February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

कवितालाई सस्तो भावुकताको सिकार बनाउनु हुन्न : श्यामल

5.3K

‘कविसँग कविका कुरा’ अन्तर्गत कवि जनक कार्की र कवि श्यामलबीचको कुराकानी यहाँ प्रस्तुत छ:

‘दि भल्चर एण्ड द लिटल गर्ल’ नामक तस्वीरले विश्वको कोमल हृदयमा नङ्ग्रा गाडेको थियो । साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरद्धारा सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचिएको उक्त तस्वीरमा एक गिद्ध चरम भोकले तड्पिएर मर्न आँटेकी एक सानी बालिकाको मृत्युको प्रतीक्षा गरिरहेको छ । उक्त फोटोबाट कार्टर पुलित्जर पुरस्कारबाट सम्मानित भएपनि उनले सम्मानको आनन्द धेरै दिन लिन पाएनन् । उक्त फोटो खिचेको केहि महिना पछि ३३ वर्षको उमेरमा उनले आत्महत्या गरेका थिए । उनको आत्महत्यालाई तपाइँ कसरी लिनुहुन्छ ?

अब प्रश्नतर्फ लागौँः आजको परिस्थितिमा पनि कविले गिद्ध र भोको बालिकाको कविता त लेखिरहेकै छन् । कविता लेखेर वाहवाही पनि बटुलेकै छन् । तर एउटा जिम्मेवार कविको कर्तव्य भनेको के समाज चित्रण गर्दिने मात्रै हो कि केही जिम्मेवारी पनि हुन्छ ? कतै हामी कविहरू त्यही फोटो खिच्ने क्यामराम्यान जस्तो अर्को गिद्ध त बनिरहेका छैनौ ?

Advertisement

निसन्देह, जब उनी पुरस्कारबाट सम्मानित भए, र खुसियाली मनाउँदै थिए, त्यसबखत दुनियाँभरका सञ्चार माध्यममा उनकै चर्चा भइरहेको थियो । त्यतिबेला उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो –“त्यसपछि त्यो बालिकाको के भयो ?” उनले जवाफ फर्काए –त्यसपछि म त्यँहा रोकिईँन, किनकि मेरो फ्लाईट डिले हुँदैथियो । उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनितर्फ इङ्गित गर्दै भने –“म तपाईँलाई भनिरहेकी छु कि त्यसदिन त्यँहा दुईवटा गिद्ध थिए, जसमध्ये एकको हातमा क्यामेरा थियो ।” फोटो पत्रकार करविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा अवसादमा पुगेर आत्महत्या गरे ।

अवसादका पनि तह वा चरण हुन्छन् भनिन्छ । धेरथोर हामी पनि अवसादग्रस्त हुन सक्छौं । समाज व्यवस्थासंँगका हाम्रा अपेक्षा पनि छन्, हाम्रा असीमित चाहना र महत्वाकांक्षा छन्, हामीलाई मन नपर्ने कुरा पनि छन्, कतैतिर बढी आशक्ति पनि छ, कुनै व्यर्थका चिन्ता र कुनै समाज (तपाईंको भाषामा राजनीति) ले थोपरिदिएका चिन्ताको भारी पनि छ । बाँच्ने क्रममा तपाईंले धेरै थोक भोग्नुपर्छ । चिन्तनशील मानिस यस्तै चिन्तामा हुन्छ । धेरैजसो मानिस आफ्नो असफलता, व्यर्थता, र जीवनको क्षणभंगुरता वा निस्सारताको बोध भएपछि आफू बाँचिरहेको समाजबाट भाग्न सन्यास ग्रहण गर्छन् । दैवी शक्तिको आराधना गर्नतिर लाग्छन्, जसलाई प्रचलित भाष्यमा अध्यात्म भन्ने गरिन्छ । समाजले खडा गरेका प्रश्नहरुको सामना गर्ने ह्याउ सकिएपछि उसका अगाडि विकल्पहरु साँघुरिंदै जान्छन् र केही मानिस आत्महत्याजस्तो खतरनाक कृत्य गर्न उद्यत हुन्छन् । तर यो विसंगति बोध र समाज वा पारिवारिक व्यवस्थाप्रतिको यस तहको वितृष्णाबाट दार्शनिकहरुले र कविहरुले उत्कृष्ट जीवन दर्शन दिएका यथेष्ट उदाहरण पनि छन् । धार्मिक वा राजनीतिक पाखण्डसँग लड्दै सोक्रेटिस र ग्यालिलियोले मृत्यु वरण गरे । उनीहरुको अन्त्य सत्यको खोज र स्थापनाका लागि भयो । यसलाई आत्मबलिदान भन्न सकिन्छ । उनीहरुले पत्ता लगाएको सत्यलाई तत्कालीन समाजले अस्वीकृत गरे तापनि आजपर्यन्त त्यो सत्य बदल्ने साहस कसैले गरेको देखिन्न ।

असंख्य प्राणी र वनस्पतिहरुलाई जीवन दिने पृथ्वी नामक यस ग्रहलाई केही पाखण्डी राजनीतिकर्मी, अपराधी मानिसहरू र स्वार्थी तत्वहरुले यति धेरै दोहन गरेका छन् कि यो वसोवास गर्न अयोग्य बन्दै गएको छ । यस्तो अवस्थामा मानिस अवसादको सिकार हुनु धेरै सम्भव हुन्छ ।

जहाँसम्म आत्महत्या गर्ने क्यामराम्यानको प्रश्न छ, त्यस्तो अवस्थामा उसँग समुचित उत्तर तयार नहुनु र प्रश्नले अवसादतर्फ धकेल्नु उसको अन्त्यको कारक बन्न गएको देखिन्छ । हामी मानव भएर जन्मेपछि समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह गर्न सक्नुपर्ने हो । तर संसार त्यस्तो छैन । संसारका धेरै मुलुकमा युद्ध, दंगा, कचिंगल, काटमार, अन्याय र अत्याचार जारी छ । संयुक्तः राष्ट्रसंघ जस्ता निकायहरु पनि विकसित र धनी मानिएका मुलुकहरुका अगाडि निरीह बन्न वाध्य छन् । विज्ञान र प्रविधिको विकासलाई मानवताको सेवामा लगाउनुपर्नेमा महत्वाकांक्षी शासकहरू र युद्ध सरदारहरूले हिंसामा प्रयोग गर्नाले विश्वशान्ति भन्ने कुरा नारामा मात्र सीमित भएको देखिन्छ । तेलका धनी इराक, इरान, यमन, लेबनान, सिरिया र लिबिया लगायतका अरब मुलुकहरुमा पसेर उन्मादी पश्चिमा शासकहरुले वितण्डा मच्चाइरहेको बारे दुनियाँ जानकार छ । हाम्रै छिमेकी मुलुक अफगानिस्तानको दुरवस्था हेर्नोस् । अफ्रिकी देशहरूलाई लामो समय उपनिवेश बनाएर कंगाल र असहिष्णु समाजको सिर्जना गरिएको छ । कोरियाली प्रायद्वीप साठीऔं वर्षदेखि अशान्त छ । चीनको समृद्धिबाट अत्तालिएर पश्चिमा मुलुकहरू ताइवान प्रवेश गरेका छन् । साना ठूला हतियार बेचेर दोहन गर्ने पूँजीवादी काइदा हो यो । विश्व अर्थतन्त्र युद्धमा आधारित भइसकेको छ । पारमाणविक, तीब्र गतिका अन्तर्देशीय र अन्तर्महादेशीय क्षेप्यास्त्रहरु, साना ठूला हतियार उत्पादन गर्ने फर्महरुका मालिकहरु राज्यका नीति निर्माणमा हावी भइरहेका छन् र धन र सुविधा एकत्रित गरिरहेका छन् । यसरी विश्वको स्रोत मुठ्ठीभर मानिसहरुले अन्यायपूर्वक दोहन गरिहेको देखिन्छ । यसले जलवायु परिवर्तनमा प्रतिकूल असर पर्नुका साथै सम्पूर्ण पृथ्वी नै संकटमा फसिरहेको छ । पछिल्लो अवस्थामा युरोप र अमेरिकाको डढेलो, अफ्रिका र युरोपको खडेरी र पाकिस्तानको बाढी मानवताद्रोही पूँजीवादी उपभोक्तावादी संस्कृतिको सेवाका लागि खोलिएका उद्योगहरुले निकालेको कार्बन उत्सर्जन र त्यसका कारणबाट भएको तापमान वृद्धिका परिणाम हुन् । अब मानवतालाई बचाउन नयाँ पहल गर्नु जरुरी भइसकेको छ ।

