May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

मिर्जा गालिबः सायर बदनाम

5.2K

आज भन्दा २२५ वर्ष पहिला सन् १७९७ मा जन्मिएका मिर्जा गालिब जति प्राचीन हुँदै गए उति उनको सिर्जनाले नयाँनयाँ अर्थ खोल्दै छ– आजको दिनमा पनि । इरानबाटको हजुरबुबासँग भारत आएका उनले १३ वर्षको उमेरमा नै गजल र सायरी लेख्न थालेका थिए । भारतमा मुगल शासन काल थियो । उनी सम्राट् बहादुर शाह जफरको दरबारी कवि थिए । सन् १८५७ मा अङ्ग्रेजले मुगलमाथि गरेको आक्रमण पछि बेरोजगार भए, त्यसपछि उनको जीवनमा उथलपुथल आयो । सातवटा सन्तान जन्माए पनि एउटै सन्तान उनको भाग्यमा भएन, सबैको मृत्यु भयो । सन् १८६९ मा उनको शरीर माटोमा निदायो । तर, सिर्जना भने ओइलाएको छैन बरू फुलिरहेको छ । उर्दु र फारसी भाषामा सिर्जना गर्ने गालिबलाई बदनाम सायर पनि भनिन्छ । आज उनको बाँकी कुरामा चर्चा हुने छैनन । हुने छ त केबल उनका मजेदर किस्साको बारेमा । उनको जीवनी भन्दा उनले बनाएको कथाले पाठकलाई खुलदुली बनाउने छ । त्यही खुलदुली मेटाउने प्रयास रहने छ ।

गालिबका किस्सा

ओशोले आफ्नो प्रवचनमा गालिबको एउटा रोचक किस्सा सुनाएका छन् । ओशोद्वारा प्रवचनमा दिएको सो किस्सा यस्तो छ ः

Advertisement

एकपट राजा बहादुर शाहले गालिबलाई कुनै एउटा भोज भतेरमा निमन्त्रणा गरेका थिए । गालीबका साथीले सो कार्यक्रममा जाँदा अलि राम्रो भलाद्मी किसिमका कपडा लगाएर जान अनुरोध गरे । गालिबले पुरानो कपडा फाटेको जुत्ता, च्यात्तिएको टोपी लगाएर राजाको कार्यक्रममा जान नहुने सल्लाह दिएका थिए । गालिबले यो कुरालाई अस्वीकार गरेका थिए । साथीहरू भाडाको कपडा लगाएर जान पनि सुझाए तर भाडाको कपडामा आफुलाई स्वतन्त्र ठान्न नसक्ने भन्दै उनी आफ्नै पुरानो कपडा पहिरिएर कार्यक्रममा गए । राज दरबारको मुख्यद्वारमा उभिएको द्वारपालले उनलाई भित्र प्रवेश गर्न निषेध गरे । यो राजदरबार हो पाङ्दुरे आउने ठाउँ होइन भनेर द्वारमै रोके । गालिबले आफू पाउना भएको पनि बताएका थिए तर द्वारपालले त्यसलाई फर्जी बताए । गालिब अपमानको झोला भरेर घर फर्किए । साथीहरूलाई सबै वृतान्त सुनाए । साथीहरूले भाडाको कपडाको व्यवस्था गरिदिए । औपचारिक भाडाको कपडा लगाएर उनी फेरि कार्यक्रममा गए । मुख्य द्वारमा उनको निमन्त्रणा पत्र हेरियो । द्वारपालले सोही नामबाट एउटा भिखारी नाथु आएको र त्यसलाई धपाइदिएको कुरा सुनाएर ससम्मान स्वागत गरे । बहादुर शाहको कार्यक्रम चलिरहेको थियो । एकैछिनमा गालिबले त्यहा अनौठो हर्कत प्रदर्शन गर्न थाले । गालिबले मिठाई लिएर आफ्नो टोपीलाई खुवाउन लागे, अर्को मिठाई लिएर कोटलाई खुवाउन थाले । यो सब हर्कत देखेर बहादुर शाहले शिष्टाचारको पनि हद हुन्छ भनेर गालिबसँग कड्किए । गालिबले, ‘माफ गर्नुहोला हजुर यहाँ कहाँ गालिब आएको छ र ? गालिब त पहिला आएको थियो, फर्काइयो । अहिले आएको त कोट हो, आवरण हो, यो सम्मान त पहिरहन्लाई हो । त्यसैले यसैले पाउनु पर्छ यो सब सम्मान र भोजन ।’ गालिबले बादशाहलाई सबै कुरा बताए । यो किस्सालाई नेपालमा लक्ष्मीप्रसाद देवकोटाको किस्सा भनेर कथा हालेको हामीले सुनेना छौँ । ओशोको अनुसार यो किस्सा गालिबको हो वा नहुन पनि सक्ला । अतितका कुरामा रंगरोगन नहुने कुरै हुन्न । दुई शताब्दी पहिला बनेको किस्सा यो लामो यात्रासम्म आउँदा यसमा अनेक मसालाको लेप पनि लगाइ हालिन्छ । आरब्धमा यो किस्सा सुनाएपछि अब उनको जीवनमा जुको झैँ टासिएको रक्सीको किस्सातर्फ लागौँ ।

