“यसपालि कसलाई सपोर्ट गर्दैछौ?” —गएको अमेरिकी राष्ट्रपतीय निर्वाचनको केही समयअघि मैले टेक्सास बस्ने एक नेपाली मित्रलाई कुरैकुरामा सोधें।
उनले तत्कालीन अवस्थामा डोनाल्ड ट्रम्पको विकल्प नरहेको तर्क गरे। उनको विचारमा टेक्सासको रिपब्लिकन लहरको प्रभाव त थियो नै, तर त्योभन्दा बढी एउटा अचम्मको ‘अन्धभक्ति’ झल्किन्थ्यो।
यस्तै बहस अलाबामा, मेरिल्याण्ड र न्युयोर्कका नेपाली साथीहरूसँग पनि भए। उनीहरू कतिपयले रिपब्लिकन पार्टी नै सही भएको दाबी गरिरहेका थिए। यद्यपि ती अनौपचारिक कुराकानी थिए, तर ती संवादहरूले मलाई एउटा गम्भीर प्रश्नतर्फ धकेलिदिए— मानिस हामी किन आफ्नै हित विरुद्धका शक्तिलाई मसिहा मान्छौं?
त्यस्तै एक दिन ग्याटविक एयरपोर्टबाट घर फर्किने क्रममा अफ्रिकी मूलका एक काला जातिका ट्याक्सी ड्राइभरसँग यही विषयमा गफ भयो। झण्डै ५० वर्षका ती ड्राइभर ट्रम्पका कट्टर समर्थक रहेछन्। M23 बाट M25 सम्मको यात्रामा उनले कमला ह्यारिस विरुद्ध शब्द मात्र खर्चेनन्, बरु ट्रम्पले विश्वलाई युद्धको भुमरीबाट बचाउने ‘शान्तिदूत’ भएको दाबी समेत गरे। आफू बेलायतवासी र अल्पसंख्यक भए पनि उनले ट्रम्पमा जुन आशा देखेका थिए, त्यो वास्तवमै विरोधाभासपूर्ण थियो।
प्लेटोको चेतावनी र भीडतन्त्र का कुरा
हामी प्रायः सबैजसो निरंकुशता (Authoritarianism) र सर्वसत्तावाद (Totalitarianism) को विरुद्धमा छौं नै भन्छौं। तर प्रजातन्त्र आफैं पनि कति कुरुप हुन सक्छ भन्ने कुरा मतदाताहरू —विशेषगरी ‘पेण्डुलम’ र ‘स्विङ भोटर्स’ —को व्यवहारले देखाउँछ। मतदाताहरू कसरी भावनामा बगेर, लोभमा परेर, वा भ्रमपूर्ण जालमा फसेर गलत व्यक्तिलाई सत्तामा पुर्याउँछन् भन्ने कुराले मानिस ‘तार्किक प्राणी’ हो भन्ने दाबीलाई नै चुनौती दिन्छ।
यही सम्भावित खतरालाई देखेर प्लेटोले २४०० वर्षअघि प्रजातन्त्रका सीमाहरू बताउँदै यसलाई ‘भीडतन्त्र’ (Mob Rule) को संज्ञा दिएका थिए। उनले भनेका थिए कि प्रजातन्त्रमा तार्किक नेता होइन, बरु भीडलाई उत्तेजित पार्ने ‘डेमागग’ (Demagogue) हरू हाबी हुन्छन् (‘द रिपब्लिक’, अध्याय ८)।
वर्ग चेतना र मिथ्या चेतना (False Consciousness)
हामी तत्कालको लाभलाई केन्द्रमा राखेर विचार निर्माण गर्दा दीर्घकालीन परिवेश बिर्सन्छौं। अमेरिकी राजनीतिमा डेमोक्रेटिक पार्टी ऐतिहासिक रूपमा कामदार वर्ग, अल्पसंख्यक, महिला र आप्रवासीहरूको पक्षधर मानिन्छ। अर्कोतिर रिपब्लिकन पार्टी मुख्यतया नश्लवादी, गोरा, कुलीन, पुँजीपति र अनुदारवादीहरूको कित्ता हो।
