March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य

1.2K

काठमाडौं। तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले केवल ४८ बलमा ६ छक्का र सातवटा चौका पनि प्रहार गरे । उनी केवल सात रनका कारण शतक पुरा गर्नबाट चुके । रासिद खानले २४ रन बनाए ।

यस्तै, कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । उनले केवल सात बलको सामना गरी एक छक्का दुई चौका हिर्काए । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

Advertisement

ओपनर लोकेश बम आठ र देव खनाल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नारायण जोशी भने एक रनमै आउट भए । नेपालले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । आयरल्यान्डका बलर फियोन ह्यान्डले दुई विकेट लिए ।

नेपाल ‘ए’ ले पहिलो विकेटका रूपमा ओपनर देव खनाललाई गुमाएको थियो । देवलाई ६ रनको व्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर फियोन ह्यान्डले कप्तान निल रकद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको अन्तिम बलमा देव आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रूपमा अर्का ओपनर लोकेश बमलाई गुमाएको थियो । लोकेश आठ रनको व्यक्तिगत स्कोरमा लियाम म्याकार्थीको बलमा आयरल्यान्डका कप्तान निल रकद्वारा समातिएका थिए । तेस्रो ओभरको दोस्रो बलमा लोकेश आउट हुँदा नेपालले केवल १५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका थिए । ४.५ ओभरमा कप्तान विनोद आउट हुँदा नेपालले ३३ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रूपमा बसिर अहमदलाई गुमाएको थियो । बसिर अहमख २१ बलमा तीन चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनलाई आयरल्यान्डका बलर गाभिन होएले एलबीडब्लूको धरापमा पारेका थिए । १०.२ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ८० रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा पवन सर्राफलाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले १३ रन बनाएका थिए । पवनलाई आयरल्यान्डका बलर गारेथ डेलानीले विकेटकिपर निल रकद्वारा स्टम्पिङ गराएका थिए । १४.१ ओभरमा पवन आउट हुँदा नेपालले एक सय २० रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले आफ्नो छैटौँ विकेट पनि गुमाएको थियो । नेपालले छैटौँ विकेटका रूपमा नारायण जोशीलाई गुमाएको थियो । उनी एक बलमा एक रन बनाउँदै रनआउट भएका थिए । १४.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २१ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा रासिद खानलाई गुमाएको थियो । उनी उत्कृष्ट ब्याटिङ गर्दै पेभेलियन फर्किएका थिए । उनले केवल १३ बलको सामना गरी तीन छक्काको मद्दतले २४ रन बनाएका थिए । उनलाई आयरल्यान्डका बलर म्याथ्यू फोष्टरले गाभिन होएद्वारा क्याच गराएका थिए । १४.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको थियो ।

तीन खेलको शृङ्खला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो ।

सोमबार हुने तेस्रो खेलमा नेपाली टोली सान्त्वना जितेको खोजीमा छ । अर्कोतिर, भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ भने शृङ्खला ‘क्लिन स्विप’ गर्ने दाउमा छ । टी–२० शृङ्खलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीनवटा एकदिवसीय खेलको शृङ्खला खेलिने छ ।