March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा नगरेसम्म उनको योगदानको कदर हुन सक्दैन: शेरधन राई

4.8K

काठमाडौं । २००७ साल मंसिर २४ गते जननायक प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा जनमुक्ति सेनाले बिना हातहतियार भोजपुरको मालअड्डा कब्जामा लिई जहानियाँ राणा शासनबाट भोजपुरलाई मुक्त गरी जनसरकार घोषणा गरेको थियो । सोही दिनको सम्झनामा मुक्ति दिवस मनाउने गरिन्छ । शुक्रबार ७१औँ मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको भूमिका’ विषयक विचार–गोष्ठीको आयोजना गरियो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकका पूर्व मुख्यमन्त्री शेरधन राईले क्रान्ति–नायक रामप्रसाद राईलाई राज्यले न्याय गर्न नसकेको बताए । उनले रामप्रसाद राई कुनै एक भूगोल अथवा वर्गको मात्र चासोको विषय नभएकाले सबै पार्टी र बौद्धिक वर्ग मिलेर राज्यले सुन्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने– “जबसम्म उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न सकिँदैन तबसम्म उहाँको योगदानको कदर हुन सक्दैन ।”

किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईले रामप्रसाद राई मूल क्रान्तिका मोडल भएकाले क्रान्ति नायकको रूपमा स्थापित गर्नुपर्ने बताए । कार्यक्रममा रामप्रसाद राईको योगदानमाथि गोष्ठीपत्र प्रस्तुत गर्दै संस्थाका पूर्व सल्लाहकार जय छाङ्छा राईले रामप्रसाद राईको योगदानको अवमूल्यन हुनु भनेको समग्र क्रान्तिकै अवमूल्यन हुनुजस्तै हुने बताए ।

Advertisement

राईको गोष्ठीपत्रमाथि पूरक समीक्षा गर्दै संस्थाका सल्लाहकार एवम् इतिहासकार प्रा.डा. गोविन्दमानसिंह कार्कीले सङ्घीयता र गणतन्त्रको बिउ रोप्ने नै रामप्रसाद राई भएकाले हालको उपलब्धिको सूत्रधारको योगदानलाई अवमूल्यन गरेर राज्यले उहाँमाथि घोर अन्याय गरेको बताए ।

कार्यक्रममा साहित्यकार भूपाल राईले रामप्रसाद राईको जीवनी र योगदानसम्बन्धी विषयवस्तुलाई विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा समेत उल्लेख गर्नुपर्ने बताए ।

संस्थाका महासचिव देवान राईले सञ्चालन गरेको कार्यक्रममा सदस्य इन्दिरा भट्टराई ओझाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष एवम् संविधानसभा सदस्य तारादेवी राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त अवसरमा संस्थाका सल्लाहकारहरूका साथै विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।