बदनाम सायर

गालिब आफ्ना केही व्यक्तिगत बानीका कारण बदनाम थिए । जुवा, नशा, अलमस्ती आदि कुरामा उनका धेरै किस्साहरू छन् । उनलाई आफू बदनाम भएकोमा न चिन्ता न त अपसोस् नै थियो । ‘म बदनाम छु’ भनेर गर्व थियो । उनको दुनियाँलाई हेर्ने दृष्टिकोण अलग्गै थियो । एकपटक गालिबको साथीले भनेका थिए, ‘फलानो सायर एकदम दाम्मी छ ।’ गालिबले प्रतिउत्तरमा भनेका थिएँ, ‘त्यो त घटिया सायर हो । सायर भन्न पनि नसुहाउने ।’ यो सुनेर उनको साथीले सोधेका थिएँ, ‘किन त्यस्तो ?’ गालिबले भने, ‘हेर उसले जिन्दगीमा कहिले रक्सी पिएको छैन, जुवा खेलेको छैन, कहिले केटी जिस्काएको छैन, न त कुनै केटीले उसलाई जुत्ताले हिर्काएकै छ, ऋण लिएर डुबाएको छैन, ऐयासी गरेर बदनाम पनि भएको छैन । ल भन कसरी असल सायर भयो ?’ आदर्श शायरको बारेमा उनको दिल्लगीबाज धारणा यस्तै थियो । यसै विषयमा उनको एउटा शेर छ ः

‘गालिब’ बुरा न मान जो वावाइज बुरा कहे

ऐसा भी कोई है कि सब अच्छा कहें जिसे

यसको अर्थ केही यस्तो निकाल्न सकिन्छ: दुनियाँले तिम्रो बारेमा नराम्रो भन्दैमा मन नदुखाउनु । यो सारा जगतमा कोहि पनि चोखो व्यक्ति छैन जसको बारेमा नराम्रो नभनिएको होस् ।

गालिब आफ्नो जीवनलाई नवाबी तरिकामा जिउँथे । जिन्दगी जिउने उनको आफ्नै दर्शन थियो । परम्परागत नियम, मान्यता र संस्कारलाई वेवास्था गर्दिन्थे । रक्सी पिउनु, जुवा खेल्नु आवारापन गर्नु उनको आदत थियो । उनी भित्र जे थिए, बाहिर पनि त्यही थिए । दुनियाँसँग डराएर हिँड्ने मान्छे र हावाहवाई कुरालाई आत्मसरण गर्ने मान्छेहरूका लागि उनले एउटा शेर लेखेका छन् :

हम को मालूम है जन्नत की हकिकत लेकिन

दिल के शुस रखने को ’गालिब’ ये खयाल अच्छा है

यसलाई यसरी अर्थ लगाउन सकिन्छ ः स्वर्ग नर्कको वास्तविकता मलाई थाहा छ । यो मान्छेले बनाएको काल्पनिक संसार हो । आम मान्छेले यसलाई सत्य मानेर हिँडछन् । तिमीहरूको यो कुरा सुनेर मलाई हाँसो लाग्छ । म त यहि जमिनलाई नै स्वर्ग बनाएर जिउँछु । तिमीहरू स्वर्गको परी र रक्सीको झरना सम्झेर बस ।

उनी मुस्लिम समुदायबाट भएपनि नमाज पढ्ने बानी थिएन । उनलाई एकपटक नमाजी मुस्लिमले सोधेका थिए, ‘रक्सी पिउनु खराब आदत हो ।’ गालिबले भने, ‘किन ?’ नमाजीले भन्यो,‘रक्सी खाएर गरेको प्रार्थना स्वीकार हुन्न ।’ गालिबले जवाफ फर्काए,‘यदि रक्सीको बोतल आफ्नै अगाडि छ भने प्रार्थना गरेर अरू के माग्न प¥यो र ?’