आफूलाई, आफ्नो जाति वा वर्ण वा विचार वा आस्थालाई मात्र श्रेष्ठ ठान्ने स्वभावलाई उल्ट्याएर त्यस्तो प्रविृत्तिलाई शुन्यमा झार्न नसकिए पनि धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ भनेर निरन्तर लागिरहँदा मानवताको ठूलो अंशलाई जोगाउन सम्भव छ । गीताको उपदेशलाई प्रतीकात्मक अर्थमा लिने हो भने धर्मका रक्षाखातिर युगयुगमा महामानव जन्मन्छन् । वर्तमान सन्दर्भमा साहित्यकारहरुले यस नकारात्मक दबाबलाई आत्मसात् गरेको हुनु जरुरी छ र त्यसै अनुरुप आफ्ना कलारचनामा यस्ता भयावह संकटको सामना गर्ने साहसको प्रतिबिम्बन गर्नु पर्दछ । नत्र मानव समाज समाप्त हुने गम्भीर संकट उपस्थित हुँदै जानेछ । प्राकृतिक वातावरण र सन्तुलित पर्यावरणीय पारिस्थितिकीलाई जोगाउन सकिएन भने हाम्रा रचनाहरुको कुनै अर्थ रहने छैन । सम्पूर्ण मानवता आत्महत्यामा अग्रसर भइरहेको देख्तादेख्तै हामी चुप लागेर बस्न मिल्दैन, न त यस्ता संकटबाट अन्यत्र ध्यान मोडेरै समस्याको हल खोज्न सकिन्छ ।

यस संसारका मानिसहरू विभिन्न गुण र अवगुण लिएर जन्मिछन् । पृथ्वीमा आजसम्म जति पनि कवि जन्मिए उनीहरूमा के त्यस्तो विशेषता भएर कवि बने होलान ?

मानिसमा विद्यमान जीवनदृष्टि नै पहिलो सर्त हो र कविहरु अलि फरक ढंगले जीवन जगतलाई नियाल्ने कलाको विकास गर्न सक्षम हुन्छन् । कालबोध र त्यसको पुनर्सिजन गर्ने कलाका कारण उत्कृष्ट कविहरु विशिष्ट क्षमताका धनी हुन्छन् । काव्यभाषाको खोज उनीहरुले गरेका छन् । अत्यन्त प्रभावकारी विशिष्ट अभिव्यक्ति शैलीको खोज उनीहरुले गरेका छन् । भाषा एक चलायमान तत्व हो । यसका अनगिन्ती सम्भावना छन् र काव्यकौशलका प्रतिभाहरुले भाषालाई सदैव नयाँ अर्थ दिने प्रयास गर्छन् । जीवन र जगतलाई बुझ्ने र त्यसलाई अर्थपूर्ण ढंगले सिर्जनात्मक उपयोग गर्ने मामलामा नै उनीहरुको अहं भूमिका रहन्छ । त्यही नै उनीहरुको सबभन्दा ठूलो विशेषता हो ।

शताब्दीयौं पुरानो अग्नि पुराणमा भनिएको छ: ‘कवित्वं तत्र दुर्लभम् ।’ पहिले त यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि कवि हुनु झन् दुर्लभ हुन्छ भन्छन् अग्नि पुराणका रचयिता हाम्रा महर्षिहरु । हाम्रो पूर्वीय वाङ्मयमा संस्कृत काव्य साधकहरू कालिदास, भवभूति, माघ, भारवि आदि र नेपालीका लेखनाथ, देवकोटा, रिमाल, सम, घिमिरे आदि हाम्रा दुर्लभ प्राप्ति हुन् । पश्चिमी सभ्यताका एस्किलस, सोफोक्लिज, प्लेटो, होमर, सेक्सपियर, शेली, वर्डस्वर्थ, टल्स्टोय, रुसो, पु्रधों, वोदलेयर, गोर्की, चेखव, वाल्ट व्हिटमन, एलेन गिन्स्वर्ग, पाब्लो नेरुदा, बर्तोल्त ब्रेख्तले हामीलाई आफ्ना भाषिक काव्यकलाका चमत्कारले आच्छादित तुल्याएका छन् । उनीहरुले आफ्नो समयको दुश्चक्रसँग लड्न भाषाको धारिलो अस्त्र तयार गरेका थिए । उनीहरुको उद्देश्य अधिक मानवीय चेतनासम्पन्न समाज बनाउनु थियो । तसर्थ उनीहरुले राज्य र सुखसुविधाभन्दा फरक बाटो रोजेका थिए । टर्कीका नाजिम हिक्मत यस्तै अर्को नाम हो । यसैगरी जापानी, पोर्चुगिज, चिनियाँ, जर्मन, हिन्दी, फ्रेन्च, रोमन र स्पानिस लगायत अन्य कतिपय युरोेपेली–एसियाली–अफ्रिकी भाषाका कवि लेखकहरुमा उत्कृष्ट काव्य क्षमताको अनुभव गर्न पाइन्छ । जसले लिपिजन्य साहित्य गर्न जानेनन्, तिनका लागि सिर्जनाको बाटो बन्द हुँदैन । ती कुची, बाजा र गलाले समाजको क्रूरतासँग लड्ने बाटामा हुन्छन् । त्यसैले तिनलाई हामी विश्व सम्पदामा लिन्छौं । जनकजी, हामीले बिर्सनै नहुने कुरा के हो भने आक्रान्ताहरुले कतिपय भाषामाथि दमन गरेका छन् र समय समयमा महान् प्रतिभाहरुले धेरै मूल्य चुकाउनु परेको छ । ताजा उदाहरण लिऔं, अहिले इरानमा हिजाबको बहानामा त्यहाँको कट्टरपन्थी धार्मिक शासनको विरोधमा ठूलो विद्रोह भइरहेको छ, जसमा कवि कलाकारहरु अग्रपंक्तिमा रहेको देख्न सकिन्छ । यो क्रम चलिरहनेछ ।

हामी त्यो पुस्ता हौ जसले परिवर्तनलाई छिटोछिटो देख्न पायौं, हामीले बाँचेको युगमा धेरै कुरा सभ्य बनेर आयो । हाम्रो पुस्ता सबैभन्दा बढी सुखसुविधा र विलासी आवश्यकता पूरा गर्दै आएको देखिन्छ । ईतिहास पल्टाउदा भेटिने राजामहाराजाले भोग गरेको सुखसुविधा अहिले सामन्य मानिसले भोग्दै आएका छन् । मानवसभ्यता सुरु भएपछि लामोसमयसम्म पृथ्वीमा युद्ध र शक्ति प्रदर्शन गरेरै बित्यो । दोस्रो विश्वयुद्ध भएको सात दशक बितिसक्दा आज पनि युद्ध कायम नै छ, शक्तिशाली बन्ने मोह पनि जिवितै छ, अहम् झन् झाङ्गिदै छ । राजनीती डम्पिङ साइटभन्दा बढी गनाउँछ । हामीले भोगिरहेको सुखको मूल्य पनि दुखले नै चुकाउनु परेको छ । सबैकुरा पाएर, सुखसुविधा भोगेर पनि यो युग मानवजातिको लागि झन् कठिन हुँदैछ । कहाँ कसरी केमा चुकिरहेको छ आजको मान्छे ?

