिमी किन स्पर्मका कुरा गथ्र्याै ? मलाई यसको जवाफ देऊ ।
म्यासेज सेन्ड भइसकेपछि लाग्यो व्यर्थै पठाएछु ।
जवाफ आएन ।
साँझमा एक्लै चोकतिर निस्कन्थेँ । सनम पनि सँगै भएको बेला पो सलिल पनि कहिलेकाहीँ सँगै हुन्थिन् । तर सनमसँगै आउन छोडेपछि उनले पनि मसँगसँगै आउन मन गर्न छोडिन् । रमा पनि मदेखि टाढा भइसकेकी थिइ । टाढा भएपनि हरेक दिन लामालामा सन्देशहरु इन्स्टामा पठाउथी । बेवास्ता गर्यौ, टाढा भयौ भनेर गुनासो गर्थी । म चुपचाप रमाको म्यासेज पढेर स्विकार्थेँ मनमनै –रमा मैले जसको लागि तिम्रो वास्ता गर्न छाडिदिएँ आज उनी मदेखि धेरै टाढा भएकी छिन् ।
राती पनि राम्रोसँग सुत्दिनथेँ । सोंचिरहन्थेँ, खाली सनमको बारेमा मात्रै होइन आफ्नै बारेमा पनि । दिनमा चाहिँ मन लाग्दा सलिलको बाको पसलमा बस्नु, मन नलाग्दा महेशसँग अल्लारे बनेर हिँड्नु अनि कहिलेकाहीँ साइकल चढेर पुरै काठमाडौं घुम्नु बाहेक खास प्रगति थिएन ।
तीन महिनापछि सनमले फोन गरिन् । लाग्यो नउठाउँ तर मन भने कति खेर फोन उठाउँ र उनीसँग कुरा गरुँ भइसकेको थियो । तर सोंचे, उठाउदिनँ । र उठाइन । फेरि दोहोर्याएर फोन गरिन् । यसपटक चाहिँ कति पनि ढिला नगरी उठाएर भनेँ –हेइ गर्ल । हाउ आर यु ?
‘आइ एम गुड । हाउ इज एबाउट यु ?’
‘नसोध न यार । जिउँदो छु ।’
खितित्त हाँसिन् । सन्तोषको स्वास फेरेँ मैले । उनको हाँसो सुन्न नपाएको पनि कति धेरै भइसकेको थियो । मैले भनेँ –सनम प्लिज तिमी यसैगरी हाँसिरहनु है ।
उनले सुस्तरी भनिन् –विवेक मलाई माफ गरिदेऊ । म कहिल्यै चाहन्नथेँ तिमी मलाई यसरी माया गर ।
‘आजसम्म मैले बुझेकै छैन । तिमी आखिर मबाट के चाहन्थ्यौ ? केका लागि नजिक भयौ र फेरि के कारणले यति पर भयौ ।’
‘भेट सम्पर्क नहुनु टाढा हुनु होइन बुझ्यौ ?’
उनले भनिन् अनि फोन राखिन् ।
भोलिपल्ट साँझ अबेरसम्म सलिलको बाटो हेरिराखेँ । तर राती दस बजेसम्म गेटमा पर्खिदा पनि उनी आइनन् । फोन गरेँ । मोबाइल अफ थियो । ड्युटी सकिएपछि खुरुखुरु आउँथिन् सधैँ । तर त्यो दिन तिनी आइनन् ।
बिहानै फोन गरेँ । उठाइनन् । उनको बालाई सोधेँ सलिल खोइ भनेर । उनका बाले हिजोदेखि सलिल घरमा नआएको कुरा बताउनुभयो । पटक-पटक फोन लगाएँ । तर उठाइनन् । सनमलाई पनि फोन लगाएँ उनले पनि उठाइनन् । सनमको कोठामा पुगेँ । तर उनी कोठामा पनि थिइन्न् । मोबाइलमा म्यासेज पठाएँ प्रत्युत्तर आएन । इन्स्टामा पनि पठाएँ तर अँह सिन पनि भएन । म साह्रै बिरक्त भएँ । के गर्नु कसो गर्नु ? कहाँ जानु ? खुब छट्पटी भयो । सनमले प्रेम गर्दिनन् भन्ने जानी जानी मलाई किन यस्तो भएको ? उनलाई जबरजस्ती आफ्नो बनाउन्न सक्दिन भन्ने जानी जानी किन हुरुक्क भएको मन ?
चौथो साँझ सलिल बल्ल घर आइन् । म उनलाई नै पर्खिरहेथेँ गेटमा । मलाई देखेर मन नलागी-नलागी मुस्कुराउँदै हेल्लो भनिन् । मैले भनेँ –सलिल आज राती जसरी पनि सनमलाई मेरो कोठामा आउन भन न !
गेटबाट भित्र पस्दै भनिन् –किन चाहियो फेरि सनम ?
‘मलाई सनमसँग धेरै कुरा गर्नुछ । तर उनले मेरो फोन उठाउदिनन् । फोन भइहाल्यो भने पनि मैले केही कुरा राखेर सक्नु अघि नै फोन राख्छिन् ।’
सलिलले पछाडि नफर्किइकन भनिन् –तिमीहरुको बीचमा के चल्दैछ हँ ? मेरो पछाडि तिमीहरु के खिचडी पकाउदैछौ ? सनमलाई पनि अचेल तनावमा देख्छु । तीन दिन मसँग थिइ तर खाली तिम्रै बारेमा मात्र कुरा गरेकी थिइ ।
‘तीन दिनसम्म तिमी सनमसँग थियौ ? तर कहाँ किन ?’
‘पोखरामा । भर्खर त फर्किदैछु । देखेनौ ?’
यति भन्दा नभन्दै सलिल माथिल्लो तला जाने सिडि उक्लिइसकेकी थिइन् ।
उनको पछि-पछि जानु भएन । उनीहरु बस्ने माथिल्लो तलामा कसैलाई जाने अनुमति हुँदैन । छिंडिमा डेरा गरी बस्नेहरु सितिमिति माथिल्लो तलामा उक्लिने सिंडि नेरको गेट खोलेर माथि जाने हिम्मत गर्दैनन् । कामै परे तलबाट ए घरबेटी बा या दाइ भनेर गेटबाट बोलाउछन् ।
कोठामा छिरेर डर्लङ्ग खाटमा पल्टिएर सनमलाई फोन लगाएँ । उठाइनन् । इन्स्टा हेरेँ । सलिलले सनम र आफ्ना थुप्रै तस्विर राखेकी थिइन् । तर सनमले भने एउटै फोटो पनि राखेकी थिइन् । तर स्टोरीमा भने दुइजनाको हल्का गाला जोडेर पाउट गरिएको तस्विर थियो । त्यसमा लव रियाक्ट गरेर सुतेँ ।
धेरै दिनको अनुरोधपछि एकदिन सलिलले सनमलाई कोठामा लिएर आइन् । म सनम र सलिलले नदेख्ने गरी हात उचालेर एक बित्ता जति उफ्रिएँ । सनमले टाउको झुकाइरहिन् । कफी पिलाइसकेपछि मैले भनेँ –सलिल म सनमसँग अलग्गै कुरा गर्न चाहन्छु ?
‘अलग ? के कुरा गर्नुछ तिमीलाई ? के चल्दैछ तिमीहरु बीचमा ।’
सलिलले रिसाएर भनिन् ।
‘म माया गर्छु उनलाई । के तिमीलाई बताइरहन जरुरी छ ? म सनमसँग मायाको कुरा गर्न चाहन्छु ।’
उसैगरी रिसाएर मैले भनेँ ।
सलिलका आँखा राता देखिए रीसले । मुठी कसेर नाकमुख बिगारेर सनमतिर हेरिन् । सनमको टाउको अझैं उठेकै थिएन । सलिलले उनको हात समाएर तान्दै भनिन् –हिँड मसँग माथि । तिमीसँग कुरा गर्नुछ ।
सनमले थोरै टाउको उठाएर भनिन् –तिमी जाऊ म विवेकसँग कुरा गर्न चाहन्छु ।
सनमको कुरा सुनिसकेपछि खुट्टा बजार्दै सलिल कोठाबाट निस्किइन् । सनम बल्ल रिल्याक्स देखिइन् । माथितिर हेर्दै लामो श्वास फालेर कुर्चीमा बसिन् । उनको अघि घुँडा टेकेर बस्दै भनेँ –तिमी कति निष्ठुरी रैछौ । यसरी सम्पर्कबिहिन भएर कसरी बाँच्न सकेकी ?
