April 30, 2024, Tuesday
२०८१ बैशाख १९
1:37:26 pm

नेपालको नेदरल्यान्ड्सविरुद्ध प्रभावशाली जित

895

काठमाडौं । आइसिसी लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ । शनिबार १३८ रनको लक्ष्य पाएको नेपालले अनिल शाह र आशिफ शेखको अर्धशतक प्रहारमा १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।

ओपनर कुशल भुर्तेलको विकेटपछि मैदान आएका अनिल शाहले १२.३ ओभरमा आर्यन दत्तको बलिङमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । ३६ बल खेलेका अनिलले ६ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५७ रन बनाए ।

यसअघि क्यानडाविरूद्धको खेलमा शतक प्रहार गरेपछि अनिललाई लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिज खेल्ने टिममा समावेश गरिएको थियो ।

Advertisement

नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन ।

त्रिवि क्रिकेट मैदानमा नेपाल पहिलो ओभरबाटै खेलमा हाबी भएको थियो । सोमपाल कामीले पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई थर्डमा देव खनालबाट क्याच गराई नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।

एक छक्का प्रहार गरेका म्याक्स ओ डड १० रन बनाई रन आउट भए । साइब्रान्ड इन्जेलब्रेट र बास डी लेडले तेस्रो विकेटमा ३८ रनको साझेदारी गरे । ललित राजवंशीले इन्जेलब्रेटलाई २३ रनमा आउट गरी यो साझेदारी तोडेका थिए । उनले ५३ बल खेल्दै ३ चौका प्रहार गरे ।

लेडले ४४ बल खेली ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए । उनलाई ललितले उत्कृष्ट बलमा बोल्ड गरेका थिए । नोह क्रोस १२ रन बनाई रनआउट भए । कुशल मल्लले आफ्नै बलिङमा फ्लो थ्रोमा नियन्त्रण गर्न खोजेको बल स्टम्पमा लागेपछि क्रोस आउट भएका थिए ।

कुशल भुर्तेलले आफ्नो पहिलो ओभरमै वेस्ली वारेसीलाई शून्यमा आउट गरी नेपालको दबदबालाई कायम राखे । कप्तान रोहित पौडेलले सरिज अहमदलाई १ रनमा बोल्ड गरी खेलमा नेपालको दबदबा कायम राखे । भुर्तेलले आर्यन दत्तलाई १० रनमा आउट गरे । भुर्तेलले अर्को महत्त्वपूर्ण विकेट लिनेक्रममा कप्तान स्कट इडवार्डसलाई एलबीडब्लू आउट गरे । इडवार्डसले ४९ बल खेली १ चौका प्रहार गरी ३३ रन बनाए ।

भिभिएन किङमालाई २ रनमा आउट गरी उनले चौथो विकेट लिए । आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका भुर्तेलले ७ ओभरमा २० रनमात्र खर्चेका थिए । यसअघिका खेलहरूमा उनको नाममा ४ विकेटमात्र थियो । ललितले २ विकेट लिनेक्रममा १० ओभरमा ३२ रन खर्चे ।

नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्याशित रूपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । त्यही भएर नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । इन्टरनेसनल लिग ट्वान्टी–२० मा गल्फ जायन्ट्सबाट सहभागी हुन दुबई जाँदा दीपेन्द्रले नामिबियासँगको खेल गुमाएका थिए । दीपेन्द्रलाई पवन सर्राफको स्थानमा ल्याइएको छ । त्यस्तै देव खनाललाई करण केसीको स्थानमा खेलाइएको छ ।