मानव जातिको सबभन्दा ठूलो दुःखलाई चिन्न र त्यसको निराकरण गर्न दार्शनिकहरूले विगतमा धेरै ठूलो प्रयास गरेका छन् । पश्चिमममा अरिस्टोटल, ग्यालिलियो ग्यालिली, जँ ज्याक रुसो, कार्ल माक्र्स आदि सयौं महान् दार्शनिकहरुले सत्यको खोजमा आत्मोत्सर्ग गरेका थिए । पूर्वमा, अझ हाम्रै नेपाली माटोमा, सिद्धार्थ गौतम बुद्धको उदय यस्तै युगान्तकारी घटना थियो । उनले दुःखको कारण पत्ता लगाए, र मानव जातिलाई अहिंसा र शान्तिको मार्गमा बढ्न अनवरत प्रयत्न गरे । थिचोमिचो र युद्ध नै वर्तमान विश्वका दुःखका कारक हुन् । पहिलेको दुःख सामन्तवाद र त्यसको हाँगो दासप्रथा अनि अलि पछि उपनिवेशवाद थियो, अहिलेका दुःखका स्रोत विश्व प्रभुत्ववाद, क्रूर पूँजीवाद र घिनलाग्दो उपभोक्तावाद नै हुन् । यिनका कारणले नै मानवताले नाना थरीका हिंसा खेपिरहनुपरेको छ । हाम्रो लेखनको मूल उद्देश्य तिनको समूल उच्छेद गर्न मानिसलाई तयार गर्ने महान् लक्ष्यतर्फ लक्ष्यित हुनुपर्छ ।

सम्भवतः अरुभन्दा बढी आनन्द भोग गर्ने इच्छा, अरुभन्दा माथि हुने इच्छा, अरुभन्दा बढी धनी हुने इच्छा, आफ्नो जातीय र धार्मिक श्रेष्ठता कायम गर्ने इच्छा, अरुमाथि शासन गर्ने इच्छा, यिनै हुन् मानव समाजका कलंक अमानवीय वृत्तिहरू । लाखौंलाख मानिसको हत्या गरेरै, कुल्चेरै, दबाएरै इस्लाम र क्रिश्चियन धर्म फैलिएको तथ्यसंग तपाईं अवगतै हुनुपर्छ । तर न सनातनीले, न गौतम बुद्धले, न त कन्फुसियसले नै त्यसो गरे । तिनले मानव जातिको परिष्कार र सभ्यताको विकासमा ठूलो योगदान गरे, अहिंसा र शान्तिको बाटो रोजे । आजको अमेरिका आक्रामक युरोपेलीहरुले मूल वासिन्दालाई मारेर, षडयन्त्र गरेर खडा गरेको राज्य हो भन्ने कुरामा तपाईं सहमतै हुनुहुन्छ होला । युरोपमा आज पनि जातीय युद्धहरु भइरहन्छन् । पश्चिमाहरु चाहन्छन्, विश्वका सारा मानिस उनीहरु जस्तै हुनुपर्छ, उस्तै पोशाक, उस्तै खानपान, उस्तै संस्कृति भएको मानिस उनीहरुको चाहना हो । आफ्ना मूल्यप्रणालीलाई अरुमाथि थोपर्ने प्रभुत्ववादी चाहनाका प्रतिकार त मानिसले गर्छ नै, अनि युद्ध हुन्छ । युद्धको मूल कारण वैमनस्य हो, वैमनस्यको कारण असहमति हो, असहमतिको कारण फरक फरक इच्छाहरुको घर्षण हुनु हो ।
भोगको कहिल्यै तृप्त नहुने भोकलाई तत्काल समन गर्न जुनसुकै खराब नीति अवलम्बन गरेर भए पनि शासकहरु लागिपरेका छन् । यसकै कारण अहिले मानिस प्रकृतिसंग तादात्म्त्य राख्न चुकिरहेको छ र पृथ्वी संकटमा छ । दुःखबाट मुक्ति र सुखको खोज, अहिले एक्कासी, यस युगमा वा एक्काइसौं शताब्दीमा मात्र गरिएको होइन, मानव इतिहासको प्रारम्भ भएदेखि नै हो । तर आनो वा आफ्नाको सुखको खोज गर्दा अरुको सुखको हरण गर्ने प्रवृत्तिले नै समाजमा विग्रहकारी र विध्वंसकारी चरित्र देखा पर्ने हो, समाजमा संकट उत्पन्न हुने हो, हिंसा, बलात्कार र युद्ध हुने हुन् । हाम्रो कलमले यस सत्यलाई चिन्न सक्नुपर्दछ ।

कविले ठूलाठूला आँखा, सर्लक्क जिउडाल, हिउँ जस्तो गोरो छाला, अग्ला, लामो कपाल आदिलाई सुन्दरताको मानक बनाइदिए । यसो गर्दा चिम्से आँखा, होचो कद, थेप्चे नाक, मोटो शरीरलाई कुरुप बनाएर अन्याय पनि गरेकै हो । यस्ता विम्ब स्थापित गरेर कविले प्राकृतिक सिर्जनाको अपहेलना गरेकै हो । अब कविहरूले विम्ब परिवर्तन गर्नु पर्ने होइन र ?

