काठमाडौं। साउदी अरबमा भयानक सडक दुर्घटना भएको छ । पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा तीन नेपाली कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना रहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् भने नौ भारतीय नागरिकको पनि मृत्यु भएको छ ।
सोही दुर्घटनामा घाइते भएका एक नेपालीको अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ ।
घटना मृतकका परिवारलाई जानकारी गराइसकिएको छ र उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने दूतावासले जनाएको छ।
दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।