पञ्चायतकालको कुरा हो, जतिबेला हाम्रो थर्पू —अहिलेको याङवरक ४ र ५– मा लुतोको महामारी फैलियो। त्यतिबेला एउटा मात्र भएको हेल्थपोस्टलाई महामारी नियन्त्रण गर्न हम्मे-हम्मे पर्यो। न पर्याप्त औषधि थियो, न त दक्ष विज्ञ नै। महामारी किन फैलियो? त्यसको एउटा रोचक ‘पुच्छर’ कथा भने म अन्त्यमा सुनाउनेछु।
लुतो सामान्तया दुई खालका हुन्छन्— ‘पक्कुवा’ र ‘सुके’। पक्कुवा कन्याएपछि केही दिनपछि पाक्थ्यो। सुके कन्याउँदा केही बेरलाई आनन्द हुन्थ्यो र सुक्थ्यो, तर केही दिनपछि पुन: फर्कन्थ्यो। म चाहिँ सुके लुतो उपहार लिएर एक दिन मामल पुगेँ। लुतोले हैरान भएर म बेसरी कन्याइरहेको थिएँ, मेरो अवस्था देखेर बज्यै (स्व. कामरोती काम्बाङ लिङदेन) ले एउटा गज्जबको उपाय सुझाउनुभयो। गाउँकै लोहारले बनाएको एउटा सानो ज्यावल मेरो हातमा थमाउँदै बज्यैले भन्नुभयो— “लु कन् कच्यारे उगे। सिदाअ् ए बा कन्” (लौ, यै हँसियाले कन्या। दवाई नै यही हो)।
वास्तवमा, जबसम्म वास्तविक औषधि हात पर्दैन, चिलाउन कम गर्ने साधन नै ‘रामबाण’ सावित हुँदो रहेछ। पछि महामारीले उग्र रूप लिन थालेपछि हेल्थपोस्टका अ.हे.व. Purna Kambang (अहिले गायक एवं नेपाल साँस्कृतिक संघ पाँचथरका नेता) को टोलीले वास्तविक औषधि ल्यायो— ‘बेञ्जल बेञ्जोएट’ (Benzyl Benzoate)। स्क्याबेन कम्पनीले बनाएको त्यो गन्हाउने सेतो झोल औषधि उपलब्ध नहुञ्जेल गाउँमा कसैले अँगेरीको मुन्टाले त कसैले बज्यैले दिएको हँसियाले कन्याएरै तत्काललाई राहत लिइरहे।
आज नेपालको राजनीतिलाई हेर्दा मलाई त्यही #याङवरक को लुतो महामारीको सम्झना आउँछ।
देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेरोजगारी र पुराना दलहरूको ‘नेतातन्त्र’ प्रति उब्जेको असन्तुष्टि एउटा राजनीतिक लुतो बनेर नागरिकहरूलाई अचाक्ली चिलाइरहेको थियो। यही चिलाइबाट मुक्ति पाउन मतदाताहरूले यस पटकको चुनावमा नयाँ दल र नयाँ अनुहारहरूलाई ‘हँसिया’ का रूपमा प्रयोग गरेका हुन् कि। स्थापित दलहरूप्रति विश्वास घटेपछि एउटा विकल्पको खोजीमा उनीहरूले नयाँ शक्तिलाई अवसर दिएका हुन् कि।
यी नयाँ शक्तिहरू साँच्चै ‘बेञ्जल बेञ्जोएट’ (स्थायी समाधान) हुन् कि केवल चिलाउँदा कन्याउने ‘हँसिया’ मात्र? हेर्न पर्ने छ।
कतिपय उम्मेदवारहरूको अनुभवहीनता, स्पष्ट वैचारिक धरातलको अभाव, एमसीसी वा एसपीसी जस्ता गम्भीर मुद्दामा अस्पष्ट अडान र नवउदारवादप्रतिको उनीहरूको झुकाव देख्दा शङ्का गर्ने ठाउँ प्रशस्त छ। उनीहरू राजनीतिक लुतो निको पार्ने चिकित्सक बन्छन् वा केवल क्षणिक राहत दिने ‘कच्या’ (हँसिया), त्यो त समयले नै देखाउनेछ।
हो, जबसम्म समस्याको जरो थाहा हुँदैन, वा थाहा भए पनि त्यसलाई समाधान गर्ने सही साधन र स्रोत उपलब्ध हुँदैन, तबसम्म मानिसले छेउछाउमा जे उपलब्ध छ त्यसैलाई औषधि मान्छ। कम्तीमा चिलाउन त छोड्छ!
(पुच्छर कथा: महामारीको रहस्य)
त्यतिबेला मानिसहरू खासै नुहाउन जरुरी ठान्दैनथे— महिलाहरूले वर्षमा १२ पटक र पुरुषहरू पनि उही मेला-बजार जानपर्दा नुहाउने समयमा पनि लुतो लाग्थेन। तर २०४२ सालतिर गाउँमा पहिलो पटक रासायनिक मल भित्रियो। खाद्यान्नको उत्पादन बढाउन समाजसेवीहरू स्व. बिर्खबहादुर सेवाँ, स्व. मित्रलाल कोइराला र रणबहादुर तावा मिलेर युरिया मल भित्र्याए। अन्नबाली त जोडले फल्यो, गाउँलेहरूको भोक पनि मेटियो, तर मेरो अनुमानमा त्यही युरिया मलले खेतको पानी दूषित बनाइदियो।परिणामस्वरुप लुतोको महामारी फैलियो। सोझा बुढाहरूलाई ज्ञानै भएन कि खाद्यान्नको उत्पादन बढाउने त्यो मलले यस्तो ‘साइड-इफेक्ट’ पनि ल्याउन सक्छ । जे होस् पछि महामारी नियन्त्रणमा आयो)।
#नेपालराजनीति#चुनाव२०८२#राजनीतिकव्यङ्ग्य