February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

एमसिसी कुनै हालतमा कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

२०७८ फाल्गुन २०

2K

काठमाडाैं । एमसिसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा प्रदर्शन गरेका हुन्।

विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिए।

Advertisement

उनले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। एमसिसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए।

उनले प्रचण्ड–माधव नेपालले एमसिसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए। एमसिसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरूलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाइ थियो। ‘कम्युनिष्ट भनिने नेताहरू, एमालेका नेताहरू, माओवादीका नेताहरूले देशलाई संसदबाट बेचिरहेका छन्। आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ। नेपाली जनताले एमसिसीको विरोध गरिरहेका छन्। हरेक पार्टीभित्र यसको विरोध भइरहेको छ,’ उनले भने, ‘जनताले खारेजको माग गरेका छन्। प्रचण्ड र माधव नेपालहरूले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरे। एमसिसी लागू हुने छैन।’

एमसिसीले नेपालीको जीवनमा भयानक दुर्घटना लिएर आउने उनले दाबी गरे। चन्दले १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहेको बताए।

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। उनले एमसिसी पारित गर्ने संसदको पनि औचित्य समाप्त भएको बताए।