हरेक समाज र जातिका सौन्दर्यका आफ्ना खाले मानकहरु हुन्छन् र ती कुनै व्यक्ति विशेषले बनाएको नभई समाजका साझा धारणा तथा मूल्यका आधारमा निर्धारित हुन्छन् । तिनलाई व्यक्तिले लत्याउने जोखिम लिन त सक्छ, तर त्यो यति बलियोे हुन्छ कि विस्थापित नै भने गर्न कठिन छ । संकीर्ण र वाहिर उतिसारो ‘एक्सपोज’ नभएको समाजका सदस्यहरुमा फरक जाति, वर्ण, धार्मिक आस्था वा फरक शारीरिक अवस्थाका मानिसहरुलाई सहजै ग्रहण गर्ने विवेक बनिसकेको हुँदैन । बाहिरी संसारमा चियाएपछि मात्र विविधताको मूल्य थाहा हुन्छ । तर अब विस्तारै त्यस्ता सामाजिक रुढीहरुलाई अस्वीकार गर्ने प्रवृति बढिरहेको हामी अनुभव गर्दैछौं । हाम्रो समाज अलि बढी परम्परावादी, अन्धविश्वासी, रुढ र धेरै ढिलो मात्र संसारका लागि खुलेको बन्द समाज भएकाले सामाजिक, प्राकृतिक, वंशानुगत, शारीरिक विविधतालाई स्वीकार गर्न ढिलो भएको हुनुपर्छ ।
साहित्य सामाजिक उत्पादन हो भन्ने बुझेपछि समाज परिवर्तनसंगै परम्परागत बिम्बका स्थानमा नयाँ बिम्बहरु बन्दै जान्छन् भन्ने पनि बुझिनेछ । मजस्ता कालिदासको सुक्ष्म पर्यवेक्षण कलाका प्रशंसक चेलाहरुले पनि उनले खुट्याएका बत्तीस लक्षणमाथि धावा नबोलिकनै तिनलाई नयाँ अर्थ दिन थालेका छन् । अहिले सौन्दर्यको विविधीकरण भएको छ । नयाँ सौन्दर्यशास्त्र बनेका छन् । कुनै बेलाको बेलायती लगायत अन्य युरोपेली देशको उपनिवेश बनेका मानिसले ओरिण्टियलिज्मको सिद्धान्त प्रतिपादन गरेर विश्वमा तरंग उत्पन्न गरेका छन् । कालो, होचो, पुड्को, पहेंलो, चिम्सो, थ्याप्चो आदि आदिको सौन्दर्य मानक स्थापना गरेका छन् । अचेल अश्वेत लेखकहरुले पनि नोबेल पुरस्कार पाएका छन्, आफ्नो सौन्दर्य मानक स्थापनाका लागि विभिन्न मन्च पाएका छन् । नाइजिरियाली घनघोर कृष्णवर्णी बोल सोयिन्काले नोबेल पुरस्कार पाउँदा सोह्र हात माथि उफ्रेर स्वागत गर्ने हामी नै थियौं । चीनको पीतवर्णी मो यानले चिनियाँ मानिसकै कथा लेखेर नोबेल पुरस्कार हात पारेको हो । अहिले सर्लक्क परेको बेलायती मूलको दक्षिण अफ्रिकी श्वेतवर्णी ईएम कोइजी मात्र होइन, नाइजिरियाली केटी चिमामाण्डा ङोजी अदिचि पनि रुचिपूर्वक पढिन्छे । सौन्दर्यका मानकहरु बन्दै, भत्कँदै बन्दै गर्छन् । बिम्बहरु प्नि बन्दै भत्कँदै गर्छन् । मानिसले नयाँ सोचका राथ कला सिर्जना प्रक्रियालाई अघि बढाउँदै लैजान्छ ।

कुनैबेला ट्रोयकी राजकुमारीको सौन्दर्यमा हुरुक्कै भएर इलियाड पढ्ने, सीता र द्रौपदीजस्ता अनिन्द्य सुन्दरीहरुका गाथा पढेर नथाक्ने हामी नै थियौं । रचनाकालका हिसाबले ती पुराना त भए, तर ऐतिहासिक मूल्य र कालबोधका दृष्टिले अझैं पुराना भइसकेका छैनन् । तिनले आफ्नो समयको यथार्थ र तिलस्म बोकेका छन् । तर त्यस्तो मूल्य प्रणालीमै हुर्केका हामीले हेमिङ्वेको बुढो माझीको कथा पढ्न थालेका होइनौं र ? कृष्णको जीवन दर्शन र धनुर्धर अर्जुनको वीरताले भरिपूर्ण महाभारत पढ्न नछाडेरै हामीले प्रेमचन्दका अति सामान्य र दीनहीन पात्रको बारेमा चिन्तन गर्न थालेका होइनौं र ? हामीलाई प्रमिथस, सिसिफस र स्पार्टाकसजस्ता पात्रहरुले प्रभावित गरेका होइनन् र ? आाधुनिक जमानामा त्यस्ता कतिपय घटना र पात्रहरुमा कथा र उपन्यासहरु बुनिएका छन् र सिनेमा जस्तो श्रव्यदृश्य विधामा पनि ती राम्ररी उत्कीर्ण भएका छन् ।
पछिल्लो समय नेपालीमा त्यस्ता बिम्बहरु भत्कँदै गएका छन् । उलार, हजारौं माइलको बाटो, दमिनी भीर आदि कतिपय उपन्यासमा पींधमा रहेको वर्गलाई सतहमा ल्याइएको छ भन्ने कुरालाई हामीले ख्याल गर्नुपर्छ । कविता र नाटकमा पनि यस्ता गम्भीर प्रयासहरु भएको देखिन्छ ।

आजभोलि कविको परिचय कवि मात्र रहेन । कुन विचारको कवि हो ! कुन पार्टीको कवि हो ! कुन खेमाको कवि हो ! कुन गुटको कवि हो ! गरिब हो कि धनी कवि हो ! आदि इत्यादि कविको अगाडि नयाँ परिचय बनेर आएका हुन्छन् । एउटा कवि विशुद्ध कवि हुनबाट किन चुकिरहेको छ ?

कवि कवि नै हो । कुनै पार्टी वा खेमामा लाग्नु नलाग्नु उसका स्वतन्त्रताको विषय हो । जहाँसम्म विचारको प्रश्न छ, विचार नभएको मनुष्य हुँदैन । त्यसैले कविको पनि निश्चित विचार हुन्छ । सामाजिक राजनीतिक आन्दोलनमा उसको लेखनी वा सशरीर संलग्नताले उसलाई अझ गहिरो अन्तर्दृष्टि प्रदान गर्छ भन्ने मेरो अनुभव छ । यदि कुनै व्यक्ति राम्ररी बुझेर प्रभावकारी कविता लेखिरहेको छ भने उसलाई त्यस्ता ब्राण्डहरुको खासै अर्थ हुदैन । तर तपाईंले प्रश्नमा इंगित गर्नुभएको कुरोलाई गहिरिएर बुझ्नु आवश्यक छ । यस्ता संलग्नताले सत्ता र सुुख प्राप्तिको भर्याङको काम गरेको छ भने ऊ कर्तव्यच्यूत हुन सक्छ र सत्ताको तावेदारीमा सीमित रहन सक्छ । सामान्यतया कविको प्रतिबद्धता समाजप्रति, व्यापक मानवीय संवेदनाको पक्षमा र सत्यको अन्वेषणमा हुन्छ । हामीकहाँ त्यो अलिक दुर्लभ भइरहेको भने हामीले अनुभव गरेका छौं । मलाई लाग्छ, एक समर्थ कवि आफ्नो दृष्टि र विवेकलाई धोका दिन सक्तैन ।

एउटा निश्चित उमेरपछि कविता लेख्न सकिँदैन भनेर एकथरी भन्छन्, तर भारतमा गुल्जारले ८६ वर्षको उमेरमा पनि कविता लेखिरहेकै छन् । कसैले भन्छ्न कविता जति बुझ्यो उति कम लेखिन्छ भनेर । यदि त्यसो हो भने कविता बुझेको मान्छेले त झन् धेरै कविता लेख्न पर्ने हो । यो कुतर्क गरेर किन आफू निकै कविता बुझेको बन्न खोजिरहेछ आफैलाई ढाक्नलाई । नेपालको अहिलेको परिप्रेक्षमा हेर्ने हो भने तपाईंको पुस्ताका कविले कम कविता लेखिरहेका छन्, यसो हुनुमा माथिका बाहेक के कारण हुनसक्ला ?

