काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्सले आज नेपालसँग पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे हुनेछ ।
नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ । नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी–२० खेल खेल्नेछ । त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी–२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ ।
सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ । गुजरातमा नेपालले बरोडा र गुजरातसँग २–२ वटा टी–२० खेल खेल्ने तालिका छ ।
सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी–२० र तीन एकदिवसीय खेल्ने तालिका छ ।
त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टी–२० र एकदिवसीय खेल खेल्ने टिम घोषणा गरेको थियो।
आज आयरल्याण्डसँग खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द रहेका छन् ।