
हङकङ । साहित्यकार जुनू रानाकृत ‘लाहुरेनी सौन्दर्य’को पुस्तक लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । हङकङ साहित्यिक साझा श्रृङ्खलाको आयोजनामा सोमबार हङकङस्थित एभरेष्ट होटलमा रानाको दोस्रो कृतिको लोकार्पण गरिएको हो ।
जिल्ला काउन्सिलर अरुणा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न लोकापर्ण समारोहमा लोकार्पित कृति ‘लाहुरेनी सौन्दर्य’ माथि श्रृङ्खलाका संरक्षक राजकुमार राई, डा. चुरा थापा, जानु काङमाङ र डा. टीका रानाले समीक्षात्मक टिप्पणी राखेका थिए ।
पुस्तकबारे बोल्दै राजकुमार राईले ‘लाहुरेनी सौन्दर्य’ एउटै पुस्तकमा दुईवटा पुस्तक आएको हुँदा यस्ता किसिमका पुस्तकको समिक्षा गर्नु अत्यन्तै अफ्ठ्यारो हुने बताए । ‘यो साहित्यक पुस्तक पनि हो र गैरसाहित्यक पुस्तक पनि हो । एउटै पुस्तकमा दुईवटा पुस्तक आएको छ’, उनले भने, ‘मैले तीन महिना अगाडि बढेको हो । यसमा १२ वटा गैह्र साहित्यिक रचनाहरू छन् । अन्य रचनाहरु नियात्रा, समिक्षा, संस्मरण, कथा निबन्ध छ । यस्तो किसिमको पुस्तकहरु समिक्षा गर्नु अत्यन्त अफ्ठ्यारो हुन्छ ।’
यस पुस्तकमा राजनीतिक, सामाजिक र महिलाका विविध पक्षहरू आएको बताउदै समाजको यथार्थ ऐना प्रस्तुत गरेको राईले बताए ।


पुस्तकमाथि बोल्दै अर्का समिक्षक डा. चुरा थापाले ‘लाहुरेनी सौन्दर्य’ बाट नेपाली साहित्यमा जुनू रानाले नयाँ आयाम थपिदिएको बताए । ‘लाहुरेनी र सौन्दर्य । यहाँ लाहुरेनीलाई हामीले कसरी बुझ्ने र सौन्दर्यलाई हामीले कसरी बुझ्ने ? भन्ने कुरा महत्वपूर्ण हो जस्तो लाग्छ, साहित्यक एङ्गलबाट हेर्दाखेरी’, डा. थापाले भने, ‘सौन्दर्य भन्नाले ब्युटी भनेर नबुझ्नुहोला । मैले त्यसरी बुझेको छैन । यो एस्थेटिक हो भन्ने मैले बुझेको छु । लाहुरेनी भनेको फेरि एक पात्र हो । कथामा, कवितामा, लेखरचनामा पात्र हुन सक्छ भने व्यक्तिगत जीवनमा लाहुरेनी एकजना व्यक्ति हो । लाहुरेनी सौन्दर्य उक्त पात्रसँग सम्बन्धित तमाम विषयहरु उजागर गर्ने साहित्यक अध्ययनको एउटा विशेष आयाम हो भन्ने मैले बुझेँ । यस अर्थमा यस पुस्तकले साहित्यमा नयाँ आयाम थपिदिएको छ ।’
डा. थापाले यस पुस्तकलाई लाहुरेहरुको सुरुवातदेखि अन्त्यसम्मको जीवन जस्तो रहेको संज्ञासमेत दिए ।
साहित्यकार जानु काङमाङ लिम्बुले पुस्तक भित्रका ‘कालीगण्डकीमा बगेको चप्पल र जिन्दगीको लय’, ‘उडान नम्बर आरए चार सय नौ’,‘इन्द्रवतीको सपना’,‘लाहुरेनी सौन्दर्य’ लगायत लेखहरुको चिफार गर्दै पुस्तक यसरी पनि लेखिन सकिने रहेछ भन्ने लागेको बताइन् ।


यस्तै, पुस्तकमाथि बोल्दै डा. टीका रानाले पनि ‘लाहुरेनी सौन्दर्य’ सुन्दरतासँग मात्रै सम्बन्धित नभएको बताइन् । लाहुरेनीहरुलाई बुझिने पुरानो परिभाषा बदलिनुपर्नेमा जोड दिँदै उनले यस किताबमा यस्ता रायहरू प्रस्तुत गरिनु लाहुरेनी सौन्दर्य रहेको उनले बताइन् ।
साहित्यकार जुनू रानाको यो दोस्रो कृति हो । पहिलो कृति ‘रातो नदी’ प्रकाशित छ । दोस्रो कृतिका लागि एनआरएनए हङकङकी अध्यक्ष अनु राई, नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, किरात राई प्रज्ञा प्रतिष्ठानका उपकुलपति किन्दर राई, श्रृङ्खलाकी सल्लाहकार पूर्णीमा जी शाह, श्रृङ्खलाका संरक्षक टंक सम्बाहाम्फेले र नेपालबाट अतिथि पत्रकारको रुपमा उपस्थित देवेन्द्र कार्कीले शुभकामना दिएका थिए ।
जुनू राना हङकङ साहित्यिक साझा श्रङ्खलाकी संयोजकसमेत हुन् । रानाकै सभापतित्वमा सम्पन्न लोकार्पण कार्यक्रमको संचालन सह–संयोजक रोशन यक्सोले गरेका थिए ।











तस्वीरः एजके नेपाल डटकम