कविता सहज लेखन होइन भन्ने कुरा हामीलाई अनुभव भएकै हुनुपर्छ । शारीरिक अस्वस्थताका कारणले मानिस युवा वयमै कविता लेखनबाट टाढा पुग्न सक्छ, वृद्ध वयमै पुग्नु पर्दैन । माधव घिमिरे सय वर्षको उमेरमा र अझ अन्तिम समयसम्म पनि कविता लेख्तै थिए भन्ने कुरा हामीले उनकै मुखबाट सुनेका छौं । नवीनतम काव्य भाषाको अन्वेषण अलि कठिन विषय हो । त्यसैले उत्तम कविता धाराप्रवाह रुपमा लेखिरहन सक्ने देवकोटा जस्ता प्रतिभाहरु साँच्चै दुर्लभ हुन्छन् । उमेरले पनि मानिसलाई शिथिल बनाउँछ तर त्यतिबेला पनि उत्कृष्ट काव्यप्रतिभा रोकिंदैन । हो, केही व्यवधान भने पक्कै आउँछन् ।
कविता जति बढी बुझ्यो उति कम लेखिन्छ भन्ने कुरा पनि सत्य होइन । हो, आरम्भमा जस्तो धेरै लेख्ने र प्रकाशित गर्ने उत्साह विस्तारै कम हुँदै जान सक्छ । यसो हुनुका पछाडि कविले कविताको संख्यामा भन्दा गुणात्मकतामा बढी ध्यान दिने गर्नाले पनि हुन सक्छ । आफु दोहोरिने वा अरुको छाया बनेर अरुलाई दोहो¥याइरहने खालको काम कविताको रचना प्रक्रिया र महत्व बुझेको कविले गर्न सक्तैन ।

जहाँसम्म मेरा समकालीन कविहरुले कम लेखेको कुरा गर्नुहुन्छ, हो, तीस र चालिसको दशकको जस्तो गति अवश्य देख्तिन । त्यतिबेला नेपाली समाज चरम विद्रोहको चरणमा थियो, राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको लागि हामी समाजसंगै थियौं । राजनीतिक व्यवस्थामा परिवर्तन आएसंगै केही केहीका निम्ति अन्तिम सत्य त्यही भैदियो । यथार्थ के हो भने, समाजमा झन् कठिन समस्याहरु थपिएका छन् । यस कुरालाई आत्मसात् नगर्नेहरुका लागि उही पुरानै राग प्रिय छ । तर कमै लेखे पनि सजग कवि लेखकहरु अझै क्रियाशील छन् । त्यतिबेलाका जस्ता साहित्यिक पत्रिकाहरु अहिले छैनन् । अहिले लक्ष्य ध्येय र माध्यम फेरिएका छन् । नयाँ साथीहरु नवीनतम उर्जा लिएर देखा परेका छन् ।

तपाईंले कविता लेख्न सिक्दै गर्दाका सुरुवातका दिन र आज स्थापित कविको स्थान प्राप्त गरिसकेपछिको दिनमा कवितालाई हेर्ने उहिले र अहिलेको दृष्टिकोणमा के फरक पाउनुहुन्छ ?

शुरुमा वाह्य लयबाट म धेरै आकर्षित थिएँ । आन्तरिक लयबारे मेरो उतिसारो स्पष्ट धारणा थिएन । शास्त्रीय छन्द परम्परामा हुर्केका कारणले भानुभक्त, लेखनाथ, देवकोटा, घिमिरेका कविताहरुलाई लय मिलाएर पढ्दा जति आनन्द आउँथ्यो, त्यस्तै लेख्ने प्रेरणा हुन्थ्यो । तर पागल र आमाको सपनाजस्ता कविताले मेरो दृष्टिकोणलाई बदलिदिए । म गद्य कविताको खोज र अध्ययनतिर लागें । यसै क्रममा विजय मल्ल, गोपालप्रसाद रिमाल, भूपि शेरचन, मोहन कोइराला, अगमसिंह गिरि, वासु शशी, ईश्वरवल्लभ, हरिभक्त कटुवाल जस्ता सयौं कविका कविताको संगतमा पुगें । यसैगरी अंग्रेजी, हिन्दी, बंगाली, चिनियाँ, जापानी, स्पानिस, फ्रेन्च र जर्मन कविता पढेपछि मेरो क्षितिज फराकिलो हुँदै गयो । ब्ल्याक अफ्रिकन पोएट्री पढेपछि तिनको ध्वन्यात्मकता र संगीतमयताले मलाई भिन्नै संसारमा पु¥याइदियो । अर्थात् कवितामा साँस्कृतिक र सँगीतिक बिम्बहरुको अर्थ बुझ्दै गएँ । कविता शब्दहरुको गुम्फन मात्र होइन, सरल जनभाषामा पनि गहन र उत्कृष्ट रचना सम्भव छ र विषयहरु अनन्त हुने रहेछन् भन्ने अनुभव गरें । कवितालाई सस्तो भावुकताको सिकार बनाउनु हुन्न भन्ने बुझें अर्थात् कविताको भाषा बुझें । जति बढी पढ्छु उति नै आफूलाई नयाँ धरातलमा पाउँछु । तर मेरो आधारभूत दृष्टिकोण भने बदलिएको छैन । त्यो यथावत् छ । अर्थात् कविता लेखन गन्थन होइन, अरुसँग संवाद गर्ने संगीतजस्तो सबैभन्दा प्रभावशाली तथा नित्य गतिशील कला माध्यम हो । एक कवि सधैं सिकिरहन्छ र नयाँपनको खोजमा लागिरहन्छ भन्ने कुरा बुझेपछि कविताबारेका अस्पष्टताहरु हट्दै गए । कवितामा अन्तिम भन्ने कुरा केही हुँदैन भन्ने कुरा बुझेपछि लाग्यो, आरम्भमा मेरा कविता बढी नै समाजको दबाब र परम्परागत स्थापनाहरुका बोझले थिचिएका रहेछन् भन्ने बुझें ।

जिन्दगीको लामो यात्रा तय गरिसक्नुभएको छ । संघर्ष, सफलता, असफलता, प्राप्ती, त्याग, मान, अपमान, हाँसो, रोदनका धेरै घुम्तीहरूमा घुमिसक्नुभयो । अहिले आएर टक्क अडिएर सोच्दा जिन्दगीमा कति कुरा अधुरा र कति कुरा पूरा पनि भए होलान् । गर्न बाँकी र गर्न पाएका कुरा पनि होलान्, यतिबेला सोच्दा जिन्दगी के रहेछ जस्तो लाग्छ ?

मानिसको जिन्दगी धरतीलाई प्रकृतिको आश्चर्यजनक उपहार रहेछ, तर यसलाई विवेकहीन मानिसहरुले कुरुप पारेका रहेछन् । युद्ध, आमविनासकारी हतियारको निर्माण र व्यापार, शक्तिशाली मुलुकहरुले निर्धा मुलुकहरुको स्वत्व हरण, व्यभिचार, हत्या, लुट, बलात्कार, भोक, अनिकाल र विभेदहरुले मानव जातिलाई कलंकित तुल्याइरहेको देख्छु । यसका विपक्षमा उर्लंदो स्वरलाई सलाम गर्छु । तिनमा सामेल हुन्छु । जति अनुभव र प्रतिष्ठा आर्जन गरेको छु, त्यसमा असन्तोष गर्नुपर्छ भन्ने लागेको छैन । समाज र राज्यलाई अत्यधिक मानवीय बनाउने प्रयासमा लागिरहन्छु ।

