February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज: नेपालले क्यानडालाई दियो २ सय २५ रनको लक्ष्य

1.6K

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २२५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० सबै विकेट गुमाएर २२४ रन जोडेको हो ।

नेपालका लागि ओपनर कुशल भूर्तेलले ६२ रनको अर्धशतक प्रहार गरे । एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रन मात्रै जोडे । यस्तै भीम सार्की १७ रन जोडेर आउट भए भने कुशल मल्लले २० रन थप्दा आरिफ शेखले ३८, पवन सर्राफले १५ तथा सोमपाल कामीले २७ रन थपे आज डेब्यू गरेका सूर्य तामाङ १० रनमा अविजित रहँदा अर्का डेब्यू खेलाडी रिजन ढकाल ३ रनमा आउट भए ।

Advertisement

बलिङतर्फ क्यानडाका उदय भगवानले ३ तथा साउद बिन जफार र इश्वरजोन सोहीले समान २ विकेट लिए ।

क्यानडाविरुद्ध नेपालका लागि दुई खेलाडीले ओडिआईमा डेब्यु गरेका छन् । सूर्य तामाङ र रिजन ढकालले ओडिआईमा डेब्यु गरेका हुन् । उनीहरु दुवैले भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट खेलको सूर्यले कूल ३० विकेट लिँदा रिजनले १५ विकेट लिएका थिए ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।