काठमाडौं । त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभर खेलेको अवस्थामा वर्षाका कारण खेल रोकिन पुगेको हो ।
खेल रोकिनुअघिसम्म हङकङले २ विकेट गुमाई ६५ रन जोडेको थियो । करण केसीले खेलको पहिलो बलमै मार्टिन कोइट्जीलाई शून्यमा आउट गरेका थिए । त्यसपछि कप्तान निजाकत खान र अंशुमन रथले दोस्रो विकेटमा ६१ रनको साझेदारी गरे ।
निजाकतले २० बल खेली ३ चौका र एक छक्का प्रहार गरि २५ रन बनाए । उनलाई गुलशन झाले आउट गरेका थिए । अंशुमन २४ बलमा ४ चौका र १ छक्का प्रहार गरि ३६ रन बनाई अविजित रहे । अर्का अविजित ब्याटर बाबर हायतले ३ रन बनाए ।
नेपालले मंगलबार पपुवा न्यु गिनीविरुद्ध खेल्ने छ । नेपाल र पपुवा न्यु गिनी दुवैले जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् ।
यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम रहेका छन् । नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।