मानिसको जिन्दगी कति लामो हुनुपर्छ भन्नु भन्दा पनि पाएको छोटै उमेरमा पनि के गर्न सकियो भन्ने कुराले अर्थ राख्छ भन्ने सोच्छु । मैले गर्व गर्ने हिसाबले खास केही गर्न सकेको छैन भन्ने कुराले मलाई चिमोटिरहन्छ । तर मैले एउटा कम्युनिटी बनाएको रहेछु, अथवा कम्युनिटीमा आबद्ध हुन सकेछु । सबै कुरा अधुरै छन् । मेरो देश निरंकुश राजशाहीबाट मुक्त भएको छ, त्यस मुक्तियुद्धमा मैले जीवनका सचेत पचास वर्ष खर्च गरेको छु । तर, त्यसका अवशेषहरुले विभिन्न परिधान र अवतारहरुमा जनतालाई अझैं दुःख दिइरहेका छन् । बाँचुन्जेल तिनका विरुद्ध लागिरहनु मेरो काम हो । मेरो लेखनको आत्मा त्यहीँ छ ।

प्रविधिको विकाससँगै मान्छेको चेतना र अन्याय विरुद्ध आवाज उठाउने हिम्मत पनि बढ्दै गएका छन् । समाजमा इज्जत र प्रतिष्ठा कमाएका मान्छेहरू ३मिटु देखि अन्य हिंसामा मुछिदै आएका छन् । त्यसमा साहित्यकारको नाम पनि बाहिर आउन थालेका छन् । कुनै पनि मान्छेको व्यक्तिगत जीवनका खराब कुरा बाहिरिएपछि स्वतह उसको मर्यादामा ह्रास आउँदै जान्छ । खासमा व्यक्तिको आचरण र उसको सिर्जनालाई फरक नजरले हेरिनुपर्छ वा व्यतिको आचरण गलत भएपछि सिर्जनामा दम भएपनि खराब नै कहलिन्छ ?

साँचो दार्शनिक, नेता, साहित्यकार, योगीहरु र कतिपय आमजनले पनि स्वयंसँग लड्ने क्षमता राख्छन् । एक हदसम्म साहित्यकारले स्थापित अमानवीय सामाजिक मूल्य मान्यता, मानवविरोधी कानुनी व्यवस्था र असत्यका विरुद्ध लड्ने क्षमता राखेका कतिपय उदाहरण छन् । सबैप्रकारका फासीवादी सोचका विरुद्ध पूर्ण स्वतन्त्र जीवनका लागि लड्नु उसको धर्म हो । तर लेखन र व्यक्तिको आचरणमा तादात्म्य हुनु भनेको आदर्श अवस्था हो । त्यो प्राप्तियोग्य विषय हो । तर कमजोरीमुक्त मनुष्य, जसमा साहित्यकारलाई पनि समावेश गरिन्छ, एक दुर्लभ अवस्था अथवा युटोपिया हो । यो कल्पवृक्ष पाएजस्तै हो । यो साँग्रिलामा बसेजस्तै हो । समाजभित्रै भएको हुनाले ऊ समाजकै सबल दुर्बल पात्र पनि हो भन्ने कुरालाई हामीले ख्याल गर्नुपर्छ ।
भानुभक्त, लियो टल्स्टाय, पाब्लो पिकासो, देवकोटा, पाब्लो नेरुदा, रिमाल, सआदत हसन मण्टो, साल्भाडोर डालीे जस्ता साहित्यकार कलाकारको जीवन हेर्नुभयो भने तिनका व्यक्तिगत आचरणका तुलनामा तिनले दिएका उत्कृष्ट कृतिहरु धेरै मूल्यवान छन् । व्यक्तिका रुपमा साहित्यकार समाजको सदस्य हो त्यसैले उसको सर्वाइवलका कतिपय अवस्थामा कमजोरी देखिन सक्छन् । तर कलाकृति कलाकृति नै हो ।

संसारमा धेरै कुरा छन् जसलाई जन्मिसकेपछि सिक्न सकिन्छ । तर कविता सिकाउने तालिम केन्द्र हुँदैनन् यदि छन भने त्यहाँ ठगी हुँदैछ भन्ने बुझेपनि हुन्छ । खासमा कवि कसरी बन्दो रहेछ मान्छे ?

व्यक्ति समाजको इकाइ हो र उसले समाजबाटै मूल्यप्रणाली र संस्कार प्राप्त गर्छ । केही जिनियसहरु हेरेर हामी उनीहरुमा जन्मजात वा दैवी वरदान पाएको ठान्दछौं । तर कला एक सचेत प्रयत्न हो । प्रकृतिमा मानिसले र तिनमा पनि केही मानिसले मात्र उत्कृष्ट कला रचना गर्ने क्षमता राख्तछन् । त्यसैले कला परिष्कारका लागि पाठशाला भए पनि व्यक्तिको सोखको आविष्कार तिनले गर्न सक्तैनन् । व्यक्तिमा अन्तर्निहित प्रतिभालाई उकास्न त तिनले मदत गर्लान्, तर कलाको टुसो त्यसै विउमा अन्तर्भूत हुनुपर्छ । कविता असल वा खराब, बलियो वा कमजोर भएको देखाउने ठाउँ त्यस्ता तालिम केन्द्रहरुले दिन्छन् भने केही बिग्रन्न । खासमा जीवन र जगतलाई गहिरिएर हेर्ने र तिनका विभिन्न आयामहरुको कलात्मक पुनर्रचनामा उत्कृष्ट काल्पनिकताको संयोजन गरेर काव्य भाषाको प्रयोग गर्ने क्षमता भएको मानिस कवि हुन्छ ।

हुनत खुर्सानीविना भान्सा रोकिदैन, यद्यपि खुर्सानी भएको भान्साले धेरै प्रतीकात्मक अर्थ राख्छ । कवि त्यहीँ हो जसले भान्सामा खुर्सानीले जस्तै काम गर्छ । खुर्सानीको उपस्थितिले भान्सा रातोपिरो बनाउन सक्छ, समाजले अझै पनि श्वास फेर्दै छ भनेर स्वाँस्वाँ गरेर जनाऊ दिन्छ । अवस्था अनुसार पिरो हुनुपर्छ भनेर संकेत दिइरहेको हुनसक्छ । तर आजका पुस्ताले भान्साबाट खुर्सानीलाई टाटाबाईबाई गरेर फास्टफूड भित्र्याउन थालेका छन् । यो डिजिटल युगमा के कविता पनि खुर्सानी जस्तै भएको हो साथमा आजका कवि किन खुर्सानी जस्तो पिरो नभइ सबैको गुलियो मात्र बन्न खोजेका छन ?

जस्तो युगमा पनि कला किंवा कविताको प्रभाव, महत्त्ता र सत्ता घट्तैन । प्रविधिले र विविध प्रकारका आविष्कारले त्यसको भूमिका बदल्ने होइन । यी माध्यम मात्र हुन् । अहिले कृत्रिम मानवको युग हो, तर त्यसको हार्ड डिस्कमा मानिसले नै प्रोग्राम हालेर निर्देशन नदिएसम्म त्यसले केही गर्न सक्तैन । त्यो मानव बुद्धिको कमारो मात्र हो । त्यसलाई हाम्रो बारीमा फल्ने खुर्सानीसँग किन तुलना गर्नु ?

लेखकसँग यो रुढीबादी समूह, सरकार, धार्मिक संस्था, राजनीतिक दल, व्यापारी आदि आज पनि डराउँछ । यसको पछिल्लो उदाहरण भनेको सल्मान रुश्दीको आक्रमणलाई लिन सकिन्छ । पाब्लो नेरुदाले आफ्नो उर्जाशील समय विभिन्न देशमा लुकेरै बिताउन पर्यो । तसलिमा नसरिनलाई त देश निकाला नै गरियो । नेपालमा पनि पछिल्लोपटक केही गीत सरकारलाई मननपरेर ब्यान्ड नै गरियो । आजको दिनसम्म पनि एउटा लेखकले स्वतन्त्र भएर लेख्न नसक्नुको कारण केलाई मान्नुहुन्छ ?