त्यतिबेला भारतमा पान खाने ठूलो जमात थियो तर उनी पान खाँदैनथे । उनी हुक्कापान चाहिँ गर्थे । दिन किताबसँग रात रक्सीसँग बिताउने गर्थे । उनी अङ्ग्रेजी रक्सीको सौखिन थिए; ‘ओल्ड टम’ र ‘क्यास्टेलोन’ उनको मनपर्ने ब्राण्ड थियो । रक्सी पिउने लगायत अन्य खराब लतका कारण उनलाई आर्थिक समस्याले घेरिरहन्थ्यो । उनका प्रशंसकले उनको रक्सी पिउने आवश्यकतालाई जसरी भएपनि पूरा गर्दिन्थे । एकपटक रक्सीको व्यवस्था हुन नसकेको कारणले चिन्तित थिए । यो बेचैनीलाई चिर्न उनी मस्जिदमा नमाज पढ्न भनेर गए । उनी नास्थिक भएको कारणले मस्जिदमा रहेका अन्य मान्छेले आश्चर्यजनक भएर हेरिरहे । उनको शुभचिन्तकले टाढैबाट रक्सीको बोतल देखाउँदै आए । गालिबले बोतल देखेर खुसी हुँदै नमाज पढ्न बढाएका पाइलालाई रक्सीको बोतलतर्फ मोडे । यो देखेर मस्जिदका मान्छेले उनलाई ‘यहाँसम्म आइसके पछि नमाज पढेर जाऊ’ भन्ने सल्लाह दिए । गालिबले आफ्नो अन्दाजमा जवाफ दिए, ‘जे चिज माग्न मस्जिदसम्म आएको थिए, सो कुरा नमाज नपढी प्राप्त भयो, अब नमाज पढ्नु के अर्थ’ भनेर रक्सीको बोतल समाउन पुगे ।

एकपटक उनी रक्सी किन्न भनेर गएका थिए । यति धेरै रक्सी किने कि भरियाको लागि पनि पैसा बाँकी रहेन । उनले गधालाई रक्सी बोकाएर घर आए । उनको श्रीमती खाद्यान्न लिएर आयो भनेर खुसी भइन । तर सामान उतार्दा रक्सी मात्र देखेपछि चिन्तित देखिइन् । गालिबले भने, ‘तिमी त अल्लाहलाई मान्ने मान्छे । अल्लाहले हरकोहिलाई खाने व्यवस्था गर्छन् । यो रक्सी चाहिँ अल्लाहले उपलब्ध नगराउने भएकोले आफैं व्यवस्था गर्न पर्छ ।

एकपटक अंग्रेजले कर्फ्यु लगाएको समय थियो । घरबाट बाहिर निक्लन पाइने कुरै भएन । गालिबलाई निकै रक्सीको तलतल लाग्यो । सन्धाको समय थियो । उनी बाहिर निक्लिए । अनौठो खालको टुर्किस कपडा, फरक खालको टोपीमा सधैं झैँ सजिएका गालिबलाई देखेर प्रहरीलाई सन्देह भयो । उनलाई पक्राउ गरेर ब्रिटिस अधिकारी समक्ष प्रस्तुत गरियो । विचित्र अन्दाजको कपडा देखेर अधिकारीले सोधे,‘तिमी मुसलमान हो ?’
गालिब– हो हजुर आधा हुँ ।
अधिकारी– आधा मुसलमान ?
गालिब – हजुर किन कि म रक्सी पिउँछु तर सुँगुर खान्न ।
यो अन्दाज देखेर अधिकारी हाँस्न थाले । उनलाई रक्सी पिलाएर पठाए ।

