साहित्यकार सिम्रन क्षत्रीको पहिलो उपन्यास ‘झुमर’ हालसालै प्रकाशन भएको छ । साहित्यमार्फत महिला सशक्तिकरणको आवाज बोलिरहेकी सिम्रनले आठ वर्ष अघि आख्यान बाटै लेखन यात्रा सुरु गरेकी हुन् । उनका थुप्रै कविता तथा गीतहरु पनि रेकर्ड भएका छन् । उनीसँग गरिएको छोटो साहित्यक कुराकानी यहाँ प्रस्तुत छ:
साहित्य कोर्नु अलवा के गर्नुहुन्छ ?
साहित्य बाहेक म गृहिणी र व्यवसायी हुँ । चितवनमा मेरो व्यवसाय छ, त्यतातिर केही व्यस्त रहन्छु ।
तपाइँको उपन्यास ‘झुमर’ बारे पाठकलाई कसरी प्रष्ट्याउनु हुन्छ ?
झुमर एउटा सुन्दर दरबार जस्तो घर भित्रको कुरुप कथा हो । अझै भन्नुपर्दा झुमर नेपाली समाजको हरेक घर–घर भित्रको कथा हो । हाम्रा सामाजिक गतिविधिहरु, समाजमा भएका वेथितीहरु, सदियौंदेखि महिलाले भोग्दै आएका पितृसत्तात्मक सोच, धर्म र परम्पराको नाउँमा नेपाली समाजले महिलामाथि लादेका नीतिनियम जस्ता विभिन्न समाजमा रहेका कुरीतिहरुलाई झुमरबाट उजागार गर्ने कोसिस गरिएको छ ।
झुमर उपन्यासमा नारी र प्रेमका कथाहरु छन् भन्ने पाठकहरुको पनि भनाइ छ, के साहित्यमा नारी र प्रेमका कथा मात्रै बिक्ने हुन् ? आफ्नो धारणा राखिदिनुहोस् न ?
पक्कै पनि झुमर भित्र नारी र प्रेमका कथा छन् । साहित्य समाजको ऐना हो । म मान्दिनँ कि साहित्यमा नारी र प्रेमका कथा मात्रै बिक्छन् । किनकी समाजमा नारी, प्रेमका कथा मात्रै घटित हुँदैनन् । यि बाहेक पनि समाजमा धेरै विषयवस्तु, मुद्दाहरु छन् जसलाई साहित्यमा लेखिनुपर्छ । मात्रै प्रेम कथाहरुले आख्यानलाई बुट्टा भर्न मदत गर्दछ ।
पहिलो आख्यान नै नारीवादी ल्याउनुभयो, अब यसैलाई निरन्तरता दिनुहुन्छ कि फरक विषयका पनि आउनेछन् ?
म आफैँ एक नारी भएका कारण पनि मैले पहिलो कृति नारीका मुद्दामा आधारित भएर समाजलाई दिएकी छु । तर मैले अघि नै भनिसके, समाजमा नारी मात्रै बस्दैनन्, साहित्यमा ल्याउनुपर्ने धेरै कुराहरु छन् । जस्तै बालबालिकाका कुरा, तेस्रो लिङ्गीका कुरा, पुरुषका कुरा, जात, धर्मका कुरा । यस्ता धेरै कुराहरु छन् जुन साहित्यमा लेख्न जरुरी छ । त्यसकारण पनि मेरो अब आउने कृति फरक विषयवस्तुमा आउँने छन् ।
कहिलेसम्म र कुन विधामा आउला ?
अहिले भर्खरै त यही विधामा लेख्छु भन्ने योजना बनाएकी छैन । तर पनि अब आउने कृति पनि आख्यान नै होला कि ! तर विषयवस्तु भने फरक हुनेछन् ।
लेखकले पहिलो कृतिमा लेखक स्वयंलाई पनि पात्रमा उभ्याएका हुन्छन्, झुमरभित्र तपाईलाई पाउन सकिएला कि नसकिएला ?
लेख्दा लेखकका केही आफ्ना भावनाहरु कहिँ कतै पोखिन्छन् नै तर झुमरमा पात्रकै रुपमा भने म आफू स्वयंलाई उभ्याएकी छैन ।
एक अन्तर्वातामा तपाइँले ‘झुमर’ शिर्षक थारु भाषाबाट लिइएको भन्नुभएको छ, फेरि सजावटको अर्को शब्द पनि भन्नुभएको छ । तर यथार्थमा सिलिङमा झुण्डिएको विजुलीको रंगीबीरङ्गी बत्ती हो, जसलाई पात्र बनाएर कथा लेखिँदा यी माथिका विषयलाई समेट्छन् कि समेट्दैन ?
पक्कै पनि समेट्छ । झुमरको कभरमा नै यि कुराहरु देख्न सक्नुहुन्छ र झुमर भित्र पढ्दै जाँदा माथिका विषयलाई मज्जाले समेटेको छ । एउटी झुम्री अन्त्यमा झुमर भएर उज्यालो दिएकी छ । यि कुराहरु थाहा पाउनका लागि झुमर पढ्नु नै पर्छ ।
कतिपयको प्रकाशित पुस्तकहरु रहरकेन्द्रीत छन् । तपाईको आफ्नो मुल्यांकनमा तपाईको कृति रहरमा सिमित छ कि यसबाट पाठकले लिनै पर्ने खुराक पनि छन् ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । कुनै पनि काम गर्दा त्यसमा थोरै रहर पनि मिसाइदियौँ भने काम गरिरहँदा दिक्दारी, झन्झट लाग्दैन । त्यसकारण पनि मेरा केही रहर पनि मिसिएका छन् । त्यसका साथै पाठकले झुमरबाट राम्रो सन्देश पाउन सक्ने कुरामा म ढुक्क छु ।
झुमरबाट पाठकले लिनै पर्ने कुराहरु वुँदागत रुपमा राखिदिनुहुन्छ ?
झुमरबाट पाठकहरुले लिनै पर्ने कुराहरु धेरै छन् । संक्षिप्तमा भन्नुपर्दा जस्तैः अहिलेका युवापुस्ताको जीवनशैली, आधुनिक प्रेमको झुठो नाटक, वास्तवमा कस्तुरी सङ्ग सुगन्ध बोकेको कस्तुरी भए जस्तै हामी सबै जना सङ जीवनलाई रङ्ग्याउन सक्ने झुमर (सजावट) हुन्छ, त्यो झुमर हामीले बेलैमा चिन्न सक्यौं भने बाँच्नका लागि हामीलाई अरु कसैको पनि सहारा चाहिँदैन । हाँसी–हाँसी एक्लै जीवन काट्न सकिन्छ भन्ने सन्देश झुमरबाट लिन सकिन्छ । अझै धेरै कुरा थाहा पाउनका लागि एकपटक पाठकहरुलाई झुमर पढ्नु नै पर्छ भन्छु म ।
तपाइँ कविता पनि लेख्नुहुन्छ, कविता र आख्यान कुन विधामा बढी रमाउनुहुन्छ ?
लेख्न बसेपछि मलाई दुवै विधामा लेख्न मज्जा लाग्छ । लामो समयसम्म चुर्लुम्म डुबेर रमाउन म आख्यान नै रोज्छु ।