‘भनेकै छु त हाम्रो सम्बन्ध तिमीले सोंचे जस्तो हुन सम्भव छैन । फेरि किन भेटिरहनुपर्छ मलाई ? किन फोन गरिरहनु पर्यो ? किन म्यासेज गरिरहनु पर्यो ? यति कुरा त तिमी बुझिहाल्छौ नि ।’
‘तर किन कायम हुनसक्दैन हाम्रो सम्बन्ध ? के तिमी कसैलाई माया गर्छाै ? के तिमीले कसैलाई बाचा गरेकी छौ प्रेमको या बिहेको ?’
‘गर्दिन, म कसैलाई प्रेम गर्दिन । तर तिम्रो मेरो सम्बन्ध कुनै पनि हालतमा कायम हुन सक्दैन ।’
‘कारण बताऊ । म अरु सुन्न चाहन्न ।’
‘ठीक छ म कारण बताउछु । तर आज होइन ।’
यति भनेर उनी ढोकाबाट बाहिरिइन् । पछिपछि पुगे बाहिर गल्लीसम्म । गल्लीमा सलिल थिइन् । उनले सनमको हात समाएर माथि उक्लिइन् ।
भोलिपल्ट सनम र म बालाजुमा भेटियौं । अनि ट्याक्सी चढेर पुग्यौं जेडिभिएस रेष्ट्रो एण्ड क्याफे । खास मान्छेहरु छैनन् क्याफेमा । केही टेवल बाहेक सबै खाली नै छन् । मैले बियर अर्डर गरेँ । साथमा स्न्याक्स र सलाद पनि आयो ।
एक चुस्की बियर मुखमा परिसकेपछि सनमले भनिन् –तिमीलाई कारण जान्नुछ हैन ।
नबोली उनको आँखामा हेरेँ । नमात्दै उनका आँखा कति नशिला देखिन्थे । उनले तिम्रो मेरो सम्बन्ध सम्भव छैन भनेर क्लिन चिट दिइसकेकी छिन् । तर म भने उनका नशिला आँखा हेरेर किन लोभिदै छु कुन्नि ?
‘खासमा नि म पुरुषहरुको धेरै नजिक हुन चाहन्छु ।’ –तिनले भनिन् ।
‘अचानक फेरि मबाट टाढा जाने निर्णय कसरी गर्यौ त ?’
‘तिमी मलाई प्रेम गर्न लाग्यौ नि त । खासमा म तिमीलाई प्रेम गर्न चाहन्नथेँ । तिमीसँग निकटता बढाउन चाहन्थेँ । तिमी त एकै पटक प्रेममा पुग्यौ ।’
सनमले भन्न खोजेको निकटताको अर्थ नबुझेर ट्वा परेर हेरेँ । उनले भनिन् –सलिलको मुखबाट तिम्रो बारेमा सुनेथेँ । एकदिन उनको मोबाइलबाट तिम्रो नम्बर लिएर फोन गरेँ । तिम्रो गर्लफेण्ड, तिम्रो घर सबै कुरा सलिलले बताएकी थिइन् । म खासमा तिमीसँग प्रेम र सेक्सका कुरा गर्न चाहन्थेँ तर बास्तवमै तिमीसँग ती कुरा गर्न चाहन्नथेँ ।
‘त्यै त तिमी किन ती कुरा गर्न चाहन्थ्यौं त ?’
‘भनिहालेँ नि म लोग्ने मान्छेलाई महशुस गर्न चाहन्थेँ । उनीहरुको निकटता, लोग्नेमान्छेलाई मिस गर्नु के हुन्छ ती सबै अनुभव गर्न चाहन्थेँ ।’
उनको कुरा बुझ्न नसकेर रन्थनिएँ म । गिलासको बियर स्वाट्टै पारेर भनेँ –यताउता कुरा नघुमाऊ । के भन्न खोजेको तिम्रो कुरा बुझिन मैले ।
‘म समलिङ्गी हुँ । तर म लोग्नेमान्छेलाई फिल गर्न चाहन्छु उनीहरुसँग संगत बढाउन चाहन्छु ।’
बियरले रमरम हुन लागेको टाउको झट्कारेर हल्लाएँ मैले । अनि उनको नजिक झुकेँ । उनले कानैनेर सुस्तरी भनिन् –यस आइ एम अ गे । तर म लोग्नेमान्छेसँग सम्बन्ध बढाउन चाहन्छु । कथाको अन्तिम अंश अर्को शनिवार…