काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको यस फ्रेन्चाइज प्रतियोगिताको सोमबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले मार्चमै एनपीएल आयोजना गर्ने घोषणा गरेको तर ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली तयारीका क्रममा रहेकाले पछाडि धकेलिनुपरेको बताए ।
उनले भने, ‘नेपालको उत्कृष्ट खेलाडीहरूलाई र नेपालमा फ्रेन्चाइज क्रिकेटलाई अझ व्यवस्थित गरेर एउटा छुट्टै आयाममा लानका लागि हामीले प्रयत्न गरिरहेका छौं । यो संरचनामा टिम लिनका लागि प्रक्रिया सुरु गरेबापत् एकदमै राम्रो प्रतिक्रिया पाएका छौं । एनपीएल एउटा उदाहरण र खेल इभेन्ट बन्नेछ, जसलाई संसारले नै हेर्नेछ भन्ने मानसिकतामा हामीले यसलाई लक्षित गरेर अगाडि ल्याउन लागेका छौं ।’
सो समयमा विभिन्न कमीकमजोरी भएको स्वीकार्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘एनपीएलले ठूलो उचाइ लिने विश्वास लिएको छु । संसारको सवै देशमा लिगहरू भइरहेका छन्, हाम्रो जस्तो एसोसिएट देशमा पनि लिग भइरहेको छ । तर त्यो अनुरूपको गति लिन सकेको छैन । यूएईको लिग एसोसिएट क्षेत्रमा केही अलग किसिमको छ । हाम्रो पनि उत्साह बढेको छ र एनपीएल पनि त्यही गतिमा अगाडि बढ्नेछ ।’