काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोड्यो।
कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि अर्धशतक प्रहार गर्दै ३१.५ ओभरमा पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारी नेपालका लागि एकदिवसीय खेलमा समग्र विकेट र पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हो।
९९ रनमा आउट भएका कुशलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरेका थिए। उनी टेस्ट टिमविरूद्ध शतक बनाउने ऐतिहासिक अवसरबाट भने चुके। शतक बनाउन एक रन बाँकी रहेको अवस्थामा कुशल मासाकाड्जाको बलमा बोल्ड हुन पुगेका थिए।
अर्का ओपनर आसिफ शेखले ६६ रन जोडे। उनले १०० बलमा ७ चौका हिर्काए। उनलाई पनि माजाकाड्जाले नै क्याच गराए। त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको इनिङ उकासे। दुईबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो। रोहित २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए भने कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे।
आरिफ शेख १० रनमा आउट पेभिलियन फर्के भने गुल्सन झाले १३ रन जोडे। लगत्तै भीम सार्की डकआउट भए। दीपेन्द्रसिंह ऐरी अन्तिम दुई बल खेल्न बाँकी छदा ६ रनमै आउट भए।
बलिङमा जिम्बावेका गाराभाले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। मासाकाड्जाले २ विकेट हात पारे । मासाकाड्जाले १० ओभरमा ४२ रन खर्चिदा ३१ बल डट फ्याँकेका थिए।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन् ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
आज आयोजक जिम्बावेसँग खेलेपछि यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।




