कक्षा ८ मा पढ्दापढ्दै साहित्य कोर्न थालेकी सुनिता राई कन्दङ्वा निरन्तर लेखनमा सक्रिय छिन् । उनको एकजुवा घाम (कविता सङ्ग्रह) र तिउरी (कथा सङ्ग्रह २०७९) प्रकाशित छन् । उनको कथासङ्ग्रह विमल गुरुङ स्मृति पुस्तक पुरस्कारको उत्कृष्ट १० मा पर्न सफल भएको थियो । साहित्यिक संघसंस्थामा समेत आवद्ध उनी विश्व नेपाली साहित्य महासंघको महासचिव छिन् । हाल रोजगारीको शिलशिलामा इजराजयलमा रहेकी उनीसँग नेपाल मामिलाडटकमको लागि भएको डिजिटल वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
साहित्य सिर्जना कहिलेदेखि गर्नुभयो ?
कक्षा ८ मा हुँदादेखि सुरु गरेकी हुँ लेखन । त्यसबेला आक्कलझुकल गरिमा, मधुपर्क पढ्न पाउथ्यौं, किन्न पैसा हुन्नथ्यो । लेख्न असाध्यै रुचि लाग्दथ्यो तर कसरी कहाँबाट सुरु गर्ने भन्ने दुविधा मनमा थियो र एकदिन नेपाली विषय पढाउनुहुने सरलाई सोधे डराई डराईकन । सरले सहज रूपमा थोरै ज्ञान त दिनु भयो तर त्यो ज्ञान गजल लेखन थिएछ । यो बुझ्न मलाइ थुप्रै बर्ष लाग्यो । सम्झिल्याउँदा कहिलेकाहीं एक्लै हाँस्छु अहिले । र, म सम्झिन्छु धरानबाट निस्कने ब्लाष्ट टाइम्स र अलिपछि न्युज टाइम्समा कहिलेकाहीं सिर्जना छापीआउँदा कम्ति हर्ष लाग्दैनथ्यो ।
अर्को कुरा ठ्याक्कै स्मरण भयो –धरान मंगलबारे चोकमा पिपलको बोट । त्यो अहिले नि छ । सँगै एउटा बोर्ड राखेर हामी (म पूर्ण राई आशिष) उबेलाको भित्ते पत्रिका निकालेकाथ्यौँ । यसको पूरै श्रेय पत्रकार जनकऋषि राई दाजुलाई जान्छ । उहाँकै प्रोत्साहनमा त्यो कार्य गर्न सकेका थियौं हामीले ।
सबैभन्दा पहिले प्रकाशित तपाईको रचना ?
मेरो सबैभन्दा पहिले कविता प्रकाशित भएको थियो ।
शुरुमा तपाईले के लेख्नुहुन्थ्यो, केमा रुचि थियो ?
जानीनजानी कविता लेख्थें । रुची कवितामै थियो । मलाइ मनपर्ने विधा कविता नै हो ।
ति लेखनले कतिको निरन्तरता पाए ?
निरन्तरता पाइरहेको छ । जीवन रहेसम्म लेखिरहनेछु ।
पहिलो प्रकाशित पुस्तक कुन हो ?
कविता सङ्ग्रह ‘एक जुवा घाम’ (सन् २०१८) अगस्टमा प्रकाशित भएको हो ।
यो पुस्तकको रचनागर्भ सुनाउनुस् न ?
सरल, समसामयिक छन् यो सङ्ग्रहमा संग्रहित सिर्जनाहरू । हाम्रै वरिपरिका विषयवस्तुलाई टिप्ने प्रयास गरेकी छु । यो पुस्तक निकाल्न घच्घच्याउने केही मित्रहरू र सुरेन्द्र लिम्बू परदेशीज्यू (विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष)प्रति आभारी छु । छरिएका सिर्जनाहरूलाई कृतिको रूपमा पाठकमाँझ ल्याउँदा मनमा एकखाले धुकचुक हुँदोरहेछ मलाइ पनि भएको थियो । ती असिनपसिनता कविता कृतिमाथि पाठकहरूले दिएका मिठो प्रतिक्रियाले शितलता प्रदान गरिदियो ।
कविता र कथाबाहेक लेखन विधा कुन कुन हुन् तपाईले लेख्ने ?
उपन्यास । लेखेकी छुइन तर सोँच भने बलियो छ लेख्ने ।
कुन कुन विषयलाई कवितामा भन्न रुचाउनुहुन्छ र कुन विषयलाई कथामा ?
विषय टिप्ने हाम्रै वरिपरिबाट हो। बस् प्रस्तुति खदिलो कवितामा हुन्छ र वृतान्त कथामा । मौरीको भरिलो चाकाजस्तो हो कविता, पूरै घारजस्तो हो कथा ।
तिउरी एउटा फूलको जात हो, यहाँको कथा र तिउरीमा के अन्तर छन् ?
हजुर तिउरी एउटा फूलको जात हो जससँग म सानैदेखि परिचित छु । फूल सिर्जना÷प्रकृतिको एक पार्ट हो । प्रकृतिका हर घटना÷उपघटनाले हामीलाई जीवनको पाठ सिकाइरहेको हुन्छ । फूल आफैँमा सुन्दर चिज पनि हो । तिउरी जो हामी महिलाहरूले हरेक साउने संक्रान्तिमा हातमा लगाइन्छ । दुःखको कुरा अहिले आयातित मेहन्दी लाइन्छ । तिउरी भनेको के हो अहिलेका सन्ततिलाई थाहासम्म छैन । यो हाम्रो संस्कृतिसँग पनि जोडिएको कुरा हो । तिउरी एउटा रङ्गीन फूल जसले जीवनको सौन्दर्यलाई पनि बुझाउँदछ । तिउरी भन्नसाथ उमङ्ग/खुसी झल्कन्छ । साउने संक्रान्ति सम्झाउँछ ।
कथाकी पात्र ‘तिउरी’को जीवन तिउरी फूलजस्तो सुन्दर/स्वतन्त्र छैन उसको जीवनमा अड्चनहरू आउँछन् । उसले आफ्ना रहरका मुनाहरू कुल्चेर आज्ञाकारी असल बन्नुपर्ने बाध्यता छ । उसको शिरमा बाआमाको आशिर्वाद र प्रेमको धुरी हुँदैन । यो दुर्भाग्य हो । आफ्नो प्यारो हजुरबा, काका/काकी वा कोहीसँग पनि उनि बिद्रोह गर्न सक्ने भैनसकेकोले उनलाई पिंजडाको सुन्दर चरासँग पनि दाँज्न सकिन्छ । कर्मबुबा काकाको जीवन अन्त्यसँगै फूलजस्तै कोमल तिउरीको जीवन फिक्का बनेको अनुभूत हुन्छ । अतः फूल तिउरी र कथाकी पात्र तिउरीमा समानता भने छैन तर फूल सुन्दर सम्भावनाको प्रतीक पनि हो तसर्थ कथाकी पात्र तिउरीको जीवन त्यसपश्चात् अर्को मोड लिन पनि सक्छ ।
पुरै सङ्ग्रह बन्नको लागि कति समय लाग्यो ?
निकै लाग्यो । सङ्ग्रह निकाल्छु भन्ने त थियो तर यतिनैखेर भन्ने थिएन । यस तिउरी कथासङ्ग्रहमा समेटिएका कथाहरू कुनै ७÷८ बर्ष अघि लेखिएका हुन् कुनै प्रकशित हुनु केही महिना अघिका छन् । अतः यसरी हेर्दा ७÷८ वर्ष नै लाग्यो । यस बिचमा साहित्यिक गतिविधिहरूमै व्यस्त भैयो । कविता सङ्ग्रह ‘एक जुवा घाम’ निस्क्यो । कथा सङ्ग्रह निकाल्न हतार गरिनँ मैले । भन्छन् नि सबै कुराको समय आउँछ ! अतः अहिले सही समय थियो होला र निक्ल्यो कथा सङ्ग्रह ‘तिउरी’ ।
प्रकाशन भइसकेपछि कथाको चर्चा के कसरी सुनाए ?
अहिलेसम्मन जतिले पढ्नुभयो राम्रो प्रतिक्रिया दिनुभएको छ । एक स्रष्टाको लागि यो ठुलो उपहार हो । र, कवि विमल गुरुङ कृति पुरस्कार २०७८ का लागि उत्कृष्ट दशमा सामेल भएको थियो तिउरी । यो पनि मेरो निम्ति खुसीको कुरा हो ।
प्रवासमा हुनुहुन्छ, प्रवासबाट नेपाली साहित्यमा इँटा थपिरहनुभएको छ, यसवापत के इच्छा राख्नुभएको छ ?
जहाँ इच्छा हुन्छ त्यहाँ अपेक्षा हुन्छ र अपेक्षा हुनु भनेको स्वार्थ हुनु हो । त्यहाँ सेवा हुँदैन । निस्वार्थ रूपमा यसरी नेपाली साहित्यको उन्नयनमा निरन्तर लागिपरेको निकै भएछ पत्तै चलेन, यो प्रश्नको उत्तर लेखिरहँदा सम्झन पुगेँ । आजको मितिसम्म आइपुग्दा कुनै क्षण मनमा यो ख्याल आएन कि कुनैबेला मैले केही पाउँछु होला भन्ने । अतः यो जीवन रहेसम्म नेपाली साहित्यको सेवा गर्न सकूँ ।
लेखनबाहेक साहित्यिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ ? कुन कुन संस्थामा हुनुहुन्छ र समयलाई कसरी व्यवस्थापन गर्दैहुनुहुन्छ ?
हजुर म लामो समयदेखि ‘विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति’मा आबद्ध छु । मेरो इमानदारिताको फल होला अहिले दोस्रोपटक महासचिवको जिम्मेवारी निभाउने अवसर दिनुभएकोछ/पाएकी छु । महासङ्घको शाखाहरू राष्ट्रिय, प्रदेश, जिल्लागरी पच्चीस देशमा सैंतीसवटा स्थापित छन् । यो गौरवको कुरा हो यति ठुलो परिवार बनेर नेपाली साहित्यको सेवा गर्न पाउनु । विनेसाम शाखा नेपाल र साहित्यिक चौतारी नेपाल इजरायल शाखामा सल्लाहकार छु । यो परदेशमा हाम्रो चौबीस घण्टे ड्युटी हुन्छ अतः समय त मिल्दैन, मिलाउनुपर्दोरहेछ । नेपालीमा सुन्दर उक्ति छ, जहाँ इच्छा त्यहाँ उपाय ।
आगामी कृति के आउँदैछ ?
सोंच त उपन्यासको थियो तर अहिलेलाई कविता नै आउने सम्भावना अधिक छ ।