काठमाडौं । टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई हराएको छ । नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको वेस्ट इन्डिज नेपालसँग ४ विकेटले पराजित भएको हो ।
शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।
यस्तै, दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रन बनाए। उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए ।
खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्याए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।
शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।