सल्मान रुस्दीमाथिको आक्रमण विवेकहीन पाखण्डी अन्धता हो । संसारमा रुढी, अन्धविश्वास र कृत्रिम शक्तिको आडमा समाजमाथि, मानवीय विवेकमाथि र मानिसको नैसर्गिक अधिकारमाथि हमला गर्ने वातावरण रहेसम्म लेखकीय स्वतन्त्रता र स्वायत्त गतिविधि मूर्खहरुको निशानामा परिरहन्छन् । त्यस्ता तत्वहरुका डरले लेख्न छाडिदिने हो भने सत्य कहिल्यै पनि मुखरित हुने छैन ।

आजको हाम्रो समस्या भनेको एउटा कविले सिमान्तकृतको कविता लेख्छ । त्यसलाई कुनै सम्पन्नशाली व्यापारी वा राजनीतिक दलको नेताद्वारा विमोचन हुन्छ । विडम्बना कविताभित्रको मुद्धाको मुख्य कारक त्यो सम्पन्नशाली र नेता पनि हो कुनै न कुनै कारणबाट । त्यो कविताले उनीहरूको मस्तिष्क परिवर्तन गर्न पनि नसक्नु अनि सिमान्तकृतको पहुँचमा कविता पुग्ने त कुरै भएन । यस्तो अवस्थामा एउटा कविताको महत्व वा सार्थकता के हो ? के हामी कवि बन्नकै लागि मात्र कविता लेख्ने हो ?

मैले कतिपय कवितासंग्रह वा अन्य पुस्तकको विमोचन गरेको छु, यद्यपि म विमोचनलाई सार्वजनिक गर्ने एक उपक्रम मात्र ठान्दछु । सीमान्तकृत समुदाय वा मानिसका विषयमा कविता लेख्नु र त्यसको विमोचन विचार वा कामका हिसाबले सीमान्तकृत समुदाय वा मानिसका विपक्षमा रहेको नेताबाट गराउनु एक उपहासपूर्ण कृत्य हो । अब कविताले सीमान्तकृत व्यक्ति वा समुदायसम्म पहुँच राख्ने वा नराख्ने भन्ने कुरा त्यस रचनाको शक्ति र उद्देश्यमा भर पर्छ जस्तो लाग्छ । कतिपय मानिसहरु कविमा नाम दर्ता गराउन पनि अण्टसण्ट गर्छन् । कसैलाई तँ कविता नलेख् वा फलानाबाट विमोचन नगरा भन्न त मिल्दैन । त्यस्ता रचनाको आयु छोटो हुन्छ र उद्देश्यमा पुग्दा पनि पुग्दैन । यसतर्फ हामीले चिन्ता गर्नु व्यर्थ छ ।
एउटा कविताको सार्थकता भन्नोस् वा अन्तिम लक्ष्य (अल्टिमेट गोल) व्यापक मानव समुदायको मानसिक परिष्कार गर्ने र उसलाई मुक्त मनुष्यको सोच निर्माण गर्न योगदान गर्नु हो, उसलाई म छु र हामी छौं भन्ने बोध गराउने हो । उसले देखेका वा देख्न नसकेका, सोचेका वा व्यक्त गर्न नसकेका विषयलाई कलात्मक पाराले बुझाउने हो । उसभित्रको अहम् र शक्तिलाई उकास्न मदत गर्ने हो । उसलाई साँघुरो दुनियाँबाट व्यापक दुनियाँमा प्रवेश गराउन, उसको सोच र चिन्तनको क्षितिज विस्तार गर्न, उसलाई व्यापक मानव समुदायसंग जोड्न मदत पुर्‍याउनु हो । तर सबै कविता भनिएका रचनामा त्यस्तो सामथ्र्य हुँदैन ।

विनोद चौधरीले चाउचाउ बनाउँछ्न र अस्पताललाई आर्थिक सहयोग पनि गर्छन् । रोग उपहार दिएर उपचार गर्नु नै आजको पुँजीवादी व्यवस्थाको नीति हो ?

हरेक उद्यम वा उद्योगको सामाजिक उत्तरदायित्व पनि हुन्छ भन्ने कुरालाई हाम्रो दुनियाँले स्वीकार गरेको छ । तसर्थ विनोदजीले चाउचाउ पनि बनाउनु र अस्पताललाई सहयोग पनि गर्नुलाई अन्यथा ठान्न मिल्दैन । तर, उनले बनाएको चाउचाउ जनस्वास्थ्यका लागि कति हानिकारक छ भन्ने कुरा राज्यलाई थाहा हुनुपर्छ । त्यस्तो उद्योगलाई अनुमति दिने र गुणस्तरको अनुगमन गर्ने काम राज्यको हो । यस्तो भइरहेको हो भने अखाद्य वस्तुलाई हाम्रा भान्सासम्म आउनबाट हामीले रोकिदिनु पर्छ । तर अखाद्य वस्तुलाई खाद्यवस्तुका रुपमा उत्पादन गर्न लगाई बजारमा लैजाने अपराधी राज्य हो भन्ने कुरा हाम्रो समाजलाई बुझाइदिने तत्व अति नै कमजोर अवस्थामा छ । र, अझ यदि यस्तै हो भने स्वास्थ्यलाई हानिकारक सिद्ध हुने वस्तु उत्पादन गर्ने उद्योगी पनि अपराधी हो । यस कुराको निर्णय गर्ने निकायहरु छन् । के ती मौन छन् ? तिनले मौन बस्न मिल्छ ? यहींनिर उपभोक्ता चेतनाको आवश्यकता हुन्छ । यहींनिर कविताले केही बोल्न सक्छ ।

पुँजीबादले पैसा हेर्छ, मानिस हेर्दैन । उसले मानिस पनि हेर्ने भएको भए विश्वको पूँजी सय जना ठूला उद्योगपति वा व्यापारीमा सीमित हुने थिएन । त्यो गरीब र अनिकालग्रस्त अफ्रिकी मुलुकहरुमा पुग्ने थियो । पुँजीबादले मानिस हेर्ने भएको भए हतियारको उत्पादन र व्यापार गर्दैनथ्यो । सुडान, सोमालिया, कंगो, सिरिया, इराक, उक्रेन, ताइवानको स्वरुप आजको जस्तो हुँदैनथ्यो । उसले जनस्वास्थ्य पनि हेर्दैन । कोविड १९ को बेला भ्याक्सिन उत्पादनको होड, विश्व स्वास्थ्य संगठनको लाचारी, रसियाली र चिनियाँ भ्याक्सिनमाथिको अविश्वास र प्रतिबन्धको परिणाम देखेनौं र हामीले ?

साहित्यवृत्तमा अहिलेको तातो विषय भनेको ‘मदन पुरस्कार’ को हो । यहाँको विचारमा नेपालमा साहित्यिक पुरस्कार कत्तिको इमानदार हुन सकेका छन् जस्तो लाग्छ ? र, मदनपुरस्कारलाई अहिले लेखक शिवानीसिंह थारुले निर्णायक समितिको नाम किन लुकाएको भनेर आरोप लगाउनु भएको छ । विश्वको परिवेश हेर्ने हो भने यसरी निर्णायक मण्डलको नाम लुकाउने चलन छ वा छैन, यो कतिको जायज हो ?