उनले लिएको ऋण चुक्ता गर्न नसकेपछि उनी जेल पनि परे । उनलाई शुभचिन्तकहरूले निकाले पनि । जेलमा एउटा रमाइलो किस्सा पनि छ । गालिबसँग कुनै पनि विषयलाई हास्यरसमा लैजान सक्ने क्षमता थियो । उनी जेलम हुँदा एकजना कैदी तीन महिनाको लागि जेल परेकाले रुँदै थियो । गालिबले सोधे, ‘ किन रोएको ?’ कैदीले भन्यो, ‘आज मेरो विवाह थियो । आजै जेल परेँ ।’ गालिबले मजाक गर्दै भने, ‘अरे ! धन्यवाद देऊ अल्लाहलाई, तीन महिना मात्र जेलमा परियो भनेर विवाह गरेको भए जिन्दगीभर जेलमा बस्नुपर्थ्यो ।’

उनको जति धेरै प्रशंसक थिए त्यति नै दुश्मन पनि थिए । एकपटक एउटा दुश्मनले उनलाई गाली गरेर पत्र लेखेको थियो । सबै साथीभाइको अगाडि त्यो पत्र पढियो । पत्र पढेर सबै रिसाएका थिए तर गालिब हाँस्न थाले । उनले भने, ‘उरन्ठेउलोलाई गाली गर्न पनि आउन्न । म भएको भए यस्तो यस्तो गाली गर्थे मलाई ।’ यति भनेर उनले आफैंलाई यस्तो यस्तो गाली गरे कि यो सुनेर उनका साथीभाइ दंगदास भए । गालीकै सम्बन्ध अर्को किस्सा पनि छ जब उनलाई आमाको गाली दिइएको थियो । त्यो गाली पढेर उनले भनेका थिए, ‘यो उल्लुलाई गाली गर्न पनि आउन्न । कुनै वयस्कलाई उसको श्रीमतीको नाम प्रयोग गरेर गाली गरियो भने मन दुख्न सक्छ । कुनै बच्चालाई आमाको नाम प्रयोग गरेर गाली गरियो भने मन दुख्न सक्छ । यो गधाले ७२ वर्षको मान्छेलाई आमाको गाली गर्छ । जसको आमा नै छैन ।’

मिर्जा गालिब र आँपको सम्बन्ध

गालिबलाई आँप एकदम मनपर्ने फल थियो । उनलाई आँपको अगाडि उखु पनि कमसल लाग्थ्यो । यसमा त उनले शेर पनि लेखेका छन् ।

मुझसे पूछो तुम्हें खबर क्या है
आम के आगे नेशकर क्या है

एकदिन यस्तो भयो जतिबेला गालिबले आँप खाँदै साथीसँग भलाकुसारी गरिरहेका थिए । त्यतिबेला एउटा गधा त्यहीँ बाटो हुँदै गयो र भुइँमा भएको आँपलाई नजरान्दाज ग¥यो । यो देखेर गालिबको साथीले भने, ‘मिया आँपमा त्यस्तो के छ ? यो त गधाले पनि खान्न ।’ मिर्जा साहेबले तुरुन्तै जवाफ फर्काएँ, ‘मियाँ जो गधा हो त्यसैले आँप खान्न ।’

आँपको सम्बन्धमा अर्को एउटा किस्सा पनि छ । एकदिन बादशाहसँग आँपको बगैंचामा गालिब विहार गरिरहेका थिए । त्यस बगैंचाको आँप राजारानीलाई मात्र खाने अधिकार थियो । गालिब साबको आँखा बारम्बार आँपतिर जाँदै थियो । यो देखेर बादशाहले सोधे, ‘के भयो तिमी घरिघरि आँपको बगैंचामा के हेर्दै छौ ?’ गालिबले भने, म हेरिरहेको छु कि कुनै आँपमा मेरो र मेरो परिवारको नाम पनि लेखेको छ कि भनेर ।’ यो सुनेर बादसाह मुस्कुराए, हरेक दिन एक टोकरी आँप गालिबको घरमा पु¥याउने व्यवस्था भयो ।

गालिबका किस्साहरू रोचक छन् यद्यपि गलत पनि होलान । गालिब आफ्नो अदाले चिनिन्छ्न । एउटा अमर शायर जसले उर्दु साहित्यलाई कालजयी सिर्जना दिएर गए । उनका गजल र शायरीले आज पनि उस्तै स्वस्थ श्वास फेरिरहनुले नै उनको सिर्जनाको शक्तिलाई दर्साउँछ । अदा र अदबका सम्राट मिर्जा गालिबलाई रसिलो सम्झना ।

प्रस्तुति: जनक कार्की अनुवादक