काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) ले वैशाख ९ र १० गते नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस मनाउने भएको छ । कार्यक्रमको पूर्व सन्ध्यामा सोमबार पार्टीको मोर्चा संगठनद्वारा पार्टीको स्थापना दिवस मनाउने सन्दर्भमा तयारी बैठकको आयोजना गरिएको थियो ।
पार्टीको सचिवालयको बैठकले गरेको निर्णय अनुसार पार्टीका प्रदेश कमिटीहरूले बैशाख ९ गते र केन्द्रमा १० गते राष्ट्रिय सभा गृहमा पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम तय भए अनुसार तयारी बैठक आयोजना गरिएको हो ।
बैशाख १० गते हुने कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलन उपलब्धि चुनौती र सम्भावनाका बारेमा समेत छलफल हुने बताईएको छ ।
नेकपा एकीकृत समाजवादीले आयोजना गर्ने सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित अन्य कम्युनिष्ट पार्टीका नेताहरुको अर्थपूर्ण सहभागिता हुने गरी कार्यक्रमको तयारी गर्न लागिएको पार्टीका स्थायी कमिटी सदस्य तथा मोर्चा संगठनका उपप्रमुख भविसोर पराजुलीले बताए ।
बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशा भित्र एकतावद्ध गर्नुपर्ने वर्तमानको आवश्यकता भएको भन्दै कम्युनिष्ट आन्दोलनमा जुन किसिमको क्षति भएको त्यसलाई परिपूर्ति गर्ने गरी आम नेता कार्यकर्ताहरूले भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते अर्थात् २२ अप्रिलका दिन केन्द्र प्रदेश र जिल्ला तहमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।
पार्टीका उपमहासचिव तथा मोर्चा फाँटका प्रमुख डा. विजय पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा विशेष अतिथिहरु पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा गंगालाल तुलाधर, सचिव तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठ, अनेमसंघका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्ती राई, पार्टीका स्थायी कमिटी सदस्य तथा मोर्चा संगठनका उपप्रमुख भविसोर पराजुली लगायत नेताहरुको सहभागिता रहेको थियो ।
२००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । जहानिया राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए ।