काठमाडौं । एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छदा ११४ रनमा अलआउट भएको हो।
वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो।
खेलमा हङकङका ओपनर मार्टिन कोट्जेलाई करण केसीले तेस्रो ओभरमा ८ रनमा आसिफ शेखबाट क्याच गराए भने छैटौं ओभरमा हङकङका कप्तान निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गरे।
हङकङका लागि सबैभन्दा बढी रन बनाएका अंशुमन रथ पनि रनआउटको सिकार भए। उनलाई नवौं ओभरमा नेपालका गुल्सन झाले बाउन्ड्री नजिकबाट डाइरेक्ट हिटमार्फत् ३४ रनमा रनआउट गरे।
यस्तै, बाबर हायतलाई ६ रन र एजात खानलाई ७ रनमा ललित राजवंशीले आउट गरे। यस्तै यसिम मुर्ताजालाई २ रन र नास्रुल्ला रानालाई ६ रनमा अभिनास बोहराले आउट गरे। यस्तै बोहराले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा १७औं ओभरमा जीशन अलीलाई १४ रनमा दीपेन्द्रबाट क्याच गराए।
दीपेन्द्रले १८औं ओभरको चौथो बलमा इशान खानलाई ११ रनमा बोल्ड गरे लगत्तै अर्को बलमा धनञ्जय रावलाई पनि बोल्ड गरे।
बलिङमा अभिनासले ३ विकेट लिए भने ललित र दीपेन्द्रले २-२ विकेट लिए। करण केसीले १ विकेट हात पारे। अभिनासले ४ ओभरमा २९ रन खर्चिए। ललितले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र दिए। दीपेन्द्रले ५ बलमा ६ रन खर्चिए। करणले ४ ओभरमा २४ रन दिए।
कपको साविक विजेता समेत नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।
कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।