April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकदिवसीय सिरिज: क्यानडाविरुद्ध नेपालको शानदार जित

1.5K

काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले क्यानडालाई क्लिनस्विप गरेका छ । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरिरहेको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जितका लागि अनिल साह र भिम सार्कीले शतक प्रहार गरे । अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे । अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।

भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । यस्तै नेपालका लागि एकै इनिङ्ग्समा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो ।

Advertisement

यससँगै दुईबीच नेपालका अहिलेसम्मकै उच्च साझेदारी समेत हुन सफल भयो । उनीहरुले नटआउट १८९ रनको साझेदारी भयो । यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो । सो साझेदारी कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि गरेका थिए ।

ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भए । हेलिङगरको बलमा बोल्ड हुनअघि कुशलले १४ बलमा ३ चौका प्रहार गरे ।
खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ । क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो ।

क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन् । त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ । यहीँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको थियो । अम्पायरले उनलाई पिचमा कुदेर त्यसअघि पनि चेतावनी दिएका थिए ।

जाफरका कारण नेपालले आफ्नो ब्याटिङ सुरु हुनुअघि नै पाँच रन पाएको थियो ।