तर विडम्बना! नेपाली र काला जातिहरू —जसको हित रिपब्लिकनको एजेन्डामा कतै प्राथमिकतामा छैन— उनैप्रति अन्धभक्त हुनु भनेको कार्ल मार्क्सले भनेको ‘मिथ्या चेतना’ (False Consciousness) को सिकार हुनु हो। यो यस्तो मानसिक अवस्था हो जहाँ उत्पीडित वर्गले शासक वर्गको विचारलाई नै आफ्नो हित ठान्न थाल्छ। यो केवल आफ्नो कित्ता नचिन्नु मात्र होइन, बरु अरूको रंगमा मिसिएर आफ्नो अस्तित्व नै नष्ट गर्नु हो।
ब्रेक्जिटदेखि ट्रम्पसम्म: बहुमतको सजाय
सन् २०१६ को ब्रेक्जिट निर्वाचनमा पनि नेपाली लगायत धेरै आप्रवासीहरूले “हामी त बेलायत छिर्यौँ, अब अरू युरोपियनहरू नआऊन्” भन्ने स्वार्थ [मनमनै] राखेर ‘Leave EU’ का लागि अभियानलाई समर्थन गरे। आज बेलायतले भोगिरहेको आर्थिक दुर्गति र राजनीतिक अस्थिरता हाम्रो सामुन्ने छ।
अचम्म त के छ भने, ट्रम्पलाई जिताउने ४९.८ प्रतिशत जनताको निर्णयको सजाय कमला ह्यारिसलाई भोट दिने बाँकी ४८.३ प्रतिशतले पनि भोग्नुपर्नेछ। ५१ प्रतिशतको सनक वा भ्रमले बाँकी ४९ प्रतिशतको भविष्य पनि अन्धकारमा धकेलिन्छ। के यो नै प्रजातन्त्रको अन्तिम सुन्दरता हो त?
आजको विश्व राजनीतिले एउटा गम्भीर मोड लिएको छ। मतदाताहरू जति शिक्षित र आधुनिक भनिए पनि उनीहरूको निर्णय प्रक्रिया झन् बढी भावनात्मक र संकीर्ण हुँदै गएको देखिन्छ। राजनीतिक दार्शनिकहरूले अब सोच्नै पर्ने बेला आएको छ— के प्रजातन्त्रको वर्तमान स्वरूप नै अन्तिम विकल्प हो? कि हामीले भीडको लहैलहैभन्दा माथि उठेर कुनै बढी तार्किक र न्यायपूर्ण व्यवस्थाको चिन्तन गर्नुपर्ने हो?
जबसम्म हामी आफ्नो वर्ग, कित्ता र हित चिन्न सक्दैनौं, तबसम्म हामी आफ्नै ‘कसाई’ लाई मतदान गरिरहनेछौं।
अन्त्यमा, डोनाल्ड ट्रम्पलाई अहिले आएर दोषी देख्नु र उनको उछित्तो काढ्नुको कुनै तुक छैन। उनी कस्ता हुन् र उनको कार्यशैली कस्तो छ भन्ने ‘जानी-जानी’ नै अमेरिकी जनताले उनलाई त्यो स्थानमा पुर्याएका हुन्। सन् २०१६ को निर्वाचनलाई ‘भुल’ मान्न सकिएला, तर जब जनताले पटक-पटक उनकै प्रवृत्तिलाई अनुमोदन गर्छन्, तब त्यसको नैतिक भार र परिणाम पनि अमेरिकी जनताले नै भोग्नुपर्छ। ट्रम्प त केवल अमेरिकी जनताको औसत भावना र निर्णयको एउटा ‘प्रतीक’ मात्र हुन्। अब आउने दिनमा इरानसँगको सम्भावित युद्ध होस् वा अन्य कुनै भू-राजनीतिक संकट, त्यसबाट सिर्जना हुने हरेक राम्रा-नराम्रा असरहरूको भागीदार स्वयम् अमेरिकी जनता हुनुपर्दछ। किनकि, जबसम्म जनताले आफ्नो ‘मत’ को सजाय भोग्दैनन्, तबसम्म उनीहरूले पाठ सिक्दैनन्।
यो केवल अमेरिकाको कुरा होइन; विश्वभरका हामी सबै मतदाताका लागि एउटा कठोर ऐना हो। हामीले कस्तो शासक पायौँ भनेर गुनासो गर्नुभन्दा अघि यो सोच्नु जरुरी छ कि “के हामीले आफ्नो ‘विवेकको हत्या’ गरेर कसाईलाई नै माला त लगाइदिरहेका छैनौं?”
#GlobalPolitics#USAElection#Trump#IranWar#Democracy#PoliticalAnalysis#Marxism#Brexit#SocialReflection#NepalPolitics#USPolitics