नेपालमा सबैजसो पुरस्कार पारदर्शी छैनन् । मदन पुरस्कार पनि पहिलेदेखि नै पारदर्शी छैन । सायद गुठीको नियम त्यस्तै छ । पुरस्कारलाई प्रतिष्ठित बनाउन पारदर्शिता सायद अत्यावश्यक पक्ष हो । तर खास मानिसलाई उसका कृतिको गुणपक्षमा आधारित नभई दिन मन लाग्दा पारदर्शिता एक वाधक तत्व पनि बन्न जाँदो हो । निर्णायक मण्डलको नाम लुकाउने चलन पनि छ, जसले विवाद मात्र खडा गरेको हुन्छ । यस्तो प्रवृत्तिले पुरस्कारको प्रतिष्ठामै आँच पुर्‍याउँछ ।

एउटा प्रख्यात मुसाको कथा छ: मुसाहरूको एउटा समूह हुन्छ । एउटा मुसाले अरु मुसाभन्दा फरक देखिन आफ्नो पुच्छर काट्छ । अन्य मुसाहरूलाई यस्तो लाग्छ कि यो मुसा हाम्रो समुहको होइन किनभने यसको पुच्छर छैन । त्यसैले यसलाई मार्नुपर्छ भनेर उक्त मुसालाई मारिन्छ । हाम्रो देशमा पनि फरक अस्तित्व जिउनु नसक्नुको कारण यहि मुसाको कथा जस्तो त होइन ? अथवा हामी फरक हुने भनेर विचारले फरक नभएर पुच्छर मात्र पो काटेर फरक देखिन खोजिरहेका छौँ ?

त्यस्ता मुर्ख मुसाहरु हाम्रो समाजमा छन् । पुच्छर काटेर निजत्व देखाउने अप्राकृतिक व्यवहारका कारण तिनले अस्वाभाविक परिणाम निम्त्याउँछन् । राजनीतिमा त छँदैछन्, साहित्य र कलाका क्षेत्रमा पनि ती छन् । तिनलाई अस्वीकार गर्ने काम पनि हाम्रै हो ।

एउटा व्यक्तिको घरमा एउटा व्यवहार हुन्छ । समाजमा अर्को छवि हुन्छ । ऊ संलग्न संघसंस्थामा अर्कै विचार हुन्छ । आजको युगका प्रायः मान्छे किन आफ्नो रियल फेस लुकाएर बाँचिरहेको छ ?

व्यक्तिले समाजलाई हेर्ने र समाजले व्यक्तिलाई हेर्ने दृष्टिकोणमा अन्तर हुन सक्छ । समाज व्सक्ति र उसको परिवारभन्दा ठूलो र शक्तिशाली इकाइ हो । आफ्नो स्वतन्त्रतालाई सामाजिक डण्डाले नियन्त्रण गर्न थाल्यो भने व्यक्तिले विद्रोह गर्छ । यो समाजलाई बदल्ने वहसको थालनीमा रुपान्तरित हुन्छ । धेरै मानिसहरु सजग र सचेत हुदै जाँदा व्यक्तिहरुले नयाँ र साझा वैकल्पिक मूल्य तयार गर्छन् । यो समाज परिवर्तनको प्रक्रिया हो । त्यसैले समाज र व्यक्तिका बीचमा तनावपूर्ण सम्बन्ध भइरहन्छ । व्यक्तिको यथार्थ व्यवहार र समाजनिर्मित छविका बीचमा तनाव हुनु आश्चर्यको विषय होइन । मानिसले वास्तविक अनुहार लुकाउन सफल भएको छैन, केहीले नदेखेका होलान् । तर सत्य यसरी लुक्दैन ।

संसारकै सबैभन्दा जटिल विषय यौन हो । हामीले यसलाई सभ्यताको विकाससँगै विभिन्न सीमाना लगाउँदै आएका छौँ । वैवाहिक संस्था स्थापित भएपछि यौन अझै विकराल रूपमा विकृतिमा रुपान्तरण हुँदै छ । कुनै पनि मानवलाई जोसुकैसँग पनि यौन चाहना हुनसक्छ । यो प्राकृतिक नियम हो । इन्द्रियलाई नियन्त्रण गर्न सक्यो भने राम्रो हो तर गर्न सकेन भने त्यहाँबाट समस्या सुरु हुन्छ । जबर्जस्ती कसैसँग यौन सम्पर्क गर्नु त ठाडै अपराध हो तर समझदारीमा भएका यौन सम्पर्कहरू सार्वजनिक भयो भने त्यसले सो व्यक्तित्वको सम्पूर्ण क्षेत्रलाई असर पुर्याउँछ । उसको परिवार, प्रतिष्ठादेखि समाजमा कलंकित हुनपुग्छ । यौनलाई यहाँले कसरी हेर्नुभएको छ र यौनको मनोबैज्ञानिक पक्षलाई कसरी व्यवस्थापन गर्न जरुरी छ ?

यौन प्राकृतिक विषय हो । अनिवार्य विषय हो । यसलाई व्यक्तिको स्वतन्त्रताको परिधिमा राखेर हेर्नुपर्छ । जबर्जस्ती नियन्त्रण गर्न थालियो र मर्यादित बनाउन सकिएन भने यसले अनेकौं समस्यामूलक अवस्था र विकृतिहरु आमन्त्रण गर्छ । यो दुई विपरीत लिंगीबीचको आत्मीय सम्झौता हो । तर अचेल पहिले सम्झौता गर्ने र पछि आफ्नो निश्चित स्वार्थ पूरा भएन भने बलात्कारको आरोप लगाएर व्यक्तिको प्रतिष्ठालाई धुलिसात् गर्ने प्रवृत्ति बढिरहेको छ । यौन स्वस्थ हुनुपर्छ, यौन साहित्य पनि स्वस्थ हुनुपर्छ । यसलाई सहज, मर्यादित, आत्मीय र कलात्मक बनाउनैपर्छ ।

यहाँले उपन्यास लेख्दै हुनुहुन्छ भनेको धेरै वर्ष पहिले सुनेको हो । त्यतिबेलाको अन्तर्वार्तामा यहाँले दुईचार महिनामा आउँछ भन्नुभएको थियो, त्यो भनेको दुईचार वर्ष नै भइसक्यो । साच्चै के हुँदैछ उपन्यास ?

ढिला भएको छ, तर म काम गर्दैछु । त्यतिबेलाभन्दा विगत दशकमा पात्रहरुको भूमिका फेरिएको छ । सामाजिक स्वीकृतिमा अन्तर आएको छ र राज्यको व्यवहार फेरिएको छ । त्यसैले त्यसमा राम्ररी कलम चलाइरहेको छु ।

यहाँले तीनवटा कवितासङ्ग्रह, एउटा निबन्ध सङ्ग्रह र अनुवाद कृति नेपाली साहित्यलाई दिनुभएको छ । अहिले राससको जिम्मेवारीबाट पनि विश्राम लिनुभएकोले फुर्सदमै हुनुहुन्छ होला । अबको दिन लेखेर बिताउनुहुन्छ वा फेरि कतै संलग्न हुने विचारमा हुनुहुन्छ ?

खासमा मेरा लागि उपयुक्त भूमिका दिएमा म केही वर्ष अझै काम गर्ने पक्षमा छु । कसैले भूमिका नदिदैमा मेरो सामाजिक र लेखकीय भूमिका फेरिने छैन । लेखन मेरो चुनाव र क्रियाशीलतापूर्वक समाजसंग संवाद कायम गरिरहनु पर्ने वाध्यता दुबै हो । त्यसैले पहिलो विकल्प राज्यले दिने हो, दोस्रो विकल्प मेरो बचाई हो । राज्यले काम दिदा पनि, नदिदा पनि मेरो लेखन चलिरहने छ ।