March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

प्रज्ञा–प्रतिष्ठानमा इजरायलका लागि नेपालकी पूर्व राजदूत शाक्य

2.1K

काठमाडौं । मित्रराष्ट्र इजरायलका लागि नेपालकी महामहिम पूर्व राजदूत अञ्जान शाक्यलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले स्वागत गरेका छन्। प्रज्ञा भवनको गुणकेशरी हलमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमा कुलपति उप्रेतीले पूर्व राजदूत शाक्यलाई नेपाली पस्मिनाको सल ओढाएर स्वागत गरेका थिए ।

उक्त अवसरमा बोल्दै कुलपति उप्रेतीले मित्रराष्ट्र इजरायलका लागि नेपालकी पूर्व राजदूत शाक्यको पहलका कारण नै नेपाल प्रज्ञा–प्रतिष्ठान र इजरायलको हिब्रु लेखक सङ्घकाबीच द्विपक्षीय प्राज्ञिक सम्झौता हुन सकेको स्मरण गरे । कुलपति उप्रेतीले पुरानो मित्रराष्ट्र इजरायलसँग नेपालको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै खासगरी कृषिका क्षेत्रमा इजरायलबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तथा राजा कवि मविवि शाहको कविताकृति ‘फेरि उसैका लागि’ तत्कालीन समयमा नै अङ्ग्रेजी र हिब्रु भाषामा अनुवाद गराएर इजरायलले प्रकाशित गर्नुले विशेष अर्थ राखेको बताए। उनले पूर्व राजदूत शाक्यले जनस्तरमा पुगी दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताए ।

इजरायलका लागि नेपालकी पूर्व राजदूत शाक्यले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफूलाई निमन्त्रणा गरी न्यानो स्वागत गरेकामा कृतज्ञता प्रकट गरिन् । उक्त अवसरमा बोल्दै शाक्यले मित्रराष्ट्र इजरायलका लागि नेपालको राजदूत भएर इजरायल गएपछि आफूले गराएको पहिलो सम्झौता नै नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रुलेखक सङ्घबीचको सम्झौता भएको बताइन् । उनले भनिन्, “साहित्य र संस्कृतिका माध्यमबाट समाजलाई उत्कृष्ट बनाउन सकिन्छ भन्ने कुरा मैले इजरायल गएर अनुभूति गरेँ । मेरो पहिलो प्रयास नै यसैमा भयो । त्यसपछि नेपालको कृषिलाई प्रविधिमार्फत आधुनीकरण गर्नका लागि ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेज’ स्थापना गर्नका लागि सम्झौता भयो । त्यसपछि श्रमसम्बन्धी सम्झौता भयो, अन्य महत्वपूर्ण सम्झौताहरू पनि भए । मैले मेरो कार्यकालमा नेपालले धेरैभन्दा धेरै लाभ लिन सक्नुपर्छ भन्ने सोचेर देशको हितमा काम गरेँ ।”

Advertisement

उक्त अवसरमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, डा देवी नेपालका साथै प्राज्ञ सभा सदस्य शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।

कुलपति उप्रेतीले पूर्व राजदूत शाक्यलाई प्रज्ञा–प्रतिष्ठानका महत्वपूर्ण प्रकाशनहरू ‘नेपाली बृहत् शब्दकोश’, ‘तस्बिरमा नेपाल’, ‘मानवयात्रा’ लगायत उपहारस्वरूप प्रदान गरेका